Butwal Today

धानको बीउमा बढ्दो परनिर्भरता

२८ जेष्ठ २०८३, बिहीबार
अ+
अ-

पाल्पा । पाल्पाका कृषकहरू पछिल्ला वर्षहरूमा परम्परागत तथा स्थानीय धानका बीउ छाडेर बजारबाट खरिद गरिने हाइब्रिड (वर्णशंकर) बीउमा निर्भर हुँदै गएका छन् ।

उत्पादन र उत्पादकत्व उच्च हुने अपेक्षाले कृषकहरूको रोजाइ विदेशी कम्पनीद्वारा उत्पादित बीउतर्फ बढ्दै गएको हो । माथागढी गाउँपालिका–कसेनीका कृषक दिलबहादुर राना विगत एक दशकदेखि बजारबाट धानको बीउ खरिद गर्दै आएका छन् ।

उनी हरेक वर्ष करिब चार हजार रुपैयाँ बराबरको बीउ किनेर रोप्ने गर्छन् । स्थानीय तथा उन्नत जातका तुलनामा हाइब्रिड बीउले बढी उत्पादन दिने भएकाले अन्य जात प्रयोग गर्न छाडेको उनी बताउँछन् ।

बगनासकाली गाउँपालिका–नायरका कृषक नवराज बस्यालको अनुभव पनि उस्तै छ । विगत पाँच वर्षदेखि उनले घरमा बीउ जोगाएर राख्ने परम्परा त्यागेका छन् । “स्थानीय जातको तुलनामा करिब दोब्बर उत्पादन पाइने भएकाले हाइब्रिड बीउ प्रयोग गर्न थालेको हुँ,” उनले भने ।

उच्च उत्पादनका कारण जेठ महिना लागेसँगै कृषि सामग्री पसलहरूमा धानको बीउ खरिद गर्ने कृषकहरूको भीड लाग्ने गरेको व्यवसायीहरू बताउँछन् । पाल्पाका पुराना कृषि व्यवसायी विष्णु भण्डारीका अनुसार खेतीयोग्य जमिन घट्दै गएकाले कम क्षेत्रफलबाट बढी उत्पादन लिन कृषकहरू बाध्य भएका छन् ।

“परम्परागत र स्थानीय जातको तुलनामा हाइब्रिड बीउले धेरै उत्पादन दिन्छ । रोग र किराको आक्रमण पनि तुलनात्मक रूपमा कम हुने भएकाले कृषकहरूको आकर्षण स्वाभाविक हो,” भण्डारीले भने ।

माथागढी–कसेनीकै विष्णु कुँवरले सात रोपनी क्षेत्रफलमा विगत १० वर्षदेखि हाइब्रिड धान लगाउँदै आएकी छन् । स्थानीय जातको धानबाट १० देखि १५ मुरीसम्म उत्पादन हुने गरेकोमा हाइब्रिड प्रयोग गरेपछि उत्पादन उल्लेख्य रूपमा बढेको उनको अनुभव छ । “पहिलेभन्दा धेरै उत्पादन हुन थालेपछि हामीले यही बीउलाई निरन्तरता दिएका छौँ,” उनले भनिन् ।

कृषि विज्ञहरूका अनुसार ग्रामीण जीवनशैली र खेती प्रणालीमा आएको परिवर्तनले पनि हाइब्रिड बीउको प्रयोग बढाएको छ । कृषि ज्ञान केन्द्र पाल्पाका वरिष्ठ बागवानी अधिकृत मनिष पौडेलका अनुसार पहिले घरघरमा गोरु र भैँसी पालिने भएकाले धेरै पराल उत्पादन हुने अग्ला जातका धान आवश्यक पर्थे ।

“अहिले खेत जोत्नेदेखि अन्य कृषि कार्यमा यान्त्रिकीकरण बढेको छ । पशुपालनको स्वरूप पनि बदलिएको छ,” पौडेलले भने, “स्थानीय तथा उन्नत जातको धानले उत्पादन दिन लामो समय लिने भएकाले कृषकहरू कम समयमा बढी उत्पादन दिने हाइब्रिड जाततर्फ आकर्षित भएका छन् ।”

पाल्पामा धान मकैपछि दोस्रो प्रमुख खाद्यान्न बाली हो। कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाको ७ हजार ३ सय ९५ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । गत वर्ष जिल्लामा ३४ हजार १७ मेट्रिक टन धान उत्पादन भएको थियो ।

पछिल्ला दशकहरूमा पर्याप्त सिँचाइ सुविधा विस्तार हुन नसक्दा धेरै किसान अझै पनि आकासे पानीमा निर्भर छन् । कम पानीमा पनि राम्रो उत्पादन दिन सक्ने भएकाले हाइब्रिड जातको प्रयोग बढ्दै गएको कृषकहरू बताउँछन् ।

कृषि ज्ञान केन्द्रका प्राविधिक सुरज पाण्डेका अनुसार नेपालमा धानका बीउ उत्पादन तथा बिक्री गर्ने १ सय ६१ वटा कम्पनी सूचीकृत तथा पञ्जीकृत छन् । तीमध्ये अधिकांश विदेशी कम्पनीसँग सम्बन्धित छन् । नेपालमा दर्ता भएका तथा आयातित विभिन्न जातका बीउहरू कृषकले प्रयोग गरिरहेका छन् ।

एक समय अत्यधिक लोकप्रिय बनेको ‘गोरखनाथ’ जातको धानको बीउको माग उच्च भएपछि कालोबजारीसमेत भएको थियो । सरकारले त्यसमा रोक लगाए पनि बहुराष्ट्रिय कम्पनीद्वारा उत्पादित हाइब्रिड बीउप्रतिको आकर्षण भने घटेको छैन ।

स्थानीय व्यवसायीहरूका अनुसार तानसेन र आसपासका क्षेत्रबाट मात्रै बर्सेनि १० टनभन्दा बढी हाइब्रिड धानको बीउ बिक्री हुने गरेको छ । दोभानका कृषक शेरबहादुर दरैका अनुसार स्थानीय जातको तुलनामा रुपन्देहीको बुटवलबाट भित्रिने हाइब्रिड बीउको मात्रा दोब्बरभन्दा बढी छ ।

उत्पादन वृद्धि र बदलिँदो कृषि प्रणालीसँगै पाल्पाका कृषकहरू धानको बीउका लागि बजार र बाह्य कम्पनीमा झन् बढी निर्भर बन्दै गएका छन् । यद्यपि यसले स्थानीय जातका बीउ संरक्षण र कृषि जैविक विविधतामाथि दीर्घकालीन चुनौती थपिएको कृषि क्षेत्रका जानकारहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?