सल्यान । आर्थिक वर्ष २०८२/८३ को ११ महिना हुँदा सल्यानमा प्रदेश सरकार मातहतका कार्यालयहरूको पुँजीगत अर्थात् विकास बजेट खर्च निराशाजनक देखिएको छ ।
आर्थिक वर्षको अन्तिम महिना आइपुग्दा समेत विकास बजेटको खर्च ३१ प्रतिशतमा सीमित भएको तथ्याङ्क छ । प्रदेश लेखा इकाई कार्यालय सल्यानका अनुसार जिल्लास्थित प्रदेश सरकार अन्तर्गतका कार्यालयहरूका लागि चालु आर्थिक वर्षमा पुँजीगततर्फ एक अर्ब ४३ करोड ९० लाख ४९ हजार बजेट विनियोजन गरिएको थियो ।
तर जेठ मसान्तसम्म आइपुग्दा उक्त रकममध्ये ४४ करोड १३ लाख ८८ हजार ५३४ मात्रै खर्च भएको छ । यो कुल विनियोजित बजेटको ३१ प्रतिशत हो ।
यता चालुतर्फको खर्च भने तुलनात्मक रूपमा सन्तोषजनक देखिएको छ । चालुतर्फ ९१ करोड १९ लाख ९६ हजार ९ सय ९० बजेट प्राप्त भएकोमा हालसम्म ४७ करोड २१ लाख ३३ हजार ८६ रुपैयाँ खर्च भएको प्रदेश लेखा इकाई कार्यालयले जनाएको छ । यो कुल चालु बजेटको ५२ प्रतिशत हुन आउँछ ।
प्रदेश सरकारबाट सल्यान जिल्लाका विभिन्न कार्यालयहरूका लागि चालु र पुँजीगत गरी कुल २ अर्ब ३५ करोड १० लाख ४५ हजार ९ सय ९० रुपैयाँ बजेट विनियोजन गरिएको थियो । त्यसमध्ये हालसम्म ९१ करोड ३५ लाख २१ हजार ६ सय २१ खर्च भएको छ । जुन कुल बजेटको ३९ प्रतिशत मात्र हो ।
कार्यालयले दिएको विवरण अनुसार केही कार्यालयहरूले विकास बजेट खर्चमा उल्लेखनीय प्रगति हासिल गरेका छन् । तर कतिपय कार्यालयहरूले भने आर्थिक वर्षको ११ महिना पुगिसक्दा समेत पुँजीगत बजेट खर्च गर्न नसकेको देखिएको छ । यसले जिल्लामा सञ्चालनमा रहेका विकास आयोजना तथा पूर्वाधार निर्माणका काम अपेक्षित गतिमा अघि बढ्न नसकेको देखिन्छ ।
सरोकारवालाहरूका अनुसार समयमै ठेक्का प्रक्रिया सम्पन्न हुन नसक्नु, योजनाको कार्यान्वयनमा ढिलाइ हुनु, प्राविधिक तथा प्रशासनिक जटिलता देखिनु, साथै भुक्तानी व्यवस्थापनमा समस्या आउनुले विकास बजेट खर्च प्रभावित भएको हो । कतिपय योजनामा निर्माण कार्य सम्पन्न भए पनि आवश्यक कागजात प्रक्रिया र भुक्तानी व्यवस्थापनमा ढिलाइ हुँदा खर्च विवरणमा समेत असर परेको बताइन्छ ।