© 2026
पाल्पा ।
एक समय असार लाग्नेबित्तिकै पाल्पाका फाँटहरू रोपाइँ गीतले गुञ्जायमान हुन्थे । खेतमा हिलो छ्यापाछ्याप, असारे गीत, परिम (एकअर्कालाई सहयोग गर्ने प्रचलन) र सामूहिक श्रमले गाउँभरि उत्सवको माहोल सिर्जना गथ्र्यो । तर अहिले कृषिमा बढ्दो यान्त्रिकीकरणसँगै ती दृश्यहरू सम्झनामै सीमित बन्दै गएका छन् ।
रम्भा गाउँपालिका–१, हुमिनकी ६० वर्षीया दिलसरा सुनारले विगत सम्झिँदै भन्छिन्, “धान रोप्दा गाउँभरि असारे गीत गुञ्जिन्थे। ’असार मासको दबदबे हिलो…’ जस्ता गीत गाउँदै रोपाइँ गर्दा दिनभरको थकाइ पनि महसुस हुँदैनथ्यो । अहिले ती दिन सपना जस्तै लाग्छन् ।”
तानसेन नगरपालिका–१४, दमकडाका शिक्षण पेसाबाट अवकाशप्राप्त श्रीधरप्रसाद घिमिरेका अनुसार असार महिनामा रोपाइँ केवल खेतीपातीको काम मात्र नभई सामाजिक सद्भाव र सांस्कृतिक उत्सव पनि थियो । “खेतभरि गीत घन्किन्थ्यो । सबै मिलेर रोपाइँ गर्दा फाँट नै संगीतमय बन्थ्यो । अहिले त्यो वातावरण इतिहासजस्तै बनेको छ,” उनले भने ।
पाल्पामा रोपाइँ किसानका लागि वर्षकै मुख्य पर्व मानिन्थ्यो । खेतमा एकअर्कालाई हिलो छ्याप्ने, खोक लगाएर गोरु दौडाउनु, हाँसो–ठट्टा गर्दै काम गर्ने परम्पराले रोपाइँलाई उत्सवमा परिणत गथ्र्यो । दिनभर रोपाइँपछि कुलो वा खेतमै हिलो पखालेर सालको पातको टपरीमा चामलको पुवा, केराको बोंगाको अचारलगायत परम्परागत परिकार खाने चलन थियो ।
बगनासकाली गाउँपालिका–३, पोखराथोककी लक्ष्मी गैरे भन्छिन्, “साँझ घर फर्कंदासमेत गीत गाउँदै हिँडिन्थ्यो । गाउँभरि गीतको स्वर गुञ्जिन्थ्यो । अहिले ती सबै परम्परा हराउँदै गएका छन् ।”
स्थानीय अगुवा कृषक विश्व अर्यालका अनुसार हलगोरुको स्थान ट्याक्टरले लिएसँगै रोपाइँका धेरै सांस्कृतिक पक्ष पनि हराएका छन् । “पहिले परिम चल्थ्यो, एकअर्काको खेतमा पालैपालो काम गरिन्थ्यो । यसले गाउँमा आत्मीयता र भाइचाराको सम्बन्ध बलियो बनाएको थियो। विदेशी पर्यटकसमेत गोरुले जोतेको खेत, हेगा र खोक लगाएको दृश्य क्यामेरामा कैद गर्न आउँथे । अहिले ती दृश्य नयाँ पुस्ताले देख्नै पाउँदैनन्,“ उनले भने ।
रामपुर नगरपालिका–खोप्टारका दलबहादुर रानाका अनुसार पहिले असारलाई “मानो खाएर मुरी उब्जाउने महिना” भन्ने गरिन्थ्यो । रोपाइँअघि नै सालका पात टिपेर दुना–टपरी बनाउने र जनजाति समुदायमा जाँड पकाएर खेतालालाई खुवाउने चलन थियो । “अहिले खानपानदेखि काम गर्ने शैलीसम्म सबै परिवर्तन भएको छ,” उनले भने ।
तानसेन–अर्गलीकी सिता ज्ञवाली आधुनिक प्रविधिले उत्पादन बढाउन सहयोग गरे पनि मौलिक संस्कृति जोगाउन नसकेको बताउँछिन् । “खेती गर्ने तरिका फेरियो, तर त्यससँगै हाम्रो सांस्कृतिक पहिचान पनि हराउँदै गयो,“ उनले भनिन् ।
पूर्वखोला गाउँपालिका–विरकोटका कृषक खुमा दरैका अनुसार अहिले रोपाइँ पूर्ण रूपमा व्यावसायिक बन्दै गएको छ । “पहिले परिममा काम हुन्थ्यो, अहिले प्रतिव्यक्ति १५ सय रुपैयाँभन्दा बढी ज्याला तिर्नुपर्छ । ट्याक्टरले रोपाइँ गर्दा १० हजार रुपैयाँभन्दा बढी खर्च हुन्छ। पुवा, अचारजस्ता परम्परागत परिकार हराएर मासु–भातले ठाउँ लिएको छ,” उनले बताइन् ।
रिव्दीकोट गाउँपालिकाका जनप्रतिनिधि चिरञ्जीवी पोखरेलका अनुसार गाउँपालिकाले मौलिक संस्कृति संरक्षण गर्ने उद्देश्यले गोरु पालन गर्ने किसानलाई प्रोत्साहन भत्ता दिने कार्यक्रम सञ्चालन गरेको थियो । तर अपेक्षाअनुसार प्रभावकारी हुन सकेन। “गोरु पालनले स्थानीय रोजगारी सिर्जना गर्छ, खेत जोत्न सहज हुन्छ र इन्धन तथा कृषि उपकरणमा बाहिरिने पैसा पनि गाउँमै रोकिन्छ,“ उनले भने ।
उनका अनुसार ट्याक्टर र मिनी टिलर प्रयोगले श्रम बचाए पनि त्यसका लागि इन्धन, मर्मत र उपकरणमा ठूलो रकम बाहिरिने गरेको छ । त्यसैले स्थानीय मौलिक संस्कृति जोगाउन र परम्परागत कृषिलाई संरक्षण गर्न स्थानीय सरकारले विशेष नीति ल्याउनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।
पाल्पामा १० वटा स्थानीय तह रहेका छन् । पछिल्लो दशकमा स्थानीय तहहरूले गोरु पालनलाई प्रोत्साहन गर्नेभन्दा कृषि यान्त्रीकरणलाई प्राथमिकता दिएका छन् । स्थानीय तहहरूले मात्रै करिब २० करोड रुपैयाँभन्दा बढीका मिनी टिलर र हाते ट्याक्टर वितरण गरेका छन् । यसबाहेक संघीय सरकार, प्रदेश सरकार, कृषि ज्ञान केन्द्र तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत पनि कृषकलाई यान्त्रिक उपकरण वितरण गरिएको छ ।
कृषि क्षेत्रमा यान्त्रीकरणले उत्पादन र श्रम व्यवस्थापनमा सहजता ल्याए पनि त्यससँगै रोपाइँसँग जोडिएका मौलिक गीत, परिमको संस्कृति, परम्परागत खानपान र सामुदायिक सहकार्य क्रमशः हराउँदै गएकोमा स्थानीयवासी चिन्तित छन् । उनीहरू प्रविधि र परम्पराबीच सन्तुलन कायम गर्दै मौलिक संस्कृति संरक्षणका लागि स्थानीय सरकार र समुदायले संयुक्त पहल गर्नुपर्नेमा जोड दिन्छन् ।