© 2026
भैरहवा । रुपन्देहीमा आफूलाई जिल्ला प्रहरी कार्यालयको घुमुवा प्रहरी भन्दै नक्कली रिभल्वर देखाएर रकम माग्ने एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका–१३ का ४९ वर्षीय राकेश प्रताप राणा रहेका छन् । उनी हाल ओमसतिया गाउँपालिका–४ बालापुरमा कोठा भाडामा लिएर बस्दै आएका थिए ।
बजारमा आफू जिल्ला प्रहरी कार्यालय रुपन्देहीको घुमुवा प्रहरी भएको भन्दै पेस्तोल देखाएर १० हजार रुपैयाँ मागिरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले राणालाई शुक्रबार राती साढे ७ बजे सिद्धार्थनगर नगरपालिका–१३ स्थित शान्तिनगरबाट पक्राउ गरेको हो ।
कानुनबमोजिम खानतलासी गर्दा उनको कोठाबाट नक्कली रिभल्वर एक थान, सवारी चालक अनुमति पत्र एक थान, गाँजा ५०० ग्राम, भिभो कम्पनीको एन्ड्रोइड मोबाइल एक थान र नेपाली नगद रु.२ हजार ६ सय बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बताए ।
चन्दका अनुसार पक्राउ परेका राणामाथि घटनाबारे थप अनुसन्धान भइरहेको छ ।