© 2026
पाल्पा । पाल्पाका स्थानीय तहहरूले बेरुजु रकम घटाउन सफल भएका छन् । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३ औँ वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/०८२ मा जिल्लाका १० स्थानीय तहमा कुल १३ करोड ९६ लाख ५२ हजार रुपैयाँ बेरुजु देखिएको छ ।
गत आर्थिक वर्षमा जिल्लाका स्थानीय तहहरूको १५ अर्ब २० करोड ७० लाख ९६ हजार रुपैयाँको लेखा परीक्षण गरिएकोमा ० दशमलव ९२ प्रतिशत रकम बेरुजु देखिएको हो । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा १ दशमलव ५३ प्रतिशत अर्थात् २० करोड ३८ लाख ९४ हजार रुपैयाँ बेरुजु रहेको थियो ।
यस्तै आर्थिक वर्ष २०७९/०८० मा २ दशमलव १८ प्रतिशत अर्थात् २७ करोड ९० लाख ९२ हजार रुपैयाँ बेरुजु देखिएको थियो । यसले जिल्लाका स्थानीय तहमा बेरुजु क्रमशः घट्दै गएको देखाएको छ ।
प्रतिवेदनअनुसार दुई नगरपालिका र आठ गाउँपालिकामध्ये गत आर्थिक वर्षमा प्रतिशतको आधारमा सबैभन्दा बढी निस्दी गाउँपालिका र सबैभन्दा कम रैनादेवी छहरा गाउँपालिका र तिनाउ गाउँपालिकामा देखिएको छ ।
महालेखाले निस्दीगाउँपालिकामा २ दशमलव ८३ प्रतिशत, पूर्व खोला गाउँपालिकामा १ दशमलव ४४ प्रतिशत, तानसेन नगरपालिकामा १ दशमलव ०२ प्रतिशत, बगनासकाली गाउँपालिकामा ० दशमलव ९२ प्रतिशत, रम्भा गाउँपालिकामा ० दशमलव ७८ प्रतिशत, रामपुर नगरपालिकामा ० दशमलव ६८ प्रतिशत, माथागढी गाउँपालिकामा ० दशमलव ५९ प्रतिशत, रिब्दीकोट गाउँपालिकामा ० दशमलव ४१ प्रतिशत, तिनाउ गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकामा ० दशमलव २९ प्रतिशत बेरुजु औँल्याएको छ ।
प्रतिवेदनअनुसार तानसेन नगरपालिकामा ३ अर्ब १७ करोड ६८ लाख ११ हजार लेखा परीक्षण गर्दा ३ करोड २४ लाख ३६ हजार बेरुजु देखिएको छ । रामपुर नगरपालिकामा १अर्ब ७१ करोड ३७ लाख ४८ हजार लेखा परीक्षण गर्दा १ करोड १६ लाख १० हजार बेरुजु औँल्याएको छ ।
यस्तै तिनाउ गाउँपालिकाको १ अर्ब १४ करोड ६२ लाख ३५ हजार लेखा परीक्षण गर्दा ३२ लाख ९० हजार, निस्दी गाउँपालिकाको १ अर्ब ३१ करोड ३३ लाख १५ हजार लेखा परीक्षण गर्दा ३ करोड ७१ लाख ८१ हजार, पूर्व खोला गाउँपालिकाको १ अर्ब ५ करोड ३० लाख ८८ हजार लेखा परीक्षण गर्दा १ करोड ५१ लाख ३४ हजार, बगनासकाली गाउँपालिकाको १ अर्ब ३७ करोड ४९ लाख लेखा परीक्षण गर्दा १ करोड २६ लाख ६१ हजार, माथागढी गाउँपालिकाको १ अर्ब ४० करोड ६५ लाख ५० हजार लेखा परीक्षण गर्दा ८२ लाख ३८ हजार, रम्भा गाउँपालिकाको १ अर्ब १८ करोड ९९ लाख७५ हजार लेखा परीक्षण गर्दा ९३ लाख २१ हजार, रिब्दीकोट गाउँपालिकाको १ अर्ब २८ करोड ११ लाख ०५ हजार लेखा परीक्षण गर्दा ५२ लाख ६६ हजार र रैनादेवी छहरा गाउँपालिकाको १ अर्ब ५५ करोड १३ लाख ६९ हजार लेखा परीक्षण गर्दा ४५ लाख १५ हजार बेरुजु देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।