Butwal Today

दाङका २ उपमहानगरपालिकाले सार्वजनिक गरे आगामी वर्षका लागि बजेट

८ असार २०८३, सोमबार
अ+
अ-

लमही । घोराही उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि रु दुई अर्ब ३७ करोड ९५ लाख २२ हजारको बजेट सार्वजनिक गरेको छ । बजेटमा  सडक , कृषि, शिक्षा, स्वास्थ्य र  सामाजिक विकासलगायत क्षेत्रलाई प्राथमिकता दिएको छ ।

नगर उपप्रमुख एवं कार्यक्रम तथा बजेट तर्जुमा समिति संयोजक हुमाकुमारी डिसीले आज १९ औँ  नगर सभामा आगामी बजेट सार्वजनिक गरेकी हुन ।

कूल विनियोजित रकममध्ये सङ्घ सरकारबाट प्राप्त हुने सशर्त अनुदान रु ७७ करोड ५२ लाख २२ हजारमध्ये रु २ करोड ३५ लाख  अर्थात् ३ दशमलव ०३ प्रतिशत पुँजीगत खर्च र रु ७५ करोड १७  लाख २२ हजार अर्थात् ९६ दशमलव ९७ प्रतिशत चालु खर्च रहेको छ ।

यस्तै प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदान रु तीन करोड ६४ लाख ५० हजारमध्ये रु तीन करोड ३९ लाख अर्थात् ९३ प्रतिशत पुँजीगत खर्च र रु २५ लाख ५० हजार अर्थात् ७ प्रतिशत चालु खर्च रहेको छ ।

सङ्घ तथा प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान, राजस्व बाँडफाँट र रोयल्टी तथा उपमहानगरपालिकाको आन्तरिक आय घर जग्गा रजिष्ट्रेशन, बैङ्क मौज्दातबाट विनियोजन गरिएको बजेट रु एक अर्ब ५६ करोड ७८ लाख ५० हजार मध्ये ६० करोड २ लाख ७३ हजार अर्थात् ३८ दशमलव २९ प्रतिशत चालु खर्च र रु ९६  करोड  ७५ लाख ७७ हजार अर्थात् ६१ दशमलव ७१ प्रतिशत पुँजीगत खर्च रहेको बजेट वक्तव्यमा उल्लेख छ ।

कूल बजेटमध्ये रु २ अर्ब ३७ करोड ९५ लाख २२  मध्ये   रु एक अर्ब ३५ करोड  ४५ लाख  ४५ हजार  अर्थात् ५६ दशमलव ९३ प्रतिशत चालु खर्च र एक अर्ब २ करोड ४९  लाख ७७ हजार अर्थात् ४३ दशमलव ०७ प्रतिशत पुँजीगत खर्च रहेको छ ।

आगामी आर्थिक वर्षको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक आयबाट रु ७४ करोड  सङ्घीय वित्तीय  समानिकरण अनुदानबाट ३१ करोड  ५५ लाख , सङ्घीय राजस्व बाँडफाँटबाट रु २५ करोड ९६ लाख ३६ हजार, सङ्घीय रोयल्टी बाँडफाँटबाट रु नौ लाख, सङ्घीय सशर्त अनुदानबाट रु ७६ करोड ७७ लाख २२ हजार, र सङ्घीय विशेष अनुदानबाट ४५ लाख  र सङ्घीय समपुरक अनुदानबाट ३० लाख व्यहोरिने जनाइएको छ ।

प्रदेश समानीकरण अनुदानबाट रु दुई करोड १६ लाख ९ हजार, प्रदेश राजस्व बाँडफाँटबाट रु दुई  करोड ८९ लाख ३१ हजार, प्रदेश सशर्त अनुदानबाट रु १ करोड ९४  लाख ५० हजार र प्रदेश समपूरक अनुदानबाट रु एक करोड ५० लाख व्यहोरिने गरी उपमहानगरले बजेट विनियोजन गरेको हो ।

असार ५  गते नीति तथा कार्यक्रम प्रस्तुत गरेको उपमहानगरले आज बजेट ल्याएको हो । बजेटमाथिको छलफलका लागि यही असार १० गते बिहान ११बजे नगर सभाको बैठक बोलाइएको नगर प्रमुख नरुलाल चौधरीले जानकारी  दिए ।

यसै गरी तुलसीपुर उपमहानगरपालिकाले दुई अर्ब ४४  करोड ९५ लाख रुपियाँको बजेट ल्याएको छ । आर्थिक वर्ष २०८२–८३ भन्दा आगामी आर्थिक वर्ष २०८३–८४ मा ३८ करोड बढी बजेट ल्याइएको हो ।

आगामी आर्थिक वर्ष २०८३–८४ का लागि उपप्रमुख स्यानी चौधरीले उक्त बजेट प्रस्तुत गरेकी हुन । जसमा आन्तरिक स्रोतबाट ५४ करोड, स्थानीय तह राजस्व बाँडफाँटसहित मालपोत रजिस्ट्रेसनबाट २४ करोड, ढुङ्गा, गिटी, विज्ञापन करबाट १५ लाख आम्दानी हुने लक्ष्य लिइएको छ ।

सङ्घीय सरकारको समानीकरण अनुदान २८ करोड ७७ लाख, सशर्त अनुदान ६७ करोड २३ लाख, समपूरक अनुदान ६० लाख, सङ्घीय विशेष अनुदान ८८ लाख र राजस्व बाँडफाँट सङ्घतर्फ २४ करोड नौ लाख ५७ हजार,  प्रदेश सरकारबाट सशर्त अनुदान दुई करोड दुई लाख ५० हजार, समपूरक अनुदान एक करोड ५० लाख, विशेष अनुदान २० लाख, राजस्व बाँडफाँट प्रदेश दुई करोड ४१ लाख  ८६ हजार, सडक बोर्डबाट एक करोड, नगर विकाश कोष दुई करोड दस लाख गरी कुल दुई अर्ब ४४ करोड ९५ आम्दानी हुने लक्ष्य राखिएको छ ।

चालुतर्फ एक अर्ब ३९ करोड ६० लाख अर्थात् ५६ प्रतिशत, पुँजीगततर्फ एक अर्ब एक करोड ३८ लाख २८ हजार अर्थात् ४२.३५ प्रतिशत बजेट र वित्तीय अनुदानतर्फ ४ करोड अर्थात् १.६५ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?