Butwal Today

इरानसँग १० दिनको युद्ध विराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने दोधारमा ट्रम्प

५ श्रावण २०८३, मंगलवार
अ+
अ-

वासिङ्टन । अमेरिका र इरानबीचको तनाव चुलिँदै जाँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प १० दिने युद्धविरामलाई समर्थन गर्ने वा इजरायलसँग मिलेर थप सैन्य अभियान अघि बढाउने भन्ने विषयमा दोधारमा रहेको अमेरिकी समाचार पोर्टल एक्सियोस ले जनाएको छ ।

एक्सियोसले वरिष्ठ अमेरिकी र इजरायली अधिकारीलाई उद्धृत गर्दै ट्रम्पले अहिलेसम्म अन्तिम निर्णय नगरेको जनाएको छ । अमेरिकी अधिकारीहरूका अनुसार आगामी केही दिनमा वासिङ्टनले कूटनीतिक पहललाई प्राथमिकता दिने वा सैन्य गतिविधि थप तीव्र बनाउनेमध्ये कुनै एक विकल्प रोज्न सक्छ ।

रिपोर्टका अनुसार कतार, इजिप्ट, पाकिस्तान तथा अन्य क्षेत्रीय मध्यस्थकर्ताले अमेरिका र इरानबीच १० दिने युद्धविरामको प्रस्ताव अघि सारेका छन् ।

प्रस्तावमा अस्थायी रूपमा युद्ध रोक्ने, स्ट्रेट अफ होर्मुज हुँदै हुने समुद्री ढुवानी पुनः सञ्चालन गर्ने तथा दीर्घकालीन समुद्री सुरक्षा व्यवस्थापनका लागि कूटनीतिक वार्ता सुरु गर्ने विषय समावेश छन् ।

क्षेत्रीय स्रोतलाई उद्धृत गर्दै एक्सियोसले ट्रम्प प्रशासनले उक्त प्रस्तावमाथि समीक्षा गरिरहेको जनाएको छ ।

यद्यपि, अमेरिकाले यस क्षेत्रमा थप लडाकु विमान र हवाई इन्धन आपूर्ति गर्ने साधन तैनाथ गरेर आफ्नो सैन्य उपस्थिति बढाएको छ । कूटनीतिक प्रयास असफल भए इजरायलले व्यापक सैन्य अभियान सञ्चालन गर्ने तयारी गरिरहेको पनि रिपोर्टमा उल्लेख छ ।

अहिलेसम्म अमेरिका र इरानमध्ये कुनै पक्षले पनि युद्धविराम प्रस्ताव स्वीकार गरेका छैनन् । दुवै पक्षले वार्तामा आफ्नो स्थिति बलियो बनाउन सैन्य कारबाहीलाई निरन्तरता दिएको एक्सियोसले जनाएको छ ।

यस महिनाको सुरुमा ओमानको मस्कटमा ओमान, इरान र कतारबीच भएको छलफलपछि क्षेत्रीय मध्यस्थकर्ताले वार्ता पुनर्जीवित गर्ने प्रयास गरिरहेका छन् ।

प्रस्तावित सहमतिअनुसार १० दिने युद्धविरामका क्रममा स्ट्रेट अफ होर्मुज हुँदै समुद्री ढुवानी पुनः सञ्चालन गरिने र त्यस अवधिमा अमेरिका तथा इरानबीच दीर्घकालीन सहमतिका लागि वार्ता अघि बढाइनेछ ।

रिपोर्टका अनुसार प्रस्तावमा इरान र ओमानलाई ढुवानीसम्बन्धी सेवाबाट उचित सेवा शुल्क उठाउन दिने वा अन्तर्राष्ट्रिय समुद्री संगठन (आईएमओ) को सहभागितामा संयुक्त कोष स्थापना गर्ने विकल्पसमेत समावेश गरिएको छ ।

जोर्डनमा इरानी क्षेप्यास्त्र आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि युद्धविरामका प्रयास सुस्त बनेको एक्सियोसले जनाएको छ ।

एक वरिष्ठ अमेरिकी अधिकारीलाई उद्धृत गर्दै रिपोर्टमा ट्रम्पले इरानले सम्झौता उल्लङ्घन गरेको र होर्मुज जलमार्गमा जारी गतिविधिको मूल्य चुकाउनुपर्ने धारणा राखेको उल्लेख गरिएको छ । अमेरिकी सैनिकको मृत्युको जवाफ इरानले पाउनुपर्ने भन्दै अर्को निर्णय नभएसम्म सैन्य कारबाही जारी रहने अधिकारीको भनाइ उद्धृत गरिएको छ ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले तनाव कम गर्न मध्यस्थकर्ताहरू सक्रिय रहेको पुष्टि गरेका छन् ।

उनले मध्यस्थकर्तामार्फत विभिन्न प्रस्ताव प्राप्त भएको स्वीकार गरे पनि हालसम्म ती प्रस्तावमाथि औपचारिक छलफल नभएको बताएका छन् ।

बाघाईले इरानको सशस्त्र बलले “अमेरिकी आक्रमणको स्रोतमा बलियो जवाफ दिने” अडान कायम राखेको पनि बताएका छन् ।

एक्सियोसका अनुसार कूटनीतिक प्रस्तावमा अन्तिम निर्णय हुनुअघि ह्वाइट हाउसले थप सैन्य कारबाही गर्न सक्ने सम्भावना कायमै छ । ट्रम्पले अस्थायी युद्धविराम रोज्ने वा सैन्य अभियानलाई निरन्तरता दिने भन्ने विषय अझै स्पष्ट भइसकेको छैन । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?