Butwal Today

अपाङ्गता समावेशी विकासका लागि जनप्रतिनिधि र सरोकारवालालाई अभिमुखीकरण

१४ असार २०८३, आइतबार
अ+
अ-

बुटवल । नेत्रहीन महिला सङ्घको आयोजनामा तथा डिसाबिलिटी राइट्स एड्भोकेसी फण्डको आर्थिक सहयोगमा शुद्धोदन गाउँपालिकाका जनप्रतिनिधि तथा प्रमुख सरोकारवाला निकायका प्रतिनिधिहरूका लागि अपाङ्गता समावेशी विकास सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम आइतबार बुटवलमा सम्पन्न भएको छ।

कार्यक्रममा सहभागीहरूले अपाङ्गता भएका व्यक्तिको अधिकार, उनीहरूको समान सहभागिता, पहुँचयुक्त सेवा तथा समावेशी विकासका अवधारणाबारे जानकारी लिएका थिए। स्थानीय तहले नीति, योजना तथा कार्यक्रम निर्माण र कार्यान्वयनका प्रत्येक चरणमा अपाङ्गता भएका व्यक्तिको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने विषयमा समेत छलफल गरिएको थियो।

नेत्रहीन महिला सङ्घकी अध्यक्ष कुन्तीदेवी पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शुद्धोदन गाउँपालिका अध्यक्ष विष्णु प्रसाद बस्याल प्रमुख अतिथि रहेका थिए भने गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवाली विशिष्ट अतिथि रहेकी थिइन्।

प्रमुख अतिथि बस्यालले अपाङ्गता भएका नागरिकलाई विकासको मूलधारमा ल्याउन स्थानीय सरकार प्रतिबद्ध रहेको बताए। उनले समावेशी विकास केवल नीतिमा सीमित नभई व्यवहारमा पनि कार्यान्वयन हुनुपर्ने उल्लेख गर्दै गाउँपालिकाले आगामी योजना तथा बजेट निर्माणमा अपाङ्गतामैत्री कार्यक्रमलाई थप प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे। सबै नागरिकले समान अवसर र सम्मानपूर्वक जीवनयापन गर्न पाउने वातावरण सिर्जना गर्नु स्थानीय सरकारको दायित्व भएको उनको भनाइ थियो।

विशिष्ट अतिथि ज्ञवालीले अपाङ्गता भएका व्यक्ति दया वा सहानुभूतिको पात्र नभई अधिकार सम्पन्न नागरिक भएको उल्लेख गर्दै उनीहरूको शिक्षा, स्वास्थ्य, रोजगारी र सार्वजनिक सेवामा पहुँच सुनिश्चित गर्न स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताइन्। समावेशी सोच र व्यवहारको विकासबाट मात्रै दिगो विकासका लक्ष्य हासिल गर्न सकिने उनले धारणा राखिन्।

कार्यक्रममा महिला, बालबालिका तथा लैङ्गिक तथा अल्पसङ्ख्यक समावेशीकरण मन्त्रालयअन्तर्गत अपाङ्गता अधिकार प्रवर्द्धन महाशाखाका प्रमुख उपसचिव निरा अधिकारी र नेपाल नेत्रहीन सङ्घका सल्लाहकार डा. लक्ष्मण ज्ञवालीले सहजीकरण गरेका थिए।

उनीहरूले नेपालको संविधान, अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, संयुक्त राष्ट्रसङ्घीय अपाङ्गता अधिकार महासन्धि तथा स्थानीय तहले अवलम्बन गर्नुपर्ने समावेशी नीति र अभ्यासका विषयमा प्रस्तुति दिएका थिए। साथै, सार्वजनिक संरचना, सूचना तथा सेवामा पहुँच सुनिश्चित गर्दै अपाङ्गतामैत्री वातावरण निर्माण गर्नु सबै निकायको साझा जिम्मेवारी भएको उनीहरूले जोड दिए।

कार्यक्रममा शुद्धोदन गाउँपालिका वडा नं. ५ का अध्यक्ष चन्द्रमान चौधरी तथा गाउँपालिकाको महिला तथा बालबालिका महाशाखा प्रमुख लक्ष्मी खत्रीले पनि आ–आफ्नो मन्तव्य राख्दै अपाङ्गता भएका व्यक्तिको क्षमता विकास, अधिकार संरक्षण र स्थानीय तहका योजनामा उनीहरूको सहभागिता बढाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताए।

अभिमुखीकरण कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले अपाङ्गता समावेशी विकासबारे व्यवहारिक ज्ञान प्राप्त हुनुका साथै स्थानीय तहमा समावेशी नीति कार्यान्वयन गर्न थप प्रेरणा मिलेको प्रतिक्रिया दिएका थिए।

कार्यक्रमको सञ्चालन नेत्रहीन महिला सङ्घ रुपन्देही शाखाकी उपाध्यक्ष सीता दर्नालले गरेकी थिइन्। आयोजकका अनुसार यस्ता अभिमुखीकरण कार्यक्रमले स्थानीय तहमा अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्न तथा समावेशी विकासको अवधारणालाई व्यवहारमा उतार्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?