Butwal Today

शिक्षक क्षमता अभिवृद्धिका लागि प्रशिक्षण

२८ बैशाख २०८३, सोमबार
अ+
अ-

भैरहवा । शिक्षकहरूको क्षमता अभिवृद्धि तथा गणित शिक्षणलाई थप प्रभावकारी र व्यवहारिक बनाउने उद्देश्यले भैरहवामा दुई दिने गणित शिक्षक तालिम सम्पन्न भएको छ। ‘सामूहिक विद्यालय परिवार’ रुपन्देहीको आयोजनामा सम्पन्न तालिममा गणित विषयका करिब ५० जना शिक्षक–शिक्षिकाहरूको सहभागिता रहेको थियो।

तालिममा इन्स्पायर एजुकेसन फाउन्डेसन प्रा. लि.का सदस्य तथा पियर्सन नेपाल पब्लिकेसनका गणित लेखकले सहजीकरण गरेका थिए। तालिमका क्रममा उनले नयाँ पाठ्यक्रम, आधुनिक शिक्षण विधि तथा कक्षाकोठामा शैक्षिक सामग्रीको प्रभावकारी प्रयोगका विषयमा शिक्षकहरूलाई प्रशिक्षण दिएको थिए। उनले बदलिँदो पाठ्यक्रम अनुसार शिक्षकहरूलाई समयानुकूल बनाउनु आवश्यक रहेको उल्लेख गर्दै पाठ्यपुस्तक र पाठ्यक्रमबीचको सम्बन्धलाई व्यवहारिक रूपमा बुझाउन तालिम केन्द्रित गरिएको बताए।

उनले विद्यालय व्यवस्थापन तथा प्रतिनिधिहरूलाई शिक्षकहरूको नियमित कक्षा अवलोकन तथा अनुगमन गर्न आग्रह गर्दै तालिममा सिकेका सीप र विधिहरू व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिए। यसैगरी, ‘सामूहिक विद्यालय परिवार’का अध्यक्ष विष्णु पन्थीले राज्यका तर्फबाट निजी विद्यालयका शिक्षकहरूका लागि विषयगत तालिमको पर्याप्त व्यवस्था नभएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन। उनले संस्थाले विगतदेखि नै यस्ता क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिँदै उक्त तालिमले शिक्षकहरूको पेशागत दक्षता विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे।

कार्यक्रममा निजी शैक्षिक संस्थाहरूको सामाजिक उत्तरदायित्व र शिक्षक तालिमको महत्वबारे पनि चर्चा गरिएको थियो। कक्षा ५ सम्म परीक्षा नलिने राज्यको नीति अनुरूप विद्यार्थीहरूको मूल्याङ्कन कसरी गर्ने भन्ने विषयमा समेत शिक्षकहरूलाई अभिमुखीकरण गरिएको थियो। तालिममा शिक्षकहरूले विद्यार्थीलाई आफ्नै सन्तानसरह मानेर जिम्मेवार ढंगले शिक्षण गर्नुपर्नेमा जोड दिइएको थियो। निजी विद्यालयहरू पनि समाज र अभिभावकप्रति उत्तरदायी हुनुपर्ने सन्देश कार्यक्रममार्फत प्रवाह गरिएको आयोजकहरूको भनाइ छ।

सामूहिक विद्यालय परिवार रुपन्देहीका सदस्य तथा कार्यक्रम संयोजक राजकुमार गुरुङका अनुसार तालिमको पहिलो दिन कक्षा १ देखि ५ सम्मका शिक्षक–शिक्षिकाहरूका लागि तथा दोस्रो दिन कक्षा ६ देखि ८सम्मका शिक्षक–शिक्षिकाहरूका लागि प्रशिक्षण सञ्चालन गरिएको थियो। तालिममा गणितको शिक्षण विधि, पाठ्यक्रम सम्बन्धी छलफल, विषयवस्तुलाई कक्षाकोठामा प्रभावकारी रूपमा प्रस्तुत गर्ने तरिका तथा कथा र क्रियाकलापमार्फत विद्यार्थीहरूलाई गणितप्रति आकर्षित गर्ने व्यवहारिक सीपहरू सिकाइएको थियो। आयोजकले यस्ता तालिमले गणित विषयलाई थप रोचक, सरल र प्रभावकारी ढंगले अध्यापन गर्न शिक्षकहरूलाई सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?