Butwal Today

अवामी लिगको लोकतन्त्र पुनःस्थापनाको प्रतिबद्धता

२० श्रावण २०८३, बुधबार
अ+
अ-

ढाका ।

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई विद्यार्थी नेतृत्वको आन्दोलनपछि सत्ताच्युत गरिएको दोस्रो वर्षदिनमा उनका छोरा तथा पूर्व सल्लाहकार सजीब वाजेदले अगस्ट ५ लाई देशको राजनीतिक अस्थिरताको ‘गम्भीर स्मरण’ भएको बताउँदै अवामी लिगले लोकतन्त्र, शान्ति, विकास र समृद्धि पुनःस्थापनाका लागि आफ्नो प्रयास जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

शेख हसिनाको प्रस्तावित भर्चुअल सम्बोधनअघि सामाजिक सञ्जाल एक्समार्फत सन्देश जारी गर्दै वाजेदले सन् २०२४ को अगस्ट ५ को घटनालाई आन्तरिक र बाह्य षड्यन्त्रको परिणाम भएको आफ्नो दलको विश्वास रहेको उल्लेख गरे । उनले त्यस घटनाले बङ्गलादेशको लोकतान्त्रिक निरन्तरतामा गम्भीर अवरोध सिर्जना गरेको र त्यसको प्रभाव राजनीतिक क्षेत्रभन्दा बाहिर राज्यका विभिन्न संरचनामा समेत परेको दाबी गरे ।

वाजेदले त्यसपछिका दिनमा कानून–व्यवस्थामा आएको चुनौती, आर्थिक विश्वासमा आएको कमी, विदेशी लगानीमा सुस्तता, व्यापारिक गतिविधिमा आएको गिरावट तथा किसान, श्रमिक, शिक्षक, सरकारी कर्मचारी र विद्यार्थीले भोग्नुपरेका कठिनाइलाई प्रमुख चुनौतीका रूपमा उल्लेख गरे । सार्वजनिक स्वास्थ्य सेवामा समेत दबाब बढेको उनको भनाइ थियो । लोकतान्त्रिक स्थिरता, जवाफदेहिता र सुदृढ राज्य संस्थाको आवश्यकता अहिले झन् स्पष्ट भएको उनले बताए ।

उनले जुलाई र अगस्ट २०२४ को हिंसात्मक घटनामा ज्यान गुमाएका राजनीतिक कार्यकर्ता, प्रहरी सदस्य र सर्वसाधारणप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरे ।

हाल राजनीतिक गतिविधिमा प्रतिबन्ध खेपिरहेको अवामी लिगले लोकतान्त्रिक प्रणाली पुनःस्थापना गर्न जनतासँग सहकार्य जारी राख्ने उल्लेख गर्दै वाजेदले बङ्गलादेशका नागरिक लोकतन्त्र, विकास, धर्मनिरपेक्ष मूल्य र राष्ट्रिय प्रगतिप्रति प्रतिबद्ध रहेको विश्वास व्यक्त गरे । राष्ट्रिय एकता, धैर्य र जनताको सामूहिक प्रयासबाट देश पुनः स्थिरता र समृद्धिको बाटोमा फर्किने उनको भनाइ थियो ।

उनले न्याय सुनिश्चित हुने, संस्थाहरू सुदृढ रहने तथा शान्तिपूर्ण, लोकतान्त्रिक र समृद्ध बङ्गलादेश निर्माणका लागि सबैलाई एकजुट भएर अघि बढ्न पनि आह्वान गरे ।

शेख हसिनालाई सन् २०२४ को अगस्ट ५ मा विद्यार्थी नेतृत्वको आन्दोलनपछि सत्ताबाट हटाइएको थियो । त्यसपछि मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो भने यस वर्षको फेब्रुअरीमा सम्पन्न निर्वाचनमा बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) विजयी भएपछि तारिक रहमान प्रधानमन्त्री बनेका थिए ।

यसैबीच, भारतले शेख हसिनाको प्रस्तावित भर्चुअल सम्बोधनसँग आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयस्वालले उक्त कार्यक्रम निजी सञ्चार संस्थाले आयोजना गरेको र त्यसमा व्यक्त हुने विचारसँग भारत सरकारको कुनै सम्बन्ध नरहेको बताए ।

बङ्गलादेशले भने हसिनाको सम्बोधनप्रति आफ्नो चासो भारतसमक्ष राख्दै यसले दुई देशबीच सुधारोन्मुख सम्बन्धमा असर पार्न सक्ने चिन्ता व्यक्त गरेको जनाएको छ । यो विषय बङ्गलादेशका विदेश सल्लाहकार हुमायूँ कबीर र ढाकास्थित भारतीय उच्चायुक्त दिनेश त्रिवेदीबीच भएको भेटवार्तामा पनि उठाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?