© 2026
सल्यान । सल्यानका दश स्थानीय तहहरू मध्ये नौ पालिकाको नीति, कार्यक्रम र बजेट सार्वजनिक भएको छ । यी मध्ये कतिपय स्थानीय तहले बजेट तथा नीति कार्यक्रम पारित गरिसकेका छन् भने कतिपयले सभाको अर्को बैठकबाट पारित गर्ने तयारी गरेका छन् ।
कालीमाटी गाउँपालिका बाहेक सल्यानका सबै स्थानीय तहहरूले नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेका हुन् । नौ स्थानीय तहहरूको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पाँच अर्ब ८८ करोड ७१ लाख ६४ हजार ७८८ रुपियाँ रहेको छ ।
पालिकाहरूले गाउँ सभाको बजेट अधिवेशन मार्फत नीति, कार्यक्रम, बजेट, विभिन्न विधेयक, प्रतिवेदन, योजनाहरू पेस तथा पारित गरेका छन् भने कतिपय स्थानीय तहहरूले गाउँ सभाको अवसरमा उत्कृष्ट कर्मचारी एवं पालिकाको हितमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान समेत गरेका छन् ।
स्थानीय सरकार सञ्चालन ऐन अनुसार असार १० गतेभित्र आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट सभामा पेस गर्नुपर्ने व्यवस्था भएकाले स्थानीय तहहरूले गाउँसभा तथा नगरसभा मार्फत बजेट प्रस्तुत गरेका हुन् । सार्वजनिक बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, पूर्वाधार विकास, रोजगार, पर्यटन, सामाजिक सुरक्षा तथा सुशासनलाई प्राथमिकतामा राखिएको छ ।
जिल्लाको जेठो नगरपालिका शारदा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि एक अर्ब ३६ करोड एक लाख २६ हजार ५१३ रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ । जसमध्ये चालूतर्फ ६६ करोड ९० लाख २६ हजार ५१३ रुपियाँ (४९.१८ प्रतिशत) तथा पुँजीगततर्फ ६९ करोड ११ लाख (५०.८२ प्रतिशत) विनियोजन गरिएको छ ।
वनगाड कुपिण्डे नगरपालिकाले ८० करोड ४६ लाख रुपियाँको बजेट ल्याएको छ । कुल बजेटमध्ये चालु खर्चतर्फ ४४ करोड ५५ लाख रुपियाँ (५५ प्रतिशत) तथा पुँजीगत खर्चतर्फ ३५ करोड ९० लाख रुपियाँ (४५ प्रतिशत) विनियोजन गरिएको छ । वनगाडको नगरसभामा प्रतिनिधीसभा सदस्य रमेश कुमार मल्लको समेत विशेष उपस्थिती रहेको थियो ।
बागचौर नगरपालिकाले ७७ करोड २३ लाख ७५ हजार ३३० रुपियाँ बराबरको बजेट प्रस्तुत गरेको छ । जसमध्ये चालूतर्फ ५३ करोड ९८ लाख ९२ हजार ३०० रुपियाँ तथा पुँजीगततर्फ २३ करोड २४ लाख ८३ हजार ३० रुपियाँ विनियोजन गरिएको छ ।
त्रिवेणी गाउँपालिकाले ५९ करोड २१ लाख ९५ हजार ६६५ रुपियाँको बजेट सार्वजनिक गरेको छ । बजेटमा चालूतर्फ ६० प्रतिशत र पुँजीगततर्फ ४० प्रतिशत रकम विनियोजन गरिएको छ ।
कुमाख गाउँपालिकाले ५३ करोड ९७ लाख ५५ हजार ४५ रुपियाँको बजेट प्रस्तुत गरेको छ । कुल विनियोजित बजेटमध्ये ७२.८५ प्रतिशत चालूतर्फ र २७.१५ प्रतिशत पुँजीगततर्फ विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ ।
छत्रेश्वरी गाउँपालिकाले ५३ करोड ७६ लाख ७९ हजार २३ रुपियाँको बजेट ल्याएको छ । गाउँपालिकातर्फको विनियोजन २१ करोड ७२ लाख ६ हजार रुपियाँ रहेको छ ।
त्यसमध्ये चालूतर्फ १४ करोड ५ लाख ७७ हजार रुपियाँ तथा पुँजीगततर्फ ७ करोड ६६ लाख २९ हजार रुपियाँ विनियोजन गरिएको छ । गाउँपालिकाले समयमै योजना कार्यान्वयन सुनिश्चित गर्न फागुन मसान्तपछि ३० लाख रुपियाँभन्दा बढी लागतका योजनाको सम्झौता नगर्ने नीति लिएको छ ।
कपुरकोट गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४६ करोड ५७ लाख १ हजार रुपियाँको बजेट ल्याएको छ । यस्तै दार्मा गाउँपालिकाले ४२ करोड १७ लाख ६४ हजार २१२ रुपियाँको बजेट गाउँसभामा पेस गरेको छ । उक्त बजेटमाथि असार १४ गते बस्ने बैठकमा सभा सदस्यहरूले सुझाव तथा धारणा राखेपछि निर्णयार्थ पेस गरिने जनाइएको छ ।
सिद्धकुमाख गाउँपालिकाले ३९ करोड २९ लाख ६८ हजार रुपियाँको बजेट पेस गरेको छ । जसमध्ये चालु खर्चतर्फ २७ करोड २६ लाख ४२ हजार ६०२ रुपियाँ (६९.३८ प्रतिशत) तथा पुँजीगत खर्चतर्फ १२ करोड ३ लाख २५ हजार ३९८ रुपियाँ (३०.६२ प्रतिशत) विनियोजन गरिएको छ । गाउँ सभाको दोस्रो बैठक असार २१ गते बस्ने तय गरिएको छ ।
यता कालीमाटी गाउँपालिकाले भने आगामी आर्थिक वर्षको बजेट अझै सार्वजनिक गर्न सकेको छैन । गाउँपालिका अध्यक्ष दानबहादुर केसी मोटरसाइकल दुर्घटनामा परी घाइते भएपछि गाउँसभा प्रभावित भएको हो । उपाध्यक्ष सनसिल्ता वली डिसीको अध्यक्षतामा बुधबार बसेको बैठकले गाउँसभा स्थगित गर्ने निर्णय गरेको जनाएको छ ।