© 2026
काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३ /८४ को बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न ३७ बुँदे मार्गनिर्देशन जारी गरेको छ। सोमबार अर्थ मन्त्रालयका सचिव डा। घनश्याम उपाध्यायले जारी गरेको मार्गनिर्देशनमा बजेट कार्यान्वयनलाई प्रभावकारी, पारदर्शी र नतिजामुखी बनाउन वित्तीय अनुशासन तथा मितव्ययितालाई उच्च प्राथमिकता दिनुपर्ने उल्लेख गरिएको छ।
मार्गनिर्देशनअनुसार विनियोजन ऐन, २०८३ तथा आर्थिक कार्यविधि र वित्तीय उत्तरदायित्वसम्बन्धी कानुनको पूर्ण पालना गर्न सबै केन्द्रीय निकाय, प्रदेश र स्थानीय तहलाई निर्देशन दिइएको छ। अर्थ मन्त्रालयले इन्धन, मसलन्द, गोष्ठी तथा अन्य प्रशासनिक खर्चमा अधिकतम मितव्ययिता अपनाउन, कार्यालय सञ्चालनका लागि सरकारी भवनको प्रयोगलाई प्राथमिकता दिन र नयाँ सवारी साधन खरिद तथा वैदेशिक भ्रमणअघि अनिवार्य रूपमा पूर्वस्वीकृति लिन निर्देशन दिएको छ।
यस्तै, आयोजना कार्यान्वयनका क्रममा हुन सक्ने वित्तीय जोखिमको आकलन गरी त्यसको न्यूनीकरणका उपाय अपनाउन तथा सशर्त अनुदान र वैदेशिक सहायताका कार्यक्रम सम्झौता र निर्देशिकाअनुसार मात्रै सञ्चालन गर्न पनि आग्रह गरिएको छ।बजेटको दोहोरो खर्च र वित्तीय बेथिति रोक्न सूचना प्रणाली को प्रभावकारी प्रयोग तथा नियमित अनुगमनलाई समेत मार्गनिर्देशनले विशेष जोड दिएको छ।