© 2026
बर्दघाट । कृष्ण लाइफ बर्दघाटको आयोजनामा आगामी भदौ १९ गते श्रीकृष्ण जन्माष्टमी विशेष उत्सव कार्यक्रम आयोजना हुने भएको छ । यस सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमार्फत कार्यक्रमको विस्तृत जानकारी सार्वजनिक गरिएको हो ।
आयोजकका अनुसार बर्दघाटस्थित शिवालयमा बिहान ७ बजेदेखि राति १२ बजेसम्म निरन्तर विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ । उत्सवमा करिब १० हजार श्रद्धालु भक्तजनको सहभागिता रहने अपेक्षा गरिएको आयोजक संस्थाका प्रमुख सिद्धस्वरूप दास ब्रह्मचारीले जानकारी दिए ।
उनका अनुसार कार्यक्रम भक्ति सिद्धान्त दास ब्रह्मचारीको प्रमुख आतिथ्यमा सम्पन्न हुनेछ । कार्यक्रमको मुख्य उद्देश्य युवापुस्तालाई सनातन धर्मप्रति आकर्षित गर्नु, हरे कृष्ण महामन्त्रको प्रचार–प्रसार गर्नु तथा सबैलाई कृष्णभक्तिमा प्रेरित गर्नु रहेको छ ।
पत्रकार सम्मेलनमा भागवत गीता र श्रीमद्भागवतका शुद्ध तथा जीवनोपयोगी शिक्षाबाट लाभ लिन तथा श्रीकृष्ण जन्माष्टमी विशेष उत्सवमा सहभागी भई कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण श्रद्धालु भक्तजन तथा सर्वसाधारणलाई उपस्थितिका लागि आयोजकले आग्रह गरेको छ ।