© 2026
नेपालगन्ज । पहेँलो कुर्ता, सेतो पाइजामा, गलामा रुद्राक्षको माला र काँधमा सिन्दुरे रङको गम्छा । शनिबार नरैनापुर गाउँपालिका–६ स्थित चुरे पहाडको टाकुरामा रहेको सन्तानेश्वर महादेव मन्दिर पुगेका धेरै श्रद्धालुले उनलाई पहिलो नजरमै हिन्दु धर्मावलम्बी ठाने । तर उनी थिए—नरैनापुर गाउँपालिकाका अध्यक्ष सैयद इस्तियाक अहमद शाह, जो मुस्लिम समुदायका हुन् ।
मन्दिर दर्शन गर्न आउने प्रत्येक भक्तजनलाई आफ्नै हातले रुद्राक्षको माला र सिन्दुरे गम्छा ओढाएर स्वागत गर्न उनी दिनभर व्यस्त देखिन्थे । उनलाई चिन्नेहरूले भने एउटा फरक दृश्य देखिरहेका थिए—धर्मभन्दा माथि उठेर सामाजिक सद्भावको सन्देश बोकेको एउटा नेतृत्व ।
धार्मिक सद्भाव, सामाजिक एकता तथा धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नरैनापुर गाउँपालिकाको आयोजना तथा नाट्टा बाँके च्याप्टरको समन्वयमा शनिबार “सन्तानेश्वर महादेव शान्ति, सद्भाव तथा धार्मिक पदयात्रा“ भव्य रूपमा गरियो ।

करिब एक हजार श्रद्धालु भक्तजनको सहभागितामा गरिएको पदयात्राले पछिल्ला दिनहरूमा देशका विभिन्न स्थानमा देखिएका साम्प्रदायिक तनावबिच मेलमिलाप र सहिष्णुताको सन्देश दिएको सहभागीहरूको भनाइ थियो ।
पदयात्रापछि आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष शाह भावुक देखिए । उनले धर्मले मानिसलाई विभाजन होइन, मानवता र सम्मान सिकाउने भन्दै जुनसुकै धर्मलाई आफ्नै धर्मसरह सम्मान गर्न सके समाजमा कहिल्यै धार्मिक द्वन्द्व नहुने बताए ।
“म कुन धर्ममा जन्मिएँ र अर्को व्यक्ति कुन धर्मको हो भन्ने आधारमा मैले कहिल्यै कसैलाई फरक दृष्टिले हेरेको छैन,“ उनले भने, “धार्मिक द्वन्द्वको समाचार सुन्दा आज पनि मन दुख्छ । वास्तवमा गीता र कुरानको वास्तविक सन्देश नबुझेका मानिसहरू नै द्वन्द्व फैलाउन अग्रसर हुन्छन् ।”
यति भन्दै अध्यक्ष शाह केही बेर भावुक भए । आँखाभरि आँसु झार्दै उनले सबै धर्म र संस्कृतिप्रति सम्मान गर्न सिकेकै कारण नरैनापुरवासीले दोस्रो पटक पनि नेतृत्व गर्ने अवसर दिएको बताए ।
“मैले सबैको धर्म र संस्कृतिलाई आफ्नैजस्तै सम्मान गरेको छु । यही विश्वासका कारण जनताले मलाई फेरि गाउँपालिकाको नेतृत्व गर्ने जिम्मेवारी दिएका हुन्,“ उनले भने ।
नरैनापुरमा हिन्दु र मुस्लिम समुदायको जनसङ्ख्या करिब बराबरी भए पनि वर्षौँदेखि दुवै समुदायबिच आपसी सद्भाव र सहकार्य कायम रहेको अध्यक्ष शाहको दाबी थियो । त्यो दाबी पदयात्रामा प्रत्यक्ष देख्न सकिन्थ्यो ।
हजारौँ श्रद्धालुका लागि सञ्चालन गरिएको भण्डारामा हिन्दु र मुस्लिम समुदायका युवाहरू काँधमा काँध मिलाएर सेवा गरिरहेका थिए । कसैले प्रसाद बाँडिरहेका थिए भने कसैले खानेपानी, भोजन र व्यवस्थापनको जिम्मेवारी सम्हालिरहेका थिए ।
नरैनापुरका युवा समाजसेवी तथा अधिवक्ता विनय दीक्षितका अनुसार भण्डाराका अधिकांश सामग्री व्यवस्थापन मुस्लिम युवाहरूले गरेका थिए । “हाम्रो पालिकामा धर्मभन्दा माथि मानवीय सम्बन्ध छ । यहाँ सबै समुदाय मिलेर चाडपर्व मनाउँछन् र सुख–दुःखमा सँगै उभिन्छन्,“ उनले भने ।
सन्तानेश्वर महादेव मन्दिरका पुजारी योगानन्द गिरीले पछिल्ला वर्षहरूमा मन्दिरप्रति श्रद्धालुको आकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको बताए । उनका अनुसार शनिबारको पदयात्रा अहिलेसम्मकै सबैभन्दा ठुलो धार्मिक पदयात्रा थियो ।
“एकै दिन हजारौँ भक्तजनलाई दर्शन र भण्डाराको सेवा गर्न पाउँदा अत्यन्तै खुशी लागेको छ,“ उनले भने । लुम्बिनी प्रदेशकी पूर्वमन्त्री कृष्णा केसी नमुनाले धार्मिक पर्यटन प्रवद्र्धनसँगै शान्ति र सद्भाव कायम राख्ने उद्देश्यले पदयात्रा आयोजना गरिएको बताईन् ।
पूर्वी तराईका केही जिल्लामा हालै भएका घटनाले समाजमा चिन्ता बढाइरहेको अवस्थामा यस्तो कार्यक्रमले धार्मिक सहिष्णुता सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने उनको विश्वास थियो ।
“धर्म फरक भए पनि हाम्रो गन्तव्य एउटै हो । हामी सबै नेपाली एउटै मालाका फूल हौँ । केही असामाजिक तत्वले फैलाएको अशान्तिलाई सबै मिलेर अन्त्य गर्दै सद्भावको वातावरण कायम गर्नुपर्छ,“ उनले भनिन् ।
नाट्टा बाँके च्याप्टरका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले धार्मिक पदयात्राले मानिसमा सकारात्मक सोच, आध्यात्मिक ऊर्जा र आत्मीयता बढाउने बताए । उनले सन्तानेश्वर महादेव मन्दिरलाई राष्ट्रिय धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सरकार, स्थानीय तह, निजी क्षेत्र र स्थानीय समुदायबिच समन्वय आवश्यक रहेको धारणा राखे ।
पदयात्रामा सहभागी अधिवक्ता बसन्त गौतमले फरक धर्मावलम्बी गाउँपालिका अध्यक्षले हिन्दु परम्पराअनुसार हजारौँ भक्तजनको स्वागत र भण्डाराको व्यवस्था गर्नु धार्मिक सहिष्णुता र सामाजिक एकताको उत्कृष्ट उदाहरण भएको बताए ।
“यस्तो कामले केवल धार्मिक सद्भाव मात्र होइन, पर्यटन प्रवर्द्धनमा पनि ठुलो योगदान पु¥याउँछ ।
अन्य स्थानीय तहले पनि नरैनापुरबाट सिक्नुपर्छ,“ उनले भने । शनिवार बिहानैदेखि सुरु भएको पदयात्रामा सहभागी श्रद्धालु भक्तजनहरूले सन्तानेश्वर महादेवको दर्शन, पूजा–आराधना र सामूहिक प्रार्थनामा सहभागी हुँदै शान्ति, सद्भाव, धार्मिक सहिष्णुता तथा धार्मिक पर्यटन प्रवर्द्धनको सन्देश समाजभर फैलाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।