Butwal Today

अफगानिस्तानमा कुपोषण सङ्कट गहिरियो

२० श्रावण २०८३, बुधबार
अ+
अ-

रोम ।  अफगानिस्तानमा खाद्यान्न सहायता र पोषण कार्यक्रमका लागि आवश्यक अन्तर्राष्ट्रिय कोष घट्दै गएपछि बाल कुपोषण गम्भीर बन्दै गएको तथा त्यसका कारण बाल मृत्युदर थप बढ्न सक्ने जोखिम रहेको संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले जनाएको छ । संस्थाले तत्काल अतिरिक्त आर्थिक सहयोग जुटाउन नसके कुपोषण सङ्कट अझ भयावह बन्ने चेतावनी दिएको छ ।

डब्लुएफपीका अनुसार अफगानिस्तानका ३४ मध्ये १२ प्रान्तमा बाल कुपोषण गम्भीर तहमा पुगेको छ । यो अहिलेसम्मकै उच्च अवस्था हो । द्वन्द्व, बेरोजगारी, खाद्यान्नको बढ्दो मूल्य, रोगको प्रकोप, स्वच्छ पानी तथा सरसफाइको अभाव र मानवीय सहायता घट्नु यसका प्रमुख कारण रहेको संस्थाले जनाएको छ ।

अफगानिस्तानका लागि डब्लुएफपीका देशीय निर्देशक जोन एलिफले बाल मृत्युदर थप बढ्न नदिन तत्काल कदम चाल्नुपर्ने आवश्यकता औँल्याउँदै धेरै बालबालिकाका लागि भने सहयोग ढिलो भइसकेको बताएका छन् ।

सन् २०२१ मा तालिबान सत्तामा फर्किएपछि उत्पन्न राजनीतिक तथा आर्थिक चुनौतीसँग जुधिरहेको अफगानिस्तानमा अहिले मानवीय सङ्कट थप जटिल बन्दै गएको छ ।

संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओचा) की प्रवक्ता ओल्गा चेरेभ्कोका अनुसार यस वर्ष देशका तीन चौथाइभन्दा बढी क्षेत्रमा बालबालिकामा तीव्र कुपोषण देखिएको छ । ‘वेस्टिङ’ भनिने यस अवस्थाका बालबालिका आफ्नो उचाइअनुसार अत्यन्त कम तौलका हुन्छन् र उनीहरूलाई तत्काल उपचारात्मक पोषण आवश्यक पर्छ ।

उनका अनुसार धेरै बालबालिका स्वास्थ्य संस्थामा पुग्दासम्म गम्भीर कुपोषणको अवस्थामा पुगिसकेका हुन्छन् भने कतिपय उपचार नपाई मृत्यु हुने अवस्था पनि देखिएको छ ।

डब्लुएफपीले सन् २०२५ मा सहायता बजेट कटौतीका कारण १४२ स्वास्थ्य केन्द्र बन्द भएको र १३ हजारभन्दा बढी बालबालिका पोषण उपचार सेवाबाट वञ्चित भएको जनाएको छ । संस्थाले कुनै विशेष दाताको नाम उल्लेख नगरे पनि हालका वर्षहरूमा अन्तर्राष्ट्रिय सहायता उल्लेखनीय रूपमा घटेको जनाएको छ ।

यस वर्ष करिब ३७ लाख अफगान बालबालिका तथा १२ लाख गर्भवती र स्तनपान गराइरहेका महिला तीव्र कुपोषणबाट प्रभावित हुने अनुमान गरिएको छ ।

डब्लुएफपीका अनुसार मध्यपूर्वमा जारी द्वन्द्वका कारण आपूर्ति शृङ्खलामा अवरोध उत्पन्न भएको छ । छिमेकी मुलुकबीचको तनावका कारण पाकिस्तानसँगको सीमा करिब नौ महिना बन्द हुँदा पोषण सामग्री ढुवानी प्रभावित भएको र झन्डै १० लाख कुपोषित महिला तथा बालबालिका पाँच महिनासम्म आवश्यक पोषण सेवाबाट वञ्चित भएका छन् ।

संस्थाले जुलाईदेखि अक्टोबरसम्म कुपोषणको जोखिम सबैभन्दा उच्च रहने भए पनि पर्याप्त बजेट अभावका कारण अगस्टदेखि अक्टोबरसम्मका लागि लक्षित खाद्यान्न वितरण कार्यक्रमसमेत स्थगित गर्नुपरेको जनाएको छ । आगामी छ महिनाका लागि तत्काल ५४ करोड अमेरिकी डलर आवश्यक रहेको पनि डब्लुएफपीले उल्लेख गरेको छ ।

यसअघि फेब्रुअरीमा डब्लुएफपीले सहायता कटौतीलाई ‘विनाशकारी’ भन्दै चारमध्ये तीन गम्भीर कुपोषित बालबालिकासम्म पोषण सहायता पुर्‍याउन नसकिएको जनाएको थियो । संस्थाका अनुसार सन् २०२२ यता खाद्य सहायता कोष करिब ५९ प्रतिशतले घटेको छ । तर मानवीय आवश्यकता निरन्तर बढिरहेको छ ।

संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालयका अनुसार अफगानिस्तानका लागि गरिएको दुई अर्ब ७१ करोड अमेरिकी डलर बराबरको मानवीय सहायता अपिलमध्ये हालसम्म २६ प्रतिशतभन्दा केही बढी रकम मात्रै प्राप्त भएको छ । कुपोषणलगायत मानवीय सूचकहरू निरन्तर बिग्रिरहेको अवस्थामा यो अवस्था अत्यन्त चिन्ताजनक रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?