Butwal Today

मालपोत छ, बैङ्क छैन

४ जेष्ठ २०८३, सोमबार
अ+
अ-

पाल्पा । भूमि स्वामित्व हस्तान्तरण तथा जग्गा रजिस्ट्रेसन जस्ता सेवाका लागि स्थानीय सरकारको सिफारिससहित रैनादेवी छहरा गाउँपालिकाको जुठा पौवाबाट मालपोत कार्यालय तानसेन पुगेका सेवाग्राहीलाई बैङ्किङ प्रक्रियाका कारण थप सास्ती भोग्नुपरेको छ ।

मालपोत कार्यालय तानसेनमा आउने सेवाग्राहीले राजस्व बुझाउन बैङ्कसम्म पुग्नुपर्ने व्यवस्था भए पनि कार्यालय नजिक बैङ्कको शाखा नहुँदा सर्वसाधारणलाई समस्या भएको हो । मालपोत कार्यालयबाट करिब आधा घण्टाको पैदल दूरीमा मात्रै बैङ्क सुविधा उपलब्ध भएकाले सेवाग्राहीलाई समय र खर्च दुवै बढेको छ ।

रैनादेवी छहरा–जुठा पौवाबाट आएका दिलबहादुर थापाले काम सम्पन्न गर्न दुई दिन लाग्नुपरेको अनुभव सुनाए । त्यस्तै माथागढी गाउँपालिका–६ का ६३ वर्षीय सन्तबहादुर ढेंगाले रजिस्ट्रेसन पासका लागि तानसेनमै बास बस्नुपरेको बताए । “बैङ्कको कामका लागि उकालो हिँड्नुपर्छ, त्यसले धेरै समस्या भएको छ,” उनले भने ।

दैनिक औसत ३० वटा जति जग्गा रजिस्ट्रेसन हुने मालपोत कार्यालयमा प्रतिदिन लाखौँ रुपैयाँ बराबरको राजस्व सङ्कलन हुने गरेको छ । तर यति ठुलो आर्थिक कारोबार हुने कार्यालय नजिक बैङ्क काउन्टर नहुनु सेवाग्राहीका लागि ‘अव्यवस्थित सेवा प्रणाली’ भएको स्थानीयको गुनासो छ ।

तिनाउ गाउँपालिका–मस्यामका स्थानीय सुरेश थापाले बैङ्कको नाममा नागरिकलाई दुःख दिइएको टिप्पणी गरे । लेखापढी व्यवसायीहरूले पनि मालपोत, नापी तथा अन्य सरकारी कार्यालय एकै क्षेत्रमा रहेको अवस्थामा बैङ्क शाखा नहुनु प्रशासनिक कमजोरी भएको बताएका छन् ।

तानसेन बजार क्षेत्रमा दुई दर्जनभन्दा बढी बैङ्क तथा वित्तीय संस्थाले शाखा सञ्चालन गरे पनि मालपोत कार्यालय परिसरमा बैङ्क काउन्टर नहुँदा समस्या बढेको हो । नेपाल बैङ्क लिमिटेडले त्रिभुवन बहुमुखी क्याम्पस र नगरपालिका परिसरमा राजस्व सङ्कलन काउन्टर सञ्चालन गरे पनि मालपोतमा सुबिधा नहुनु असन्तोषजनक भएको सेवाग्राहीको भनाइ छ ।

कार्यालय प्रमुख दुर्गाप्रसाद खनालका अनुसार तीन वर्षअघि एनआईसी एसिया बैङ्कले शाखा विस्तार गर्ने निर्णय गरेको भए पनि पछि विविध कारण देखाउँदै प्रक्रिया अघि बढ्न सकेन । “बैङ्क नहुँदा सेवाग्राहीलाई समस्या भएको कुरा सत्य हो,” उनले स्वीकार गरे ।

स्थानीयले मालपोत, नापी, घरेलु तथा अन्य सरकारी सेवा केन्द्र नजिकै बैङ्क शाखा स्थापना गर्न सम्बन्धित निकाय र स्थानीय सरकारलाई तत्काल पहल गर्न माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?