© 2026
काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनाल र नेपाल भ्रमणमा रहेका मङ्गोलियाका पूर्व प्रधानमन्त्री गोम्बोजभ जन्दानशातारबीच आज भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल–मङ्गोलियाबिचको द्विपक्षीय सम्बन्ध, भूराजनीतिक समानता, विकास, व्यापार, साझेदारी तथा बौद्ध मूल्य–मान्यताका क्षेत्रमा सहकार्यका सम्भावनाबारे छलफल भएको मन्त्रालयले जनाएको छ ।
मन्त्री खनालले नेपाल र मङ्गोलियाबिच भूराजनीतिक रूपमा धेरै समानता रहेको उल्लेख गर्दै नेपालले मङ्गोलियाको अनुभवबाट विभिन्न क्षेत्रमा सिक्न सक्ने बताए ।
उनले विकास, व्यापार, साझेदारी तथा बौद्ध मूल्य–मान्यताका क्षेत्रमा दुई मुलुकबिच सहकार्य विस्तार गर्न नेपाल इच्छुक रहेको धारणा राखे ।मन्त्री खनालले नेपाल र मङ्गोलियाले भूपरिवेष्टित मुलुकहरूको अधिकार र हितका पक्षमा संयुक्त रूपमा आवाज उठाउन सक्ने बताए ।
उनले मङ्गोलियाले आफ्ना छिमेकी मुलुकसँग सन्तुलित सम्बन्ध कायम राख्दै साझेदारी व्यवस्थापनमा अन्तर्राष्ट्रिय स्तरमा छुट्टै पहिचान बनाउन सफल भएको भन्दै प्रशंसा गरे ।
भेटवार्तामा नेपाल–मङ्गोलियाबिचको द्विपक्षीय तथा कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउने उपायबारे पनि छलफल भएको थियो । मन्त्री खनालले नेपालको नयाँ सरकार मङ्गोलियासँग आध्यात्मिक साझेदारका रूपमा सम्बन्ध अझ मजबुत बनाउन इच्छुक रहेको बताउँदै विभिन्न क्षेत्रमा सहकार्य अघि बढाउन नेपाल प्रतिबद्ध रहेको स्पष्ट पारे ।
पूर्व प्रधानमन्त्री जन्दानशातारले नेपाल र मङ्गोलियाबिचको भौगोलिक समानताबारे चर्चा गर्दै बदलिँदो विश्व व्यवस्थामा नेपाल र मङ्गोलियाजस्ता साना मुलुक एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए ।
उनले नेपाल र मङ्गोलियाबिच साझा बौद्ध मूल्य–मान्यता र संस्कृति रहेको उल्लेख गर्दै दुवै मुलुक एक–अर्काका आध्यात्मिक छिमेकी रहेको बताए । उनले बौद्ध धर्मका मूल्य–मान्यता, संस्कृति तथा नेपालमा चेस खेलको विकासका क्षेत्रमा सहकार्य गर्न मङ्गोलिया इच्छुक रहेको जानकारी दिए ।