Butwal Today

लगातार छैटौं दिन ओरालो लाग्यो सेयर बजार

१५ असार २०८३, सोमबार
अ+
अ-

काठमाडौं । लगातार छैटौं कारोबार दिन सोमबार पनि सेयर बजार घटेको छ । गत साताका पाँचै कारोबार दिन घटेको बजार यो साताको पहिलो कारोबार दिन पनि ओरालो लाग्दै नेप्से परिसूचक १६.५४ अंकले घटेर २,६३२ अंकमा बन्द भएको छ ।

आज बजार दिनभरजसो राताम्मे रह्यो । नयाँ कम्पनी ऐन, २०८३ को मस्यौदामा सेयर हस्तान्तरण वा खरिद–बिक्री गर्दा सम्बन्धित सेयरमा हक प्राप्त गर्ने व्यक्तिले १ प्रतिशत हस्तान्तरण शुल्क तिर्नुपर्ने प्रस्ताव समावेश भएपछि लगानीकर्ताको मनोबल कमजोर बनेको विश्लेषण गरिएको छ । यद्यपि सम्बन्धित पक्षले उक्त प्रस्ताव हटाइने स्पष्ट पारिसकेका छन् ।

कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन ३ अर्ब ९४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा सोमबार २ अर्ब ६७ करोड रुपैयाँमा सीमित रह्यो । आज २९ कम्पनीको सेयर मूल्य बढ्दा २४० कम्पनीको घट्यो भने ६ कम्पनीको मूल्य स्थिर रह्यो ।

सबै समूहका उपसूचक घटेका छन् । निर्जीवन बीमा समूह १.३९ प्रतिशत, उत्पादन तथा प्रशोधन १.१४ प्रतिशत, होटल तथा पर्यटन १.१४ प्रतिशत तथा फाइनान्स समूह १.१३ प्रतिशतले घटे । बैंकिङ ०.०९ प्रतिशत, विकास बैंक ०.७९ प्रतिशत, जलविद्युत् ०.७२ प्रतिशत, जीवन बीमा ०.६९ प्रतिशत, माइक्रोफाइनान्स ०.५९ प्रतिशत, अन्य ०.५१ प्रतिशत तथा व्यापार समूह ०.३२ प्रतिशतले ओरालो लागे ।

चार कम्पनीको सेयर मूल्य १५ प्रतिशतले बढेको छ । तीमध्ये स्नो रिभर फल्स, टक्सार पिखुवाखोला, याम्बलिङ हाइड्रोपावर र धौलागिरि लघुवित्त रहेका छन् । १५ प्रतिशतले बढेका चारमध्ये तीन कम्पनी हालै मात्र नेप्सेमा सूचीकृत भएका हुन् । त्यसैगरी लक्ष्मी सनराइज बैंकको सेयर मूल्य २.६४ प्रतिशत र नेपाल रिपब्लिक मिडियाको २.४९ प्रतिशतले बढेको छ ।

यता स्वाभिमान लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ५.८३ प्रतिशतले घट्यो । सोपान फर्मास्युटिकल्स ४.५० प्रतिशत, एसियन हाइड्रोपावर ४.४० प्रतिशत तथा शिखर पावर ३.७९ प्रतिशतले घटेका छन् ।

कारोबार रकमका आधारमा ग्लोबल आईएमई बैंक, सोपान फर्मास्युटिकल्स, एनआरएन इन्फ्रास्ट्रक्चर, रिलायन्स स्पिनिङ मिल्स र आँखुखोला जलविद्युत् सबैभन्दा धेरै कारोबार भएका कम्पनी बने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?