© 2026
तम्घास (गुल्मी) । कालीगण्डकी गाउँपालिका गुल्मीले बाँझो जग्गा सदुपयोग गरी फलफूलका बिरुवा लगाउने कृषकलाई अनुदान दिने नीति बनाएको छ ।
गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाका अनुसार पछिल्लो समयमा उत्पादन योग्य जमिन यसै बाँझो हुँदै गएपछि उक्त जग्गाको सदुपयोग गर्नका लागि यस्तो नीति लिएको बताए । बाँझो जग्गामा फलफूलका बिरुवा रोप्नका लागि प्रति खाडल चार सय रुपियाँ अनुदान र फलफूलका बिरुवा पालिकाले अनुदान स्वरूप उपलब्ध गराउने भएको छ ।
पछिल्लो समयमा जङ्गली जनावरले सताउने गरेपछि खेतीयोग्य जमिन यसै खेर गइरहेकाले यसको विकल्पको रूपमा यस्तो नीति लिइएको थापाको भनाइ छ । यसका कारण बाझिँएको जग्गाको सदुपयोग हुने र रोजगारको पनि सिर्जना हुने थापाको दाबी छ । यस कार्यका लागि बजेटको अभाव हुन नदिनका लागि एक करोडसम्म व्यवस्थापन गरेको थापाले बताए ।
अहिले काली गण्डकीका कृषकहरूले बाँझो जग्गामा खाडल खन्ने काम धमाधम गरिरहेको पालिकाको कृषि शाखाले जनाएको छ । पालिकाले खाडलको लम्बाइ, चौडाइ र गहिराइ एक।एक मिटरको हुनुपर्ने मापदण्ड तयार गरेको छ ।
पालिकाले आफै तयार गरेको नर्सरीमा अहिले १५ हजार सुन्तलाका बिरुवा तयार छन् भने कागती र एभोकार्डोका बिरुवाहरू खरिद गरी ल्याउने योजना बनाएको छ ।
काली गण्डकी गाउँपालिका वडा नम्बर दुई अर्वेनीका कृषक लक्ष्मीपति न्यौपानेले ६२ रोपनी जङ्गल पल्टिएको बाँझो जग्गा अहिले फडानी गरी खाडल खन्ने काम गरिरहेको बताएका छन् । उक्त जग्गामा एक हजार चार सय खाडल अट्ने अनुमान गरेका बताएका छन् ।
उनको बगैँचामा अहिले दुई हजार पाँच सय सुन्तलाका बिरुवाहरू रहेको र जसमध्ये करिब एक हजार छ सय बिरुवाले फल दिएको छ । गत वर्ष मात्रै किवी र सुन्तला बिक्रीबाट १५ लाख बढी आम्दानी गरेको उनले बताए । जिल्लामा कुल एक हजार ७२ हेक्टर क्षेत्रफलमा जिल्लामा सुन्तला खेती गरिएको छ भने ६० प्रतिशत अर्थात् ६४३ हेक्टर क्षेत्रफलमा लगाइएका बिरुवाले उत्पादन दिएको छ ।
यस्तै काली गण्डकी गाउँपालिकाले तयार गरेको नर्सरीमा १२ हजार बढी सुन्तलाका बिरुवाहरू रहेको जनाएको छ । वडा नम्बर ३ को लम्सराङमा १२ हजार बढी सुन्तलाका बिरुवाहरू लगाउन योग्य भएकाले यस वर्ष पालिका भित्रलाई पर्याप्त मात्रामा पुग्ने सुन्तलाका बिरुवाहरू रहेको कृषि शाखाले जनाएको छ ।
गत वर्ष मात्रै गाउँपालिकाले जिल्ल भित्र र बाहिरबाट गरी सात हजार सुन्तलाका बिरुवाहरू खरिद गरी कृषकलाई वितरण गरेको थियो । यस्तै कागतीलगायत एभोकार्डोका बिरुवाहरू भने अन्यन्त्रबाट खरिद गरेर ल्याउने योजना बनाएको कृषि शाखाले जनाएको छ ।