Butwal Today

करोड नजिक खर्च, बुद्ध स्थल बेहाल: लाख खर्चेर बनाइएको प्रतिमा–बगैँचा अलपत्र

११ जेष्ठ २०८३, सोमबार
अ+
अ-

बुटवल । जेठ–कपिलवस्तुको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको आरौराकोट क्षेत्र संरक्षण अभावमा ओझेलमा पर्दै गएको छ ।

कनकमुनि बुद्धसँग जोडिएको स्थलको प्रचार–प्रसार गर्ने उद्देश्यले निर्माण गरिएको प्रतिमा र बगैँचा चार वर्ष नपुग्दै अलपत्र अवस्थामा पुगेपछि स्थानीयवासीले सम्बन्धित निकायप्रति गुनासो गरेका छन् ।

कपिलवस्तुको निग्लिहवा–आरौराकोट क्षेत्रमा लुम्बिनी प्रदेश सरकार र डिभिजन वन कार्यालयको सहयोगमा ९० लाख ६ हजार ७ सय ९९ रुपैयाँ लागतमा कनकमुनि बुद्धको प्रतिमा सहितको बगैँचा निर्माण गरिएको थियो ।

तत्कालीन मुख्यमन्त्री शङ्कर पोखरेलले २०७८ साल असार २६ गते उक्त संरचनाको उद्घाटन गरेका थिए । तर अहिले बगैँचा संरक्षणविहीन बनेको छ भने त्यहाँ पुग्ने सडकसमेत जीर्ण अवस्थामा पुगेको स्थानीयको भनाइ छ ।

स्थानीय राधेश्याम बरईले धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको क्षेत्रमा प्रतिमा निर्माण सकारात्मक काम भए पनि त्यसपछिको संरक्षण र व्यवस्थापनमा कसैले चासो नदिएको बताए । उनका अनुसार लाखौँ रुपैयाँ खर्च गरेर प्रतिमा बनाइए पनि पर्यटक सहज रूपमा पुग्ने वातावरण तयार हुन सकेको छैन । “प्रतिमा बनाएर मात्रै हुँदैन, त्यहाँ पुग्ने बाटो, सूचना र संरक्षण पनि हुनुपर्छ,” उनले भने ।

बरईका अनुसार कनकमुनि बुद्धले बाल्यकाल र वैवाहिक जीवन बिताएको मानिने आरौराकोट क्षेत्रको उत्खनन तथा अनुसन्धानमा अपेक्षित काम हुन सकेको छैन । ऐतिहासिक महत्त्व बोकेको क्षेत्र प्रचार अभावका कारण ओझेलमा परेको उनको गुनासो छ ।

बुद्धकालीन इतिहाससँग जोडिएको निग्लिहवा क्षेत्र बौद्ध धर्मावलम्बीका लागि महत्त्वपूर्ण मानिन्छ । गौतम बुद्धभन्दा अघिका बुद्धमध्ये कनकमुनि बुद्धसँग सम्बन्धित स्थलको रूपमा यस क्षेत्रलाई चिनिन्छ ।

इतिहासअनुसार भारतका सम्राट् अशोकले लुम्बिनी भ्रमणपछि निग्लिहवा क्षेत्रमा पनि तीर्थाटन गरेका थिए । भ्रमणको स्मरण स्वरूप स्थापना गरिएको अशोक स्तम्भ अहिले पनि त्यहाँ अवस्थित छ ।

तर यस्ता ऐतिहासिक सम्पदाको दीर्घकालीन संरक्षण र पर्यटन पूर्वाधार विकासमा राज्यको ध्यान पुग्न नसकेको स्थानीयको आरोप छ । कपिलवस्तु नगरपालिका–११ का वडाध्यक्ष राम गोपाल यादवले वडा कार्यालयसँग पर्याप्त बजेट नभएकाले सङ्घ, प्रदेश सरकार र लुम्बिनी विकास कोषले विशेष योजना ल्याउनुपर्ने बताए । उनका अनुसार अघिल्ला वर्षमा प्रदेश सरकारले प्रतीक्षालय र फुटपाथ निर्माण गरेको भए पनि समग्र क्षेत्र विकासका लागि त्यो पर्याप्त छैन ।

लुम्बिनी विकास कोष कपिलवस्तुका प्रमुख माधवप्रसाद आचार्यले प्रतिमा र बगैँचा प्रदेश सरकार तथा वन कार्यालयको स्वामित्वमा रहेकाले कोषले प्रत्यक्ष रूपमा काम गर्न नसक्ने बताए । उनले खाली प्रतिमा निर्माण गरेर मात्रै धार्मिक पर्यटन प्रवर्द्धन नहुने उल्लेख गर्दै त्यसको संरक्षण, प्रचार र व्यवस्थापनमा सम्बन्धित निकाय गम्भीर हुनुपर्ने धारणा राखे ।

यता डिभिजन वन कार्यालय कपिलवस्तुका वन अधिकृत यादव सापकोटाले सरकार परिवर्तन र मन्त्रालयको जिम्मेवारी फेरबदलका कारण योजनाले निरन्तरता पाउन नसकेको स्वीकार गरे । उनका अनुसार वन, वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालयसँग समन्वय गरेर क्षेत्र विकासका लागि छलफल भइरहेको छ । स्थानीय तहको सक्रियता बिना संरक्षण सम्भव नहुने उनको भनाइ छ ।

प्राचीन कपिलवस्तु नगरी गौतम बुद्धले २९ वर्ष बिताएको क्षेत्रका रूपमा विश्वभर परिचित छ । बुद्धका पिता राजा शुद्धोदनले शासन गरेको भूमि भएकाले पनि यो क्षेत्र पुरातात्त्विक, ऐतिहासिक र धार्मिक दृष्टिले महत्त्वपूर्ण मानिन्छ ।

तर यस्ता सम्पदाको संरक्षणभन्दा प्रतीकात्मक संरचना निर्माणमा मात्रै राज्य केन्द्रित हुँदा बुद्धसँग सम्बन्धित थुप्रै स्थल क्रमशः ओझेलमा पर्न थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?