Butwal Today

अनधिकृत संरचना हटाइँदै

१४ जेष्ठ २०८३, बिहीबार
अ+
अ-

गण्डकी ।  पोखरा महानगरपालिका–९ पृथ्वी चोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी विभिन्न सङ्घसंस्थाले बनाएका अनधिकृत भवनमा महानगरले आज डोजर चलाएको छ ।

हङ्कङ बजारको पूर्व पट्टी रहेका नेपाल ट्रेड युनियन काँग्रेस, जिफन्ड गण्डकी, सामुदायिक प्रहरी, सहारा क्लब, हिमाली सांस्कृतिक परिवारको भवन, सार्वजनिक शौचालयलगायतका संरचना हटाउन सुरु गरिएको हो ।

सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा दुई वटा डोजर प्रयोग गरेर संरचना हटाउन थालिएको हो । महानगरले संरचना हटाउने पूर्व सूचना गरेपछि सङ्घसंस्था र व्यवसायीले भवन तथा सटर आफैँ खाली गरेका थिए । महानगर प्रमुख धनराज आचार्यले अतिक्रमित संरचना हटाएर दुई लेनको सडक निर्माण गरिने बताए ।

उक्त सडक निर्माणपछि पृथ्वीचोकको ट्राफिक व्यवस्थापन सहज हुने उनको भनाइ छ ।

पोखरा उपत्यका नगर विकास समितिको जग्गा अतिक्रमण गरेर विभिन्न सङ्घसंस्थाले भवन बनाइ सटर भाडामा लगाउँदै आएका थिए । महानगरपालिकाले आयोजना गरेको सर्वदलीय सर्वपक्षीय छलफलपछि राजनीतिक दलका भातृसंस्थालगायतले भवन खाली गर्न राजी भएका थिए ।

महानगर र उपत्यका नगर विकास समितिले गत वैशाख पहिलो साता सूचना जारी गरी अतिक्रमित संरचना खाली गराउन निर्देशन दिएको थियो । उक्त सूचनाको म्याद सकिएपछि बिहीबारदेखि महानगरले संरचना हटाउन सुरु गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?