Butwal Today

मायादेवी पूर्ण खोप दिगोपना सुनिश्चित पालिका

१९ जेष्ठ २०८३, मंगलवार
अ+
अ-

कपिलवस्तु ।  कपिलवस्तु जिल्लाको दश वटा मध्य सातौँ पालिकाको रूपमा मायादेवी गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित पालिका घोषणा गरिएको छ ।

पालिकामा आयोजित कार्यक्रमका बिच जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले मायादेवी गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित पालिका घोषणा गरेका हुन ।

कार्यक्रममा समन्वय प्रमुख आचार्य, स्वास्थ्य कार्यालयका खोप फोकल पर्सन केदार साहले पालिकाका अध्यक्ष बलिउद्दिन मुसलमान, उपाध्यक्ष सरस्वती यादव, प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र यादव, स्वास्थ्य शाखा प्रमुख महेन्द्र यादव र वडा अध्यक्षहरूलाई पूर्ण खोप दिगोपना सुनिश्चित पालिका घोषणाको प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

सो अवसरमा अध्यक्ष बलिउद्दिन मुसलमानले पालिकामा गरिएको लाइन लिष्टिगंमा जन्मे देखी १५ महिना सम्मका १ हजार २ सय २८ र १६ देखी ५९ महिना अवधिका २ हजार ३ सय ८२ बालबालिका रहेको जनाए ।

सर्वेक्षणका क्रममा खोप छुटाएका १ सय ४३ बालबालिकालाई खोपको दायरा पुरा गरे सँगै पालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित पालिका घोषणा गर्न थालिएको उनले स्पष्ट पारे ।

पालिकाको स्वास्थ्यका समग्र सूचकहरू पुरा गराउनका लागी पालिका तत्पर रहेको जनाउँदै उनले स्वास्थ्यकर्मीलाई समेत स्वास्थ्यका सूचक पुरा गराउन गम्भीर हुन निर्देशन दिए ।

पालिकाले जिल्लामा सातौँ पालिकाको रूपमा घोषणा गराउन सफल भए पनि आगामी दिनमा बालबालिका खोपमै छुट्ने लापरबाही कार्यमा सुधार गर्न आवश्यक रहेको जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले सुझाव दिए । खोप छुट्ने अवस्था आउन नदिन स्वास्थ्यकर्मी थप जिम्मेवार बन्न आवश्यक रहेको उनको भनाई थियो ।

घरमै हुने प्रसूति न्यूनीकरण गर्न संस्थागत सुत्केरी, नसर्ने रोग बारे सचेतना र पोषण अवस्थाको लेखाजोखालाई गम्भीर रूपमा अगाडी बढाउन आवश्यक रहेकोमा आचार्यले जोड् दिए ।

पालिकाले पूर्ण खोप दिगोपना सुनिश्चित पालिका घोषणाको कार्य सम्पन्न गरे सँगै अवसर र आगामी दिनमा थप निगरानी वृद्धिको चुनौती समेत थपिएको प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र यादवको भनाई थियो । पालिकाले स्वास्थ्यका सूचकलाई पुरा गर्ने गरि आगामी योजनालाई अगाडी बढाउने उनले बताए ।

जन्मिए देखी १५ महिना तथा १६ देखी ५९ महिनाका बालबालिकाको लाइन लिस्ष्टिगं सँगै खोज र खोप अभियानका कारण पालिका घोषणाको कार्य सम्भव हुन सकेको मायादेवी गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख महेन्द्र यादवले बताए ।

स्वास्थ्य कार्यालय कपिलवस्तुका खोप फोकल पर्सन केदार साहले जिल्लालाई पूर्ण खोप दिगोपना सुनिश्चित गराउने कार्यका लागी सातौँ पालिकाको रूपमा मायादेवी गाउँपालिका घोषणाले सहयोग पुगेको बताए ।

वरिष्ठ समाजसेवी लोकनाथ शर्मा, स्वास्थ्यकर्मी सरिता गुप्ता, महिला स्वास्थ्य स्वयंसेविका कमला भट्टराई लगायतले सबैको सहकार्यमा पालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित पालिका घोषणा गर्न सफल भएको र आगामी दिनमा पनि खोप सम्बन्धित सचेतना प्रवाह गर्न सहकार्य अभिवृद्धि गरिने प्रस्ट्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?