Butwal Today

राष्ट्रिय गौरव बोकेको मन्दिरलाई प्लास्टिकको ओत

२१ असार २०८३, आइतबार
अ+
अ-

पाल्पा । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीको भोलिपल्ट ऐतिहासिक भगवती रथयात्रा निकालिने तानसेनस्थित भगवती मन्दिर अहिले प्लास्टिकको ओतमा पुगेको छ ।

करिब २५० वर्षभन्दा लामो इतिहास बोकेको तथा नेपाल अङ्ग्रेज युद्धका क्रममा नेपाली सेनाका कर्णेल उजिरसिंह थापालाई विजयको आशीर्वाद दिएको विश्वास गरिने यस मन्दिरप्रति सरकारको बेवास्ताका कारण प्लास्टिकले छोप्नुपर्ने अवस्था आएको हो ।

राष्ट्रिय महत्वको भगवती रथयात्रा प्रारम्भ हुने रणउज्जेश्वरी भगवती मन्दिर पुरानो र जीर्ण बन्दै गएको छ । ढुङ्गाको छानोबाट पानी चुहिन थालेपछि मन्दिर व्यवस्थापन समितिले विगत दुई वर्षदेखि वर्षाको पानी रोक्न प्लास्टिकले छोप्दै आएको जनाएको छ ।

राष्ट्रिय एकता र वीरताको गाथा बोकेको यस मन्दिरको ऐतिहासिक महत्त्व विशेष रहेको छ । नेपालमाथि अङ्ग्रेज सेनाले चारैतिरबाट आक्रमण गर्दा बुटवलको जित गढीतर्फ प्रस्थान गर्नुअघि नेपाली फौजका कमान्डर उजिरसिंह थापाले यही भगवतीको चरणमा युद्धमा विजय प्राप्त भए मन्दिर पुनर्निर्माण गर्ने र भव्य सिन्दूर जात्रा मनाउने भाकल गरेका थिए ।

नेपाल अङ्ग्रेज युद्धअन्तर्गत जितगढीको लडाइँमा नेपाली सेना विजयी भएपछि कर्णेल थापाले आफ्नो भाकल पूरा गर्दै मन्दिर पुनर्निर्माण गराएका थिए । यति लामो इतिहास बोकेको मन्दिर नेपाल सरकारबाट पटक पटक उपेक्षाको सिकार बनेको इतिहासविद् पुष्करराज रेग्मी बताउँछन् ।

सङ्घीय सरकारअन्तर्गतको पुरातत्त्व विभाग र गुठी संस्थानसँग मन्दिर पुनर्निर्माणका लागि विगत तीन वर्षदेखि पटक/पटक पहल गरिएको मन्दिर व्यवस्थापन समितिको भनाइ छ । मन्दिरको नक्सा र डिजाइन लिएर सिंहदरबार, पुरातत्त्व विभाग र गुठी संस्थान धाउँदा पनि आश्वासनबाहेक केही नपाएको समितिका एक सदस्यले बताए । उनका अनुसार निकासा भइसकेको बजेटसमेत तत्कालीन चुनावी सरकारले रोकिदिएको थियो ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अशोक महर्जनका अनुसार तत्कालीन अर्थमन्त्री विष्णु पौडेलको कार्यकालमा मन्दिर संरक्षणका लागि ३ करोड र पुनर्निर्माणका लागि थप ३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । तर, दुई महिनामै सरकार परिवर्तन भएपछि उक्त बजेट कार्यान्वयन हुन सकेन ।

उनका अनुसार त्यसपछि अर्थ मन्त्रालयको नेतृत्वमा पुगेका रामेश्वर खनालले बजेट कार्यान्वयन गर्नुको सट्टा पूर्ण रूपमा रोकिदिएपछि समितिलाई ठुलो निराशा भएको हो । निर्वाचित सरकारले समस्या समाधान गर्ने अपेक्षासहित सम्बन्धित मन्त्रीलाई फाइल बुझाए पनि हालसम्म बजेट प्राप्त नभएको अध्यक्ष महर्जनले बताए ।

सरकारले यसको ऐतिहासिक महत्त्व बुझ्न सकेन । हाम्रो आवाज अहिले चित्कारमा परिणत भएको छ- उनले भने ।

मन्दिरको महत्वलाई राष्ट्रिय स्तरमा स्थापित गर्न समितिले प्रत्येक वर्ष भगवती रथयात्राका अवसरमा नेपाली सेनाका प्रधानसेनापति, राष्ट्रपति, सम्बन्धित मन्त्री तथा सङ्घीयता कार्यान्वयनपछि प्रदेशका मुख्यमन्त्रीहरूलाई निमन्त्रणा दिँदै आएको जनाएको छ ।

मन्दिर व्यवस्थापन समितिका पूर्व अध्यक्ष केदारलाल श्रेष्ठले राष्ट्रिय एकता र वीरताको प्रतीक बनेको यस मन्दिरप्रति सङ्घीय सरकारको दृष्टिकोण सकारात्मक नहुनु दुःखद भएको बताए ।

मन्दिरको अवस्था दिनप्रतिदिन जीर्ण बन्दै गएको छ । यद्यपि प्रत्येक वर्ष श्रीकृष्ण अष्टमीको भोलिपल्ट भगवतीको मूर्तिलाई खटमा राखी बाजागाजासहित तानसेन बजार परिक्रमा गराउने परम्परा भने निरन्तर कायम रहेको छ ।

अध्यक्ष महर्जनका अनुसार खट यात्रा सञ्चालनको खर्च बर्सेनि बढ्दै गएको छ । राष्ट्रिय गौरवको पर्व भए पनि सङ्घीय सरकार, पुरातत्त्व विभाग र गुठी संस्थानले यसलाई पाल्पाको स्थानीय पर्वका रूपमा मात्र बुझेको गुनासो उनले गरे । विभिन्न सङ्घसंस्थाको सहयोगका कारण खट यात्रा निरन्तर सञ्चालन हुँदै आएको उनको भनाइ छ ।

मन्दिरलाई पुरानै स्वरूप र शैलीमा तीन तले संरचनाका रूपमा पुनर्निर्माण गर्न २०८० सालमा डिजाइन तथा नाप नक्सा तयार गरिएको थियो । त्यसका लागि ४ करोड ८० लाख रुपैयाँ लागत अनुमान गरिएको अध्यक्ष महर्जनले बताए ।

सङ्घीय सरकारले अपेक्षित सहयोग नगरेपछि लुम्बिनी प्रदेश सरकारले स्थानीय तथा प्रदेशसभा सदस्यहरूको पहलमा केही बजेट उपलब्ध गराएको अध्यक्ष महर्जनले बताए । उनका अनुसार उक्त बजेटले पूर्ण समाधान नदिए पनि पुनर्निर्माणको आशा भने जीवित राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?