© 2026
बुटवल । दाङको घोराही उपमहानगरपालिका–१८ स्थित अम्बे सामुदायिक वन क्षेत्रमा दुर्लभ तथा विश्वकै सबैभन्दा लामो विषालु सर्प मानिने राजगोमन (किङ कोब्रा) को गुँड फेला परेको छ ।
नेपालमा निकै दुर्लभ रूपमा भेटिने यो प्रजातिको प्रजनन स्थल फेला परेपछि डिभिजन वन कार्यालय, सामुदायिक वन उपभोक्ता समिति र सर्प संरक्षणकर्मीले संरक्षण तथा निगरानीलाई तीव्र बनाएका छन् ।
वन क्षेत्रमा च्याउ खोज्न गएका स्थानीयले असार ३१ गते झाक्री सेता क्षेत्रमा सुकेका पात र वनस्पतिबाट बनाइएको अस्वाभाविक संरचना देखेपछि जानकारी गराएका थिए । त्यसपछि चार वर्षदेखि सर्प उद्धार तथा संरक्षणमा सक्रिय कुलदीप न्यौपानेको टोलीले निरीक्षण गर्दा उक्त संरचना राजगोमनको गुँड भएको पुष्टि भएको हो ।
अम्बे सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष श्रीधर भण्डारीले गुँड सुरक्षित राख्न तत्काल आवश्यक सुरक्षा व्यवस्था गरिएको बताए । उनका अनुसार गुँड रहेको क्षेत्रमा मानिसको आवतजावत कम गर्न घाँस, दाउरा र च्याउ संकलनसमेत अस्थायी रूपमा रोक लगाइएको छ ।
उनले भने, “गुँडमा कुनै प्रकारको मानवीय हस्तक्षेप नहोस् र सर्पले प्राकृतिक रूपमा बच्चा हुर्काउन पाओस् भन्ने उद्देश्यले विशेष सतर्कता अपनाएका छौँ ।”
डिभिजन वन कार्यालय दाङका निमित्त प्रमुख ओमबहादुर वलीले राजगोमनको गुँड फेला पर्नु जैविक विविधताको दृष्टिले महत्वपूर्ण घटना भएको बताए । उनका अनुसार वन कार्यालयले सामुदायिक वनसँग समन्वय गरी नियमित अनुगमन गरिरहेको छ ।
“यो दुर्लभ प्रजातिको संरक्षणलाई प्राथमिकतामा राखेका छौँ । गुँड सुरक्षित राख्न आवश्यक सबै उपाय अपनाइएका छन्,” उनले भने ।
सर्पसम्बन्धी अनुसन्धानकर्ता तथा ‘स्नेक कन्जरभेसन सोसाइटी अफ नेपाल’का अध्यक्ष वसन्त सुवेदीका अनुसार विश्वभर पाइने सर्पमध्ये राजगोमन मात्रै यस्तो प्रजाति हो, जसले चराले जस्तै सुकेका पात, स्याउला र वनस्पति जम्मा गरेर जमिनमै गुँड बनाउँछ ।
उनका अनुसार पोथी राजगोमनले अण्डा पारेपछि बच्चा ननिस्कुञ्जेल गुँडको रक्षा गर्ने व्यवहार पनि अन्य सर्पभन्दा पूर्णतः फरक विशेषता हो ।
सामान्यतया एउटा पोथी राजगोमनले एक पटकमा ३० देखि ४० वटा अण्डा पार्ने र करिब दुईदेखि तीन महिनाभित्र बच्चा निस्कने गर्दछ । पाँच दशमलव पाँच मिटरभन्दा बढी लम्बाइ हुने राजगोमनलाई विश्वकै सबैभन्दा लामो विषालु सर्पका रूपमा चिनिन्छ ।
राजगोमन अन्य विषालु र अविषालु सर्पलाई नै मुख्य आहार बनाउने भएकाले यसको उपस्थिति प्राकृतिक सन्तुलन कायम राख्न अत्यन्त महत्त्वपूर्ण मानिन्छ ।
अनुसन्धानकर्ता सुवेदीका अनुसार राजगोमनको सङ्ख्या घट्दै गए अन्य विषालु सर्पको सङ्ख्या बढ्न सक्ने, त्यसले सर्पदंशका घटना वृद्धि हुनुका साथै समग्र पारिस्थितिक प्रणालीमा समेत नकारात्मक असर पर्न सक्ने सम्भावना रहन्छ ।
उनले नेपाल सरकारले अजिङ्गरलाई संवेदनशील वन्यजन्तुको सूचीमा राखेर संरक्षण गरिरहेको भए पनि समान रूपमा संरक्षण आवश्यक रहेको राजगोमन अझै त्यस्तो सूचीमा समावेश नभएको बताए । “राजगोमनलाई पनि संवेदनशील प्रजातिको सूचीमा राखी विशेष संरक्षण कार्यक्रम सञ्चालन गर्न आवश्यक छ,” उनले भने ।
सर्प उद्धार तथा संरक्षणकर्मी कुलदीप न्यौपानेले पछिल्ला चार वर्षदेखि दाङमा विषालु तथा अविषालु सर्पको उद्धार र संरक्षण अभियान सञ्चालन गर्दै आएका छन् । उनले हालसम्म करिब तीन हजार सर्प उद्धार गरी डिभिजन वन कार्यालयमार्फत सुरक्षित प्राकृतिक बासस्थानमा छाडिसकेका छन् ।
उनका अनुसार घोराही उपमहानगरपालिका–२ को रामपुर–बलरामपुर क्षेत्रमा मात्रै घरभित्र पसेका राजगोमन तीन पटक उद्धार गरिएको थियो । यस पटक भने पहिलोपटक प्राकृतिक बासस्थानमै राजगोमनको सक्रिय गुँड फेला परेको उनले बताए ।
न्यौपानेका अनुसार गुँड सुरक्षित रहन सके केही साताभित्र अण्डाबाट बच्चा निस्कने सम्भावना छ। त्यस अवधिसम्म मानवीय गतिविधि न्यून राख्न स्थानीयवासीलाई आग्रह गरिएको छ ।
वन कार्यालय र संरक्षणकर्मीले यो गुँडलाई केवल एउटा सर्पको बासस्थानका रूपमा नभई नेपालको जैविक विविधता र दुर्लभ वन्यजन्तु संरक्षणको महत्वपूर्ण अवसरका रूपमा लिँदै यसको दीर्घकालीन संरक्षणका लागि आवश्यक पहल अघि बढाउने बताएका छन् ।