Butwal Today

प्राचीन पोखरी संरक्षणमा वन कार्यालयको चासो

१८ जेष्ठ २०८३, सोमबार
अ+
अ-

नवलपरासी । भगवान् गौतम बुद्धको अष्ट धातु रहेको विश्व प्रसिद्ध रामग्राम स्तूपसँग जोडिएको ऐतिहासिक तथा धार्मिक महत्वको सङ्घाराम क्षेत्रस्थित प्राचीन पोखरी संरक्षणमा डिभिजन वन कार्यालयले चासो देखाएको छ ।

जैविक विविधता संरक्षण, जलस्रोत व्यवस्थापन तथा बौद्ध तीर्थयात्रीहरूको आध्यात्मिक अभ्यास स्थलका रूपमा रहेको उक्त पोखरीको संरक्षणका लागि डिभिजन वन कार्यालय नवलपरासीका प्रमुख राजु क्षेत्रीले स्थलगत निरीक्षण गरेका हुन् । निरीक्षणपछि उनले तत्काल तीन लाख रुपैयाँको प्रारम्भिक लगानीमा संरक्षण कार्य सुरु गरिने जानकारी दिए ।

क्षेत्रीले पोखरीको दीर्घकालीन संरक्षण र व्यवस्थापनका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न आवश्यक रहेको बताउँदै त्यसपछि यसको ऐतिहासिक तथा मौलिक स्वरूप झल्किने गरी संरक्षण र विकास गर्न सकिने बताए । उनले डीपीआर तयार गर्ने जिम्मेवारी रामग्राम नगरपालिकाले लिनुपर्ने आवश्यकता औँल्याए ।

स्थानीय बासिन्दा तथा बौद्ध भिक्षुहरूले विगतदेखि नै उक्त पोखरी संरक्षणको माग गर्दै आएका थिए । बौद्धकालीन समयमा भिक्षुहरूले स्नान तथा साधना गर्ने स्थलका रूपमा प्रयोग गरिने भएकाले पोखरीको धार्मिक र ऐतिहासिक महत्त्व रहेको बताइन्छ ।

रामग्राम नगरपालिका–१७ का वडाध्यक्ष कनहैया मौर्यका अनुसार बुद्धकालीन उक्त पोखरीबाट केही पुरातात्त्विक महत्वका शिलाखण्डहरू समेत फेला परेका छन्, जसलाई हाल पोखरी किनारमा सुरक्षित राखिएको छ ।

“बुद्धसँग यो पोखरी र सङ्घाराम क्षेत्रको गहिरो सम्बन्ध छ,” मौर्यले भने, “आज पनि बौद्ध भिक्षुहरूले यसलाई आध्यात्मिक साधनाका लागि उपयुक्त स्थलका रूपमा लिने गरेका छन् ।”

विगतमा स्थानीयले भैँसी नुहाउन, खेतीपातीका लागि सिँचाइ गर्न तथा अन्य दैनिक प्रयोजनमा प्रयोग गर्ने गरेको पोखरीप्रति पछिल्लो समय धार्मिक तथा पर्यटन क्षेत्रबाट समेत चासो बढ्दै गएको उनले बताए । उनका अनुसार सङ्घाराम क्षेत्रमा बसोबास गर्ने भिक्षुहरूले समेत यसको उपयोग गर्दै आएका छन् ।

हाल वडा स्तरबाट सम्भव भएसम्म संरक्षणका काम भइरहे पनि यसको समग्र संरक्षण र व्यवस्थापनका लागि नगरपालिका, प्रदेश सरकार तथा सङ्घीय सरकारको समेत सहयोग आवश्यक रहेको मौर्यको भनाइ छ ।

करिब पाँच बिघा क्षेत्रफलमा फैलिएको उक्त पोखरीको पश्चिमी किनारमा हालसम्म ९० मिटर लामो पक्की तटबन्ध निर्माण गरिएको छ । आगामी दिनमा संरक्षण कार्यलाई थप विस्तार गर्ने योजना रहेको जनाइएको छ ।

रामग्राम स्तूपको पूर्वतर्फ अवस्थित देवगाउँ क्षेत्रलाई ऐतिहासिक सङ्घाराम स्थलका रूपमा पहिचान गरिएको छ । सो क्षेत्रमा पुरातात्त्विक महत्वका सामग्रीहरू समेत फेला परेका छन् । पुरातत्त्व विभागले पनि उक्त स्थानलाई प्राचीन स्मारक क्षेत्रका रूपमा चिनाउँदै सूचना बोर्ड स्थापना गरेको छ ।

इतिहासविद्हरूका अनुसार ‘सङ्घाराम’ शब्दले बौद्ध भिक्षुहरूको बसोबास तथा साधना गर्ने मठ वा विहारलाई जनाउँछ । बौद्ध सभ्यता र संस्कृतिसँग प्रत्यक्ष सम्बन्ध रहेको यस्तो स्थलको संरक्षणले रामग्राम क्षेत्रको ऐतिहासिक महत्वलाई थप उजागर गर्ने अपेक्षा गरिएको छ ।

सङ्घाराम क्षेत्रसँगै जोडिएको स्थानमा दक्षिण कोरियाली नागरिकहरूको सहयोगमा बौद्ध भिक्षु तथा पर्यटकका लागि आवाससहितको विहार निर्माण कार्यसमेत भइरहेको स्थानीयवासी बताउँछन् । यसले सङ्घाराम क्षेत्रलाई अन्तर्राष्ट्रिय बौद्ध पर्यटन गन्तव्यका रूपमा विकास गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

रामग्राम स्तूप विश्वका बौद्ध धर्मावलम्बीहरूको विशेष श्रद्धाको केन्द्र मानिन्छ । बौद्ध परम्पराअनुसार भगवान् बुद्धको महापरिनिर्वाणपछि वितरण गरिएका अष्टधातुमध्ये एउटा भाग कोलिय राजाहरूले प्राप्त गरी रामग्राममा स्तूप निर्माण गरेका थिए । सम्राट् अशोकले अन्य स्तूपहरू उत्खनन गरी धातु वितरण गरे पनि नाग वंशीहरूको आग्रहमा रामग्राम स्तूप भने नखोलेको धार्मिक विश्वास छ ।

यस कारण रामग्राम स्तूपलाई बुद्धका धातु अवशेष सुरक्षित रहेको विश्वकै एक मात्र मौलिक अवस्थाको स्तूप मानिन्छ । हाल यो क्षेत्र विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रक्रियामा रहेको छ भने युनेस्को र पुरातत्त्व विभागले समेत संरक्षण तथा अध्ययनका विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?