Butwal Today

रविको राजनीतिक प्रतिवेदनः संघमा प्रत्यक्ष कार्यकारी, प्रदेश सभा र प्रदेश सरकारको पुनर्संरचना

९ असार २०८३, मंगलवार
अ+
अ-

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले प्रत्यक्ष निर्वाचित कार्यकारीकै पक्षमा रहेको बताएका छन्।

रास्वपा महाधिवेशनको बन्दसत्रमा मंगलबार राजनीतिक प्रतिवेदन पेस गर्दै उनले हामी स्थिर नेतृत्व र स्पष्ट जिम्मेवारीसहितको प्रत्यक्ष निर्वाचित कार्यकारीका पक्षमा रहेको बताएका हुन्।

उनले संविधानमाथि केही फरक धारणा रहेको र आफूहरूले पार्टी स्थापनादेखि नै राख्दै आएको बताएका छन्।

‘२०७२ सालमा हाम्रो संविधान लेखिँदा नै एक दशकपछि यसको कार्यान्वयनको समीक्षा र परिमार्जनको ढोका खोलिएको हो,’ उनले भने, ‘आज हामी त्यही स्वाभाविक पुनरावलोकनको चरणमा आइपुगेका छौँ। रास्वपा यस अवधिमा संविधानका उपलब्धि र कमजोरी अनि नागरिकले चाहेका सुधारबारे खुला, इमानदार र जिम्मेवार बहसका पक्षमा छ।’

उनले महँगो निर्वाचन प्रणालीको सट्टा पूर्ण समानुपातिक निर्वाचन प्रणालीका पक्षमा रहेकाले सबै समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने पनि बताएका छन्। ‘हामी अहिलेको राष्ट्रिय सभालाई गैरदलीय विशेषज्ञ सभा बनाउन र उपराष्ट्रपतिलाई सभाअध्यक्ष बनाउने पक्षमा छौँ,’ प्रतिवेदनमा भनिएको छ, ‘त्यसै गरी हामी प्रदेश सभा र प्रदेश सरकारको पनि पुनर्संरचनाका पक्षमा छौँ।’

लामिछानेले संविधान संशोधन संकुचित राजनीतिक स्वार्थबाट होइन, राष्ट्रको दीर्घकालीन आवश्यकता, जनताको अनुभव र लोकतान्त्रिक अभ्यासबाट निर्देशित होस् भन्ने चाहेको बताएका छन्।

‘संविधान राष्ट्रको साझा दस्ताबेज हो कुनै दलको घोषणापत्र होइन,’ उनले भने, ‘संविधान न अपरिवर्तनीय दस्ताबेज हो, न प्रत्येक राजनीतिक परिवर्तनसँगै फेर्ने अस्थिर दस्तावेज संविधान संशोधनको अबको आधार पनि सुशासन, स्थायित्व, प्रतिनिधित्व र नागरिकको हित हुनुपर्छ। हामी व्यापक राष्ट्रिय संवाद, विज्ञहरूको सुझाव, नागरिकको सहभागिता र सम्भव भएसम्म सर्वदलीय सहमतिका पक्षमा छौँ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?