© 2026
बुटवल । लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाको सङ्ख्या ह्वात्तै बढेको छ । दुर्घटनाको ग्राफ बर्सेनि उकालो लाग्दै जाँदा सरकारी निकायले सञ्चालन गरेका दुर्घटना न्यूनीकरणका प्रयास प्रभावकारी बन्न नसकेको देखिएको छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार चालु आर्थिक वर्षमा प्रदेशभर ४ हजार ४ सय ८८ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा परी ४ सय ९३ जनाको मृत्यु भएको छ भने ७ हजार ५ सय ८ जना घाइते भएका छन् ।
गत वर्ष प्रदेशमा २ हजार ५ सय २९ वटा मात्रै दुर्घटना भएका थिए । यस वर्ष दुर्घटनाको सङ्ख्या झन्डै दोब्बरले बढेको तथ्याङ्कले देखाएको छ । दुर्घटना नियन्त्रणका लागि ट्राफिक प्रहरीले विभिन्न अभियान सञ्चालन गरे पनि अपेक्षित सफलता प्राप्त हुन सकेको छैन ।
विशेष गरी रातिको समयमा मोटरसाइकल पड्काउँदै ठुलो आवाज निकालेर हिँड्ने चालकविरुद्ध प्रहरीले कडाइ थालेको छ । एक वर्षको अवधिमा यस्ता ५ सय ७२ जना मोटरसाइकल चालकलाई कारबाही गरिएको छ । उनीहरूबाट ४७ लाख ५८ हजार रुपैयाँ राजस्व सङ्कलन गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै, ओभर लोड सामान बोकेर चल्ने मालवाहक सवारीमाथि पनि व्यापक कारबाही गरिएको छ । ट्राफिक प्रहरीले एक वर्षमा २४ हजार २ सय ६६ वटा सवारीसाधनलाई कारबाही गर्दै ४ करोड १८ लाख २६ हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन गरेको जनाएको छ ।
ओभर लोड बोकेका १ हजार ४ सय ४९ वटा सवारीलाई थप कारबाहीका लागि यातायात व्यवस्था कार्यालय पठाइएको थियो । ती सवारीबाट मात्रै १ करोड ४३ लाख ७० हजार ८ सय रुपैयाँ जरिवाना असुल गरिएको कार्यालय प्रमुख प्रहरी उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिए ।
लागु औषध सेवन गरेर सवारी चलाउने चालकविरुद्ध पनि ट्राफिक प्रहरीले निगरानी बढाएको छ । ‘लापसे’ चेकजाँचका क्रममा ३९ जना चालक कारबाहीमा परेका छन् भने मादक पदार्थ सेवन गरेर सवारी चलाउने ४ हजार ७ सय ७५ जना चालकलाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सार्वजनिक सवारी चलाउने चालकले मापसे वा लापसे गरेको पाइएमा अब लाइसेन्स ६ महिनासम्म निलम्बन गर्ने तयारी भइरहेको छ ।
यस अवधिमा नियम विपरीत गाडीमा थपिएका ५ सय ८३ वटा सिट हटाइएको छ भने बिना अनुमति छत बनाएर सामान बोकेका ८२ वटा सवारीबाट ‘हु प्रट’ हटाइएकोहरीले जनाएको छ ।
दुर्घटनामा सबैभन्दा बढी संलग्न हुने सवारीसाधनमा मोटरसाइकल रहेको तथ्याङ्कले देखाएको छ । एक वर्षमा मोटरसाइकलका मात्रै ३ हजार ९ सय ३३ दुर्घटना भएका छन् । त्यसपछि कार–जिपका ६ सय ८, ट्याम्पोका ४ सय ६५, रिक्साका ४ सय ४१, बसका १ सय ८२, ट्र्याक्टरका १ सय ७६, ट्रक–ट्याङ्करका १ सय ७९, माइक्रोका १ सय ८ र टिप्परका ९४ दुर्घटना भएका छन् ।
सडक अनुशासनको कमी, तीव्र गति, मापसे, ओभर लोड र कमजोर निगरानीका कारण दुर्घटनाको जोखिम बढ्दै गएको भन्दै ट्राफिक प्रहरीले चालक र यात्रु दुवैलाई सतर्क रहन आग्रह गरेको छ ।