Butwal Today

अनुगमनका नाममा औपचारिकता !

२४ जेष्ठ २०८३, आइतबार
अ+
अ-

अहिले रुपन्देहीका विभिन्न पालिकामा बजार अनुगमन भइरहेको छ । अनुगमनका क्रममा विषादी हालिएको तरकारी बरामददेखि म्याद समाप्त भएका खाद्यान्न फेला परेका छन् ।

खास गरी पालिकाहरूले गर्ने अनुगमनमा मासु पसल, खाद्यान्न, तरकारी, मिठाई पसल लगायतमा अनुगमन गर्दा अवस्था फरक देखिने गरेको छ । स्वास्थ्यका मापदण्ड अनुसार खान मिल्ने सामाग्री विरलै भेटिन्छन् । यो भनेको उपभोक्ताको स्वास्थ्यमा ठुलो खेलवाड हुने गरेको छ ।

पालिकाले अनुगमन गर्ने, नसिहत दिने र कारबाहीको चेतावनी दिएपछि औपचारिकता पूरा हुन्छ । यो वर्षौँदेखिको निरन्तरता हो तर बजारमा सुधार आउन सकेको छैन । यो चिन्ताको कुरा हो । हो अहिले म्याद नाघेका, मूल्य सूचि उल्लेख नभएका तथा मिसावट भएका खाद्य सामाग्रीको बिगबिगीले सीमा नाघेको छ । बुटवलमा त हरेक दिन जसो तरकारीमा विषादी अत्यधिक भेटिएर नष्ट गर्नुपर्ने अवस्था छ ।

उपमहानगरपालिकाले गरेको अनुगमनमा बजार उपभोक्ताको हितमा भन्दा पनि स्वास्थ्यमाथि हानी पु¥याउने गरी खुला रूपमा विक्री वितरण भइरहेको छ । तर, पालिकाहरूले अनुगमनका नाममा औपचारिकता पूरा गरिरहेका छन् । अनुगमन हुँदा पनि सुधारको अवस्था देखिएको छैन । बरु बजारमा झनै विकृति बढेको छ । अधिकांश मासु पसल फोहर र खसीको भनेर अरू प्रकारका मासु विक्री गर्ने गरेको पाइएको छ ।

अव भन्नैपर्दछ– नेपालमा खाद्यवस्तुमा धेरै–थोरै मिसावट हुनु र म्याद गुज्रिएका वस्तु पाइनु नौलो कुरा होइन । जहाँबाट भए पनि उपभोक्तामाथि शोषण, दमन र उत्पीडनका काम भइरहेका छन् ।

यतिसम्मकी नाम चलेका कम्पनीबाट उत्पादित वस्तु तथा सामग्रीको अवस्था पनि त्यही छ । विक्री नहुँदा गोदाममा थन्किएका बस्तुको रिपेकेजिङ गर्ने र अर्को मिति राखेर बजारमा पठाउने काम रोखिएको छैन । प्याकेटमा बन्द खाद्यबस्तुको समस्या सवैभन्दा बढी छ ।

उता हरेक बर्ष दशैं तिहारमा सरकारी स्तरबाट गरिने अनुगमन औपचारिकताको लागि गरिने कुरा नौलो होइन । यो नियमित आकस्मिकता वनेको छ । साँचो अर्थमा उपभोक्ताको हितका लागि नै भनेर अनुगमन भएको छैन ।

सडकमा ट्राफिकले गर्ने सवारी जाँचदेखि सरकारी स्तरबाट हुने अनुगमनमा प्रश्न उठ्नु अस्वाभाविक छ । अनुगमनका क्रममा पानी, दुध, दुग्धजन्य पदार्थ, माछा–मासु, चामल, दाल, खाने तेल, पास्ता, दालमोठ, भुजिया, चाउचाउ, बिस्कुट, चक्लेट, मिठाइ र मिठाइजन्य पदार्थ, चियापत्ती, कफी, पेय पदार्थ, मदिरासहित विभिन्न प्रकारका ड्राइफुड खानयोग्य नभएको, मिसावटको मात्रा अधिक रहेको, गुणस्तरको नामोनिसान नरहेको पाइनुले वास्तवमा सवैभन्दा ठुलो प्रहार उपभोक्ताको स्वास्थ्यमाथि भइरहेको छ भन्दा अन्यथा हुँदैन ।

बुटवलमा आउने दुधमा समेत औषधी भेटिएपछि अरू कुरामा विषादी छैन भनेर कसरी विश्वास गर्नु ? सैनामैना, तिलोत्तमा, देवदह, शुद्धोधन, सिद्धार्थनगर लगायतका पालिकामा गरिने अनुगमनको नतिजा एउटै छ–अर्थात विषादीको प्रयोग ।

उपभोक्ताले कुनैपनि वस्तु स्वच्छ उपभोग गर्न नपाउनु भनेको मानव स्वास्थ्यमाथि कुन हदसम्मको खेलवाड भइरहेको छ भन्ने सहजै अनुमान गर्न सकिन्छ । अर्को विडम्वना के छ भने कतिपय अवस्थामा अनुगमन टोलीले पूर्वसूचना दिएका आधारमा समेत विक्रेताले त्यस्ता वस्तु गायव गरेको समेत तथ्य प्रमाणित भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार पिउने पानीमा समेत दुषित पदार्थ फेला परेको छ ।

बुटवलमा वितरण हुने दुधमा युरिया मिसाएको पाइएको छ । उपभोक्ताको स्वास्थ्यमा हानी पु¥याउने, ठगी गर्ने, गैरकानुनी ढंगले त्यस्ता वस्तुको कारोबार गर्ने व्यक्ति तथा संस्थालाई कारबाही गर्ने कानुनी प्रावधान नभएको पनि होइन तर बजारमा पटक–पटक अखाद्य वस्तु भेटिँदा बजार अनुगमन कुन ढंगले हुन्छ भन्ने प्रश्नसमेत उठ्ने गरेको छ ।

तसर्थ अवको दिनमा अनुगमनलाई औपचारिक मात्रै नबनाऔं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?