© 2026
न्होम पेन्ह । कम्बोडियाको कार्डामम माउन्टेन्स राष्ट्रिय निकुञ्जमा गरिएको ‘क्यामेरा ट्र्याप’ अध्ययनमा १४ वटा दुर्लभ तथा लोपोन्मुख वन्यजन्तु प्रजाति फेला परेका छन् । वातावरण मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो ।
अप्रिलको सुरुदेखि जुनको अन्त्यसम्म सञ्चालन गरिएको अध्ययनले निकुञ्जको समृद्ध जैविक विविधता तथा प्राकृतिक स्रोत संरक्षणको महत्त्वलाई पुनः उजागर गरेको विज्ञप्तिमा उल्लेख छ ।
फेला परेका दुर्लभ तथा लोपोन्मुख प्रजातिहरूमा एसियाली हात्ती, गौर (जङ्गली राँगो), दक्षिणी सेरो, साम्बर मृग, सन बियर, एसियाली कालो भालु, मार्बल्ड बिरालो, ढोल (जङ्गली कुकुर), स्पटेड लिन्साङ, लामो पुच्छर भएको मकाक, उत्तरी पिग–टेल्ड मकाक, ठूलो भारतीय सिभेट, सुन्डा प्याङ्गोलिन र चिल्लो भुवा भएको ओटर समावेश छन् ।
यसका अतिरिक्त, स्तनधारी, चराचुरुङ्गी र सरीसृप वर्गका अन्य धेरै कम जोखिममा रहेका प्रजातिहरू पनि सो निकुञ्जमा बसोबास गर्ने तथ्य अध्ययनले देखाएको छ ।
वातावरण मन्त्रालयका उपसचिव तथा प्रवक्ता ख्वाइ अतित्याले यी प्रजातिहरूको उपस्थितिले कम्बोडियाको वन्यजन्तु संरक्षणप्रतिको प्रतिबद्धता र भावी पुस्ताका लागि पारिस्थितिक प्रणालीको दिगोपन सुनिश्चित गर्ने सरकारी प्रयासलाई प्रस्ट पार्ने बताए । रासस