Butwal Today

विषादीको बढ्दो प्रयोगले हराउँदै धानखेतका जलचर

७ श्रावण २०८३, बिहीबार
अ+
अ-

पाल्पा । पाल्पाको धानखेतमा विषादीको बढ्दो प्रयोगका कारण स्थानीय जातका माछालगायत जलचर प्राणी लोप हुने अवस्थामा पुगेका छन् । यसले माछा मारेर जीविकोपार्जन गर्दै आएका सयौँ परिवारको परम्परागत पेसा सङ्कटमा परेको छ ।

माथागढी गाउँपालिका कसेनीका ६२ वर्षीय दानबहादुर नेपाली विगतमा वर्षा याममा धान रोपाइँका बेला माछा मारेर राम्रो आम्दानी गर्ने गर्थे । तर पछिल्लो एक दशकदेखि धानखेतमा विषादीको प्रयोग बढेसँगै माछा हराउन थालेपछि आफ्नो पेसा नै चौपट भएको उनी बताउँछन् ।

दानबहादुरजस्तै माछा मारेर जीविकोपार्जन गर्ने सयौँ परिवार अहिले समस्यामा परेका छन् । एक डेढ दशक अघिसम्म धान रोपाइँका बेला स्थानीय जातका माछा प्रशस्त पाइन्थे । तर गँगटा र झार नियन्त्रणका नाममा रासायनिक विषादीको प्रयोग बढेपछि माछाको अस्तित्व नै सङ्कटमा परेको तिनाउ गाउँपालिका विस्कुनडाँडाका रामबहादुर घर्ती बताउँछन् ।

पहिले फाँटमा चैते धान लगाउने प्रचलन थियो । चैते धान काट्ने र वर्षे धान रोप्ने समय एउटै पर्ने भएकाले रोपाइँका दिन खेतका गरामा माछा खोज्नेहरूको ठुलो भीड लाग्थ्यो ।

वर्षा याममा समातिएका माछा सुकाएर बढी मूल्यमा बिक्री गरिन्थ्यो । त्यसबाट प्राप्त आम्दानीले विद्यार्थीहरूले कापी किताब तथा विद्यालयका अन्य सामग्री किन्ने गर्थे । खेतको माछा ग्रामीण परिवारका लागि आम्दानीको महत्त्वपूर्ण स्रोत भएको स्थानीयको सम्झना छ । तर अहिले ती दिन इतिहास बन्दै गएको एक स्थानीय जनप्रतिनिधि बताउँछन् ।

बगनासकाली गाउँपालिका पोखराथोकका बुद्धिबहादुर कुमालका अनुसार धानखेतमा गँगटा र झार नियन्त्रणका लागि विषादी प्रयोग हुन थालेपछि खेतमा पाइने करिब १४ प्रजातिका स्थानीय माछा लोप भएका छन् ।

उनका अनुसार माडीफाँटका स्थानीय माछा बुटवल, पोखरा र काठमाडौँसम्म बिक्री हुने गर्थे । असारमा समातिएका माछा आगोमा सेकाएर सुकाइन्थ्यो र असोज कार्तिकसम्म मानाले नापेर बिक्री गर्ने चलन थियो ।

सुकाइएको माछा कोसेलीका रूपमा ठुला सहरमा रहेका आफन्तलाई पठाउने प्रचलनसमेत थियो । यसबाट धेरै परिवारको दिगो आम्दानी हुने गरेको भए पनि विषादीको प्रयोगले त्यो आम्दानीको बाटो बन्द भएको पुरानो पुस्ताको अनुभव छ ।

स्थानीयका अनुसार पहिले खोलामा पनि विषादी प्रयोग गरेर माछा मार्ने चलन थियो । त्यसले वातावरणीय सन्तुलनमा नकारात्मक असर पारेपछि स्थानीय प्रशासनले कानुनी कारबाही थालेको र त्यसपछि खोलामा विषादी प्रयोग गरेर माछा मार्ने क्रम न्यून भएको हो ।

धानका कलिला बिरुवा गँगटाले काटेर नष्ट गर्ने भएकाले पहिले चिउरीको खलीजस्ता घरेलु उपाय प्रयोग गरी नियन्त्रण गरिन्थ्यो । तर पछिल्लो समय त्यसको सट्टा ‘साइपरमेथ्रिन’ र ‘क्लोरपाइरिफस’ जस्ता रासायनिक विषादी प्रयोग हुन थालेपछि जलचर प्राणी नष्ट हुँदै गएको स्थानीयको भनाइ छ । प्राविधिकहरूका अनुसार यस्ता विषादीको असर २० देखि २२ दिनसम्म रहन सक्छ ।

कृषि ज्ञान केन्द्र पाल्पाका प्राविधिक सुरज पाण्डेले सामान्य अवस्थामा कृषि प्राविधिकहरूले विषादी प्रयोग गर्न सिफारिस नगर्ने बताए । उनका अनुसार अधिकांश किसानले विषादी विक्रेताको सिफारिसका आधारमा रासायनिक विषादी प्रयोग गर्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?