© 2026
चन्द्रौटा । कपिलवस्तुको शिवराज नगरपालिकामा एसीसहितको स्तनपान कक्ष सञ्चालन भएको छ । नगरपालिकाले आमा र शिशुको स्वास्थ्य तथा स्तनपानलाई सहज र सुरक्षित बनाउन चन्द्रौटा मुख्य चोकमा कक्ष सञ्चालनमा ल्याएको हो ।
नगरपालिकाका अनुसार करिब ५ लाख ८० हजार रुपैयाँको लागतमा निर्माण गरिएको हो । घुम्ती स्तनपान कक्षबाट बजार तथा सार्वजनिक स्थानमा आउने स्तनपान गराइरहेका आमाहरूले सहज, सुरक्षित र गोपनीय वातावरणमा शिशुलाई स्तनपान गराउन सक्नेछन् ।
नगर प्रमुख अजय थापाले आमा र शिशुको स्वास्थ्य संरक्षणका लागि नगरपालिकाले सञ्चालन गरेको बताए । उनले यो सेवा उदाहरणीय भएको बताउँदै आवश्यकताअनुसार यस्ता सेवाहरू थप विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे । यस्तै उपप्रमुख शिवकुमारी थारुले आमा र शिशुमैत्री वातावरण निर्माणमा सबैको सहयोग आवश्यक रहेको बताईन् । स्तनपान कक्ष सञ्चालनले सार्वजनिक स्थानमा आउने आमाहरूलाई ठूलो राहत पुग्ने विश्वास उनले व्यक्त गरिन् ।
यसैबीच उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरी पाण्डे, मानव अधिकार प्रतिष्ठान कपिलवस्तुका सभापति विष्णु खतिवडा लगायतले स्तनपान गराउने आमाको अधिकार सुनिश्चित गर्न सार्वजनिक स्थानमा यस्ता स्तनपान कक्ष आवश्यक रहेको उल्लेख गरेका थिए । उक्त स्तनपान कक्षको रेखदेख गर्न शान्ति पुन र्स्थापना गृहलाइ जिम्मा दिइएको छ ।