Butwal Today

खानीको धन्सारमा बेरोजगारको खात

२७ जेष्ठ २०८३, बुधबार
अ+
अ-

पाल्पा  ।  निस्दी गाउँपालिका–ज्यामिरेका २७ वर्षीय सुनिलबहादुर नेपाल वैदेशिक रोजगारीका लागि मलेसिया पुगेको सात वर्ष भयो । ज्यामिरे गाउँबाट मात्र रोजगारीको खोजीमा करिब तीन हजार युवा बिदेसिएका छन् ।

दक्षिण एसियाकै सबैभन्दा ठुलो तथा चिनियाँ सरकारको स्वामित्वमा सञ्चालित होङ्सी सिमेन्ट उद्योगका लागि मुख्य कच्चापदार्थको स्रोत रहेको ज्यामिरे क्षेत्रमा भने स्थानीय युवाले अपेक्षित रोजगारी पाउन सकेका छैनन् ।

बाहिरी जिल्लाका युवाले उद्योगमा रोजगारीको अवसर पाइरहँदा यहाँका स्थानीय युवा भने कामको खोजीमा विदेशी भूमिमा पुग्न बाध्य भएको स्थानीय खेमकुमारी घर्ती बताउँछिन् ।

चुनढुङ्गा खानीको अन्वेषण सुरु हुँदा स्थानीयलाई पहिलो प्राथमिकता दिने, उद्योगलाई आवश्यक जनशक्ति स्थानीय तहबाटै व्यवस्थापन गर्ने भन्दै विभिन्न आश्वासन दिइएको थियो । उद्योग र खानी सञ्चालनका क्रममा स्थानीयले पूर्ण सहयोग पनि गरे ।

स्थानीय युवक बालकुमार नेपालीका अनुसार खानी सञ्चालन हुँदा ५० वर्षसम्म रोजगारी दिने आश्वासन दिइएको थियो । तर रोजगारी दिने बेला पहुँच भएका र प्रभावशाली व्यक्तिले मात्र अवसर पाए । “हामीजस्ता सामान्य युवाका लागि अन्ततः वैदेशिक रोजगारी नै विकल्प बन्यो,” उनले भने ।

माथागढी गाउँपालिकाका वीरबहादुर सुनार सीप भएका व्यक्ति हुन् । तर स्थानीय स्तरमै जीविकोपार्जनको आधार नपाएपछि उनी सात वर्षदेखि विदेशमा श्रम गरिरहेका छन् । रुपन्देहीस्थित तानसेन सिमेन्ट उद्योगको खानी सञ्चालनमा आएको करिब १० वर्ष भइसक्दा पनि स्थानीयले अपेक्षित अवसर पाउन नसकेको उनको गुनासो छ ।

उनका अनुसार खानीका लागि जग्गा खरिद गर्दा कृषि प्रयोजनका लागि भन्दै सहमति लिइयो । पछि खानी सञ्चालनको क्रममा स्थानीयलाई रोजगारी दिने आश्वासन देखाइयो । तर अन्ततः भारतीय नागरिकदेखि स्थानीय तहका नेताको सिफारिसमा आएका प्रभावशाली व्यक्तिले मात्र अवसर पाए भने सामान्य स्थानीय भने वञ्चित भए ।

चुनढुङ्गा खानी आसपासका सयभन्दा बढी युवा अहिले पनि रोजगारीको खोजीमा गाउँ छाडेर बाहिर रहेका छन् । स्थानीयलाई प्राथमिकता दिने भन्दै पटक–पटक खानी सञ्चालकसँग सहमति भए पनि कार्यान्वयन नभएको स्थानीय शेरबहादुर दर्लामी बताउँछन् । “हामीले रोजगारीभन्दा बढी वायु प्रदूषण र वातावरण विनाशको सास्ती मात्र भोग्नुपरेको छ,” उनले भने ।

तिनाउ गाउँपालिकाको चलकाहीमाल–रानागाउँ क्षेत्रमा खानी उद्योग सञ्चालनमा आएपछि गाउँमै रोजगारी सिर्जना हुने र परिवारसँगै बस्न पाइने आशा थियो । तर त्यो आशा पूरा हुन सकेन । “स्थानीयलाई पहिलो प्राथमिकता दिने भनिएकै भरमा दुई वर्ष गाउँमै बसेँ । अन्ततः रोजगारीका लागि खाडी मुलुक जानुपर्‍यो,” एक स्थानीयले बताए । उनका अनुसार गाउँमा केही प्रभावशाली व्यक्तिले मात्र रोजगारी पाए भने अधिकांश युवा बिदेसिन बाध्य भए ।

रैनादेवी छहरा गाउँपालिका–सिदेश्वरका माधव रेस्मी पेशाले सवारी चालक हुन् । रुपन्देहीमा सिमेन्ट उद्योग स्थापना भएसँगै सिदेश्वरमा चुनढुङ्गा खानी सञ्चालनमा आयो । प्रारम्भिक चरणमा कम्पनीको गाडी चलाउने चालकलाई मासिक ३५ हजार रुपैयाँसम्म तलब दिने आश्वासन दिइएको थियो ।

त्यसले उनी निकै उत्साहित भएका थिए । तर त्यो आश्वासन व्यवहारमा लागू भएन । अन्ततः गाउँका प्रभावशाली व्यक्तिले मात्र अवसर पाए र आफू बिदेसिन बाध्य भएको उनी बताउँछन् । “विदेश जानु रहर होइन, बाध्यता बन्यो,” उनले भने ।

उनका अनुसार सिदेश्वरमा खानी उद्योग सञ्चालनमा आए पनि बेरोजगारीको समस्या घटेको छैन । बरु धेरै युवा रोजगारीको खोजीमा बिदेसिन बाध्य भएका छन् ।

जिल्ला समन्वय समितिका प्रमुख टंक खनालका अनुसार खानी क्षेत्रको रोजगारीमा पहिलो अधिकार स्थानीयकै हुनुपर्छ । तर गाउँ–गाउँमा मौलाएको पहुँच र बिचौलिया प्रवृत्तिका कारण वास्तविक विपन्न वर्ग अवसरबाट वञ्चित भइरहेको उनको भनाइ छ । “यदि खानीको प्रभावकारी अनुगमन गर्ने जिम्मेवारी जिल्ला समन्वय समितिलाई दिइयो भने यस्ता धेरै समस्या समाधान गर्न सकिन्छ,” उनले बताए ।

पाल्पाका तिनाउ, माथागढी, निस्दी र रैनादेवी छहरा गाउँपालिकामा हाल करिब एक दर्जन खानी उद्योग सञ्चालनमा छन् । तर यिनै खानी प्रभावित क्षेत्रका धेरै युवा रोजगारीको खोजीमा बिदेसिन बाध्य भएका छन् ।

स्थानीय सरकार यस्ता विषयमा प्रभावकारी रूपमा मौन बसेको र राजनीतिक तथा दलगत स्वार्थका कारण वास्तविक पीडितको आवाज ओझेलमा परेको स्थानीयको आरोप छ । खानी सञ्चालनबाट प्राकृतिक स्रोतको दोहन भइरहे पनि त्यसको प्रत्यक्ष लाभ स्थानीयले पाउन सकेका छैनन् । परिणामस्वरूप, खानीको धन्सारबाट करोडौँको कारोबार भइरहे पनि स्थानीय बस्तीमा बेरोजगारीको खात झन् बढ्दै गएको उनीहरूको बुझाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?