Butwal Today

३ हजार ५ सय परिवारलाई बकरइदमा पोषण सहयोग

१५ जेष्ठ २०८३, शुक्रबार
अ+
अ-

कपिलवस्तु । कपिलवस्तु जिल्लाका चार पालिकाका ३ हजार ५ सय बढी परिवारका सदस्यलाई इद उल अजहा (बकरइद) को अवसरमा पोषण तथा खाद्य सामाग्री वितरण कार्यक्रम अन्तर्गत मासु वितरण सुरु गरिएको छ ।

इस्लामिक रिलिफ वल्र्ड वाईडको आर्थिक सहयोगमा लुम्बिनी एकीकृत विकास संस्था (लिडो नेपाल) ले गरिब, विपन्न र पछाडि परेका समुदायका ३ हजार ५ सय ६४ परिवारलाई खसी र राँगाको मासु वितरण गरेको हो ।

एक कार्यक्रमका बिच जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्य, उपप्रमुख रमेश कुर्मी, मायादेवी–२ का वडाध्यक्ष महम्मद हुसेन मुसलमान, गैसस महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुसिला बेल्बासे, कपिलवस्तु अध्यक्ष जयप्रकाश पाण्डेय, लिडो नेपालकी कार्यकारी निर्देशक सुनिता बेल्बासे लगायत मायादेवी–२ अभिरावमा खसीको मासु वितरण गरेका थिए ।

त्यसै गरी संस्थाका अध्यक्ष अतहर कमाल समेत सहयोग कार्यक्रमको अनुगमन गरेका थिए । कार्यक्रम अन्तर्गत बाणगंगा नगरपालिका वडा नम्बर ११ को वनकटवा, कपिलवस्तु नगरपालिका वडा नम्बर ११ को रेहरा, मायादेवी गाउँपालिका २ को अभिराव र ४ को पिपरा तथा शुद्धोदन गाउँपालिका वडा नम्बर १ पतरियामा १ हजार ८ सय ४८ परिवारलाई प्रति परिवार दुई केजीको दरले खसीको मासु तथा १ हजार ७ सय १६ परिवारलाई प्रति परिवार पाँच केजीको दरले रागाको मासु उपलब्ध गराउने जनाइएको छ ।

खाद्य तथा पोषण सहयोग कार्यक्रम अन्तर्गत बकरइदमा मासु सहयोग गरेर पोषणबाट वञ्चित परिवारको पोषणको अवस्थामा सुधार ल्याउन कार्यक्रम गरिएको लिडो नेपालकी कार्यकारी निर्देशक सुनिता बेल्बासेले जानकारी दिइन् ।

गरिब र विपन्न समुदायसँगै प्रकोप प्रभावित, गर्भवती महिला भएका परिवार, बालबालिका भएका परिवार, एकल महिला, दीर्घ रोगी भएका परिवारसँगै विभिन्न सङ्क्रामक रोगमा परेका परिवारलाई प्राथमिकता दिई लाभग्राही छनौट गरिएको उनले जनाइन् ।

गरिबीको रेखामुनी रहेका सबै समुदायलाई समेटेर गुणस्तरीयताको मापदण्डलाई पालना गरी पोषण सुधारका लागि मासु वितरण गर्ने कार्य राम्रो लागेको जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले बताए । इस्लाम धर्मावलम्बीको महान् चाडको अवसर पारेर वास्तविक लाभग्राही छनौट गरी सम्बन्धित स्थानमै पुगेर पारदर्शी रूपमा सहयोग हस्तान्तरण गरिनु सकारात्मक पक्ष भएको उनले बताए ।

कार्यक्रम अन्तर्गत पहिलो दिन खसीको मासु वितरण गरिएको छ भने दोस्रो दिन राँगाको मासु वितरण हुने जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?