Butwal Today

राष्ट्रपति रनिङ शिल्डः कमजोर पूर्वाधारप्रति खेलाडी–प्रशिक्षकको असन्तुष्टि

२९ बैशाख २०८३, मंगलवार
अ+
अ-

बुटवल । रुपन्देहीमा जारी जिल्ला स्तरीय १६ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता खेलभन्दा बढी अव्यवस्था र कमजोर व्यवस्थापनका कारण चर्चामा छ । प्रतियोगितामा सहभागी खेलाडी, प्रशिक्षक तथा खेलसम्बद्ध व्यक्तिहरूले अव्यवहारिक खेल तालिका, मापदण्ड नपुगेका खेलस्थल र कमजोर व्यवस्थापनप्रति तीव्र असन्तुष्टि जनाएका छन् ।

उनीहरूका अनुसार यिनै कारणले प्रतियोगिताप्रति आकर्षण घट्दै गएको छ भने जिल्लाका १६ स्थानीय तहमध्ये ६ वटा पालिका सहभागी नै भएनन् ।
बुटवल उपमहानगरपालिकाको सहकार्यमा रुपन्देही जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा यसपटक केवल १० पालिकाको सहभागिता रहेको छ ।

खेलकुद क्षेत्रका जानकारहरूका अनुसार स्थानीय तहहरूको न्यून सहभागिताले नै प्रतियोगिताको कमजोर तयारी र व्यवस्थापनलाई उजागर गरेको छ । एक प्रशिक्षकले नाम उल्लेख नगर्ने शर्तमा भने, “जिल्लाका १६ पालिकामध्ये केवल १० पालिका सहभागी हुनु आफैँमा गम्भीर विषय हो । यसले आयोजक पक्षको समन्वय र व्यवस्थापन कमजोर रहेको स्पष्ट देखाउँछ ।”

प्रतियोगिताको उद्घाटन कार्यक्रम देविनगरस्थित एन्फा एकेडेमीमा गरिए पनि खेलहरू दीप बोर्डिङ स्कुल, नवीन औद्योगिक कदर–रिता माध्यमिक विद्यालय, जिल्ला खेलकुद विकास समिति परिसर तथा न्यू होराइजन स्कुललगायत सात फरक स्थानमा सञ्चालन भइरहेका छन् । खेलाडी तथा प्रशिक्षकहरूले विद्यालयका साधारण मैदानमा राष्ट्रपति कप स्तरको प्रतियोगिता सञ्चालन गर्नु उपयुक्त नभएको बताएका छन् ।

उनीहरूको गुनासो खेलस्थलको मापदण्डमा मात्रै सीमित छैन । कतिपय खेलहरू विद्यालयकै ब्यानरमा सञ्चालन गरिएकाले राष्ट्रपति रनिङसिल्ड प्रतियोगिताको गरिमा नै कमजोर भएको उनीहरूको भनाइ छ । एक प्रशिक्षकले प्रश्न गरे, “राष्ट्रपति रनिङसिल्ड जस्तो प्रतिष्ठित प्रतियोगितामा विद्यालयको ब्यानर राखेर खेल सञ्चालन गर्नु कति उचित हो ?” खेलस्थलको कमजोर अवस्थाले खेलाडीहरूको प्रदर्शनमा समेत असर परेको गुनासो गरिएको छ ।

केही प्रशिक्षकहरूका अनुसार मापदण्ड नपुगेका खेलस्थलका कारण जित्ने अवस्थामा रहेका खेलाडी पराजित भएका छन् भने केही खेलाडी घाइते र बिरामी समेत परेका छन् ।

यता आयोजक पक्ष भने सीमित स्रोत–साधनका बाबजुद प्रतियोगिता सञ्चालन गरिएको दाबी गर्छ । जिल्ला खेलकुद विकास समितिका प्रशिक्षक उमेश थापाले बजेट, पूर्वाधार र खेल सामग्रीको अभावका बीच सकेसम्म मापदण्ड मिलाएर प्रतियोगिता सञ्चालन गरिएको बताए । उनले भने, “हामीले उपलब्ध स्रोतबाट अधिकतम व्यवस्थापन गर्ने प्रयास गरेका छौँ । बजेट अभावका कारण सामान्य ब्यानर बनाउन समेत कठिनाइ भएको अवस्था छ ।”

प्रतियोगितामा नियम कार्यान्वयनमा समेत प्रश्न उठेको छ । केही खेलाडीहरूले आफूहरू खेलमा सहभागी हुनबाट वञ्चित भएको गुनासो गरेका छन् भने कतिपय खेलाडीले एउटै प्रतियोगितामा एकभन्दा बढी खेलमा भाग लिएको आरोप समेत लागेको छ । नियमअनुसार एउटा खेलाडीले एउटा विधामा मात्र प्रतिस्पर्धा गर्न पाउने व्यवस्था रहेको बताइन्छ ।

भलिबल प्रतियोगितामा केवल चार पालिकाको सहभागिता हुनु पनि चिन्ताजनक मानिएको छ । प्रशिक्षकहरूका अनुसार खेल तालिका सबै पालिकालाई सहज हुने गरी तयार नगरिएकाले धेरै टोली सहभागी हुन सकेनन् । सात फरक स्थानमा खेल सञ्चालन गर्दा टोली व्यवस्थापन, यातायात र समन्वयमा समेत समस्या भएको बताइएको छ ।

जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव चन्द्रकान्त आचार्यले भने सबै सरोकारवालासँग छलफल गरेर प्रतियोगिता आयोजना गरिएको दाबी गरेका छन् । उनका अनुसार स्थानीय तह निर्वाचनलगायत कारणले तयारीमा केही ढिलाइ भए पनि व्यवहारिक रूपमा व्यवस्थापन मिलाउने प्रयास गरिएको हो ।

खेलकुदकर्मीहरू भने राष्ट्रपति रनिङ शिल्ड जस्ता प्रतियोगितालाई प्रभावकारी बनाउन दीर्घकालीन पूर्वाधार विकास, पर्याप्त बजेट र व्यवस्थित खेल तालिकाको आवश्यकता रहेको बताउँछन् । अन्यथा विद्यालयस्तरबाट खेलाडी उत्पादन गर्ने उद्देश्य बोकेको यस्तो प्रतियोगिताप्रति खेलाडी र स्थानीय तहहरूको आकर्षण अझै घट्दै जाने उनीहरूको चेतावनी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?