© 2026
तम्घास (गुल्मी) । वर्षायाम सुरु भएसँगै कालीगण्डकी कोरिडोरको गुल्मी खण्डमा पहिरोको जोखिम फेरि बढेको छ । सामान्य वर्षा हुँदा पनि सडकमाथिबाट ढुङ्गा, लेदो र पहिरो खस्ने क्रम नरोकिने भएपछि यात्रु, सवारी चालक र स्थानीयवासीले हरेक वर्ष सास्ती खेप्दै आएका छन् ।
निरन्तर पहिरो झर्ने जोखिमका कारण प्रशासनले रातिको समयमा सवारी सञ्चालनमा समेत रोक लगाएको छ । कोरिडोरअन्तर्गत कालीगण्डकी गाउँपालिका–१ हर्मिचौरदेखि बागलुङको सीमा धुससम्मको सडक खण्ड वर्षायाममा सबैभन्दा जोखिमयुक्त मानिन्छ ।
नेपाली सेनाले विस्फोटक पदार्थ प्रयोग गरी ट्र्याक खोलेको यस सडकमा चट्टानी भीर, कमजोर भौगर्भिक संरचना र साँघुरो सडकका कारण सामान्य वर्षामै पहिरो खस्ने गरेको छ ।
बुटवल–पूर्तिघाट रुटमा दैनिक सवारी चलाउने इभी चालक रामु पाण्डेले हर्मिचौरदेखि पूर्तिघाटसम्मको यात्रा वर्षायाममा निकै जोखिमपूर्ण हुने बताए । उनका अनुसार बडहरे खोला र दिहिङखोलामा पानी बढ्ने समस्या एकातिर छ भने हर्मिचौर पार गरेपछि जुनसुकै बेला माथिबाट ढुङ्गा र पहिरो झर्न सक्ने त्रासले चालकहरू सधैँ सतर्क रहनुपर्ने अवस्था छ ।
“सामान्य पानी पर्दा पनि सडक बन्द हुन्छ । यात्रु र चालक दुवैले ज्यानको जोखिम मोलेर यात्रा गर्नुपरेको छ,” उनले भने । विगत करिब छ वर्षदेखि वर्षायाममा यही समस्या दोहोरिँदै आएको उनको अनुभव छ ।
कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले करिडोरमा वर्सेनि पहिरो जाँदा सडक सञ्चालनमा राख्न स्थानीय सरकारले ठूलो रकम खर्च गर्नुपरेको बताए । स्थानीय तहको जिम्मेवारीका कारण सडक लामो समय बन्द राख्न नसकिने भएकाले गाउँपालिकाले प्रत्येक वर्ष पहिरो पन्छाउन बजेट खर्च गर्दै आएको उनले जानकारी दिए ।
उनका अनुसार यस वर्षदेखि भने कालीगण्डकी कोरिडोर गैँडाकोट–राम्दी–मालढुङ्गा सडक योजना कार्यालयले पहिरो पन्छाउने जिम्मेवारी लिएको छ । यसले स्थानीय सरकारको आर्थिक भार केही कम हुने अपेक्षा गरिएको छ ।
यसैबिच, आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण हर्मिचौर–अर्वेनी सडकखण्डको उपल्लाखण्ड क्षेत्रमा ठूलो पहिरो खसेपछि कोरिडोर पुनः अवरुद्ध भएको छ । निरन्तर पानी परिरहेकाले पहिरो हटाउन कठिनाइ भएको छ । सडक खुलाउन एक्साभेटर परिचालन गरिएको भए पनि साँझसम्म मात्रै सञ्चालनमा ल्याउने प्रयास भइरहेको सम्बन्धित निकायले जनाएको छ ।
सडक अवरुद्ध भएपछि लामो तथा छोटो दूरीका सार्वजनिक र निजी सवारीसाधन बिच बाटोमै रोकिएका छन् । गन्तव्यतर्फ हिँडेका यात्रु घण्टौँ अलपत्र पर्न बाध्य भएका छन् भने अत्यावश्यक सामग्री ढुवानीसमेत प्रभावित भएको छ ।
कालीगण्डकी कोरिडोर गैँडाकोट–राम्दी–मालढुङ्गा सडक योजना कार्यालय, पाल्पाका प्रमुख शिव दाहालले वर्षायामभर सडक सञ्चालनलाई प्राथमिकतामा राखिएको बताए । उनका अनुसार पूर्तिघाट क्षेत्रमा डोजर तयारी अवस्थामा राखिएको छ र पछिल्ला केही दिनदेखि सोही उपकरण प्रयोग गरी निरन्तर पहिरो पन्छाउने काम भइरहेको छ ।
उनले तत्काल सडक सञ्चालन, अल्पकालीन जोखिम न्यूनीकरण तथा दीर्घकालीन पहिरो नियन्त्रण गरी तीन चरणमा काम अघि बढाउने योजना बनाइएको जानकारी दिए । “जहाँ–जहाँ समस्या दोहोरिएको छ, ती स्थानको प्राविधिक अध्ययन गरेर स्थायी समाधानतर्फ जाने तयारी भइरहेको छ,” उनले भने ।
निरन्तर पहिरो झर्ने जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय गुल्मीले कोरिडोरको गुल्मी खण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाएको छ । प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जारी गरेको सूचनाअनुसार वर्षायामभर हरेक राति ८ बजेदेखि बिहान ५ बजेसम्म हर्मिचौर–मिर्मी सडक चोकदेखि गुल्मी–बागलुङ सीमा धुससम्म सवारी सञ्चालन बन्द गरिएको छ ।
जिल्ला सुरक्षा समितिको असार १५ गतेको निर्णयअनुसार लागू गरिएको उक्त व्यवस्था वर्षायामभर कायम रहने जनाइएको छ । प्रशासनले रातिबाहेक अन्य समयमा पनि अत्यधिक सतर्कता अपनाएर मात्रै यात्रा गर्न, मौसमको अवस्था बुझेर सवारी सञ्चालन गर्न तथा कुनै समस्या परे विपद् उद्धार नम्बर १४४९, नेपाल प्रहरीको १००, सशस्त्र प्रहरी बलको १११४ वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।
कालीगण्डकी कोरिडोर उत्तर–दक्षिण व्यापारिक तथा धार्मिक मार्गका रूपमा महत्त्वपूर्ण मानिन्छ । यही सडकमार्फत गुल्मी, बागलुङ, पर्वत तथा म्याग्दीका बासिन्दा दैनिक आवतजावत गर्ने गर्छन् । तर वर्षायाममा बारम्बार सडक अवरुद्ध हुने समस्याले स्थानीयको जनजीवन, व्यापार, पर्यटन र अत्यावश्यक सेवासमेत प्रभावित हुने गरेको छ ।
स्थानीयवासी र यातायात व्यवसायीले हरेक वर्ष अस्थायी रूपमा पहिरो पन्छाएर मात्र समस्या समाधान नहुने भन्दै जोखिमयुक्त स्थानमा स्थायी संरक्षण संरचना निर्माण, पहिरो नियन्त्रण तथा सडकको दीर्घकालीन सुधारका काम तत्काल अघि बढाउन सरकारसँग माग गरेका छन् ।