पाल्पा । यातायात व्यवस्था सेवा कार्यालय पाल्पाले गत आर्थिक वर्षमा २२ करोड १७ लाख ७ हजार १ सय रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयले अघिल्लो आर्थिक वर्षको तुलनामा करिब २ करोड रुपैयाँ बढी राजस्व सङ्कलन गरेको हो ।
विशेष गरी लुम्बिनी प्रदेशका पहाडी जिल्ला र गण्डकी प्रदेशको स्याङ्जा जिल्लाको आधा क्षेत्रका सवारी चालक तथा सवारी धनीबाट कार्यालयले राजस्व सङ्कलन गर्दै आएको कार्यालय प्रमुख श्रीराम पाण्डेले जानकारी दिए ।
प्रमुख पाण्डेका अनुसार कार्यालयमा आवश्यक जनशक्ति उपलब्ध भएकाले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा बढी राजस्व सङ्कलन गर्न सफल भएको हो । कार्यालयबाट प्रवाह हुने सेवाहरूलाई घुम्ती शिविरमार्फत रामपुरबाट समेत सञ्चालन गरिएकाले सेवाग्राहीलाई सहजता भएको र राजस्व सङ्कलनमा थप सहयोग पुगेको पाण्डेको भनाइ छ ।
कार्यालयले दुई पाङ्ग्रे सवारी साधनअन्तर्गत मोटरसाइकल र स्कुटरको सवारी चालक अनुमति पत्र वितरण गर्दै आएको छ । गत जेठ महिनाको पहिलो सातादेखि साना सवारी साधनको सवारी चालक अनुमति पत्र वितरणसमेत सुरु गरिएको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार सवारी साधन करबापत १७ करोड २९ लाख ८५ रुपैयाँ, प्रशासनिक सेवाबाट १ लाख २७ हजार रुपैयाँ, सवारी साधन नवीकरणबाट १ करोड १२ लाख ८३ हजार ४ सय ५० रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
त्यस्तै, नयाँ सवारी चालक अनुमति पत्र निर्माण तथा पुरानो नवीकरणबापत २६ लाख ६८ हजार ३ सय रुपैयाँ र सार्वजनिक यातायातका साधनको आयकरबापत ५९ लाख ८४ हजार ८ सय २५ रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।
कार्यालयले गत आर्थिक वर्षमा कुल २२ करोड १७ लाख ७१ हजार १ सय १० रुपैयाँ राजस्व सङ्कलन गरेको हो । अघिल्लो आर्थिक वर्षमा भने कार्यालयले २० करोड १९ लाख २० हजार ८ सय ९० रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।
राजस्व सङ्कलनको ठुलो क्षेत्र समेटेको कार्यालयमा नयाँ आर्थिक वर्षको सुरुवातदेखि नै सर्भरमा आएको राष्ट्रिय समस्याका कारण चालु महिनामा राजस्व सङ्कलन करिब ५० प्रतिशतले घट्ने अनुमान गरिएको कार्यालयले जनाएको छ ।