© 2026
सल्यान । सल्यानमा आइतबारदेखि सुरु हुने जिल्लास्तरीय १६ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा करिब आठ सय विद्यार्थी खेलाडी एउटै मैदानमा उत्रने भएका छन् ।
जिल्लाका विभिन्न स्थानिय तहहरुबाट विद्यार्थी खेलाडीसहितको टोली प्रतियोगिता सञ्चालन हुने बनगाड कुपिण्डे नगरपालिका जाने क्रम सुरु भैसकेको छ । तीन दिनसम्म चल्ने प्रतियोगितामा जिल्लाभरका विद्यालय तहका खेल प्रतिभा पहिचान र विकासको महत्त्वपूर्ण आधार मानिएको छ ।
जिल्ला खेलकुद विकास समिति सल्यानका अनुसार प्रतियोगिता बनगाड कुपिण्डे नगरपालिका–१ देवस्थलस्थित प्रभाकर माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुनेछ । प्रतियोगितामा जिल्लाका १० वटै स्थानीय तहबाट अन्तरविद्यालयस्तरीय सहभागिता रहनेछ । एथलेटिक्स, भलिबल, कबड्डी, मार्सल आर्टलगायत विभिन्न खेल विधामा विद्यार्थी खेलाडीबिच प्रतिस्पर्धा हुने जनाइएको छ ।
यसअघि शुक्रबारदेखि प्रतियोगिता सञ्चालन गर्ने तयारी गरिएको भए पनि कक्षा १२ को परीक्षालाई मध्यनजर गर्दै प्रतियोगिताको मिति दुई दिन पछि सारिएको जिल्ला खेलकुद विकास समिति सल्यानका अध्यक्ष खड्ग आचार्यले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी लगभग पूरा भइसकेको छ । विभिन्न खेल विधा सञ्चालनका लागि करिब ४० जना निर्णायक परिचालन गरिनेछ ।
अध्यक्ष आचार्यले विद्यालयस्तरमै रहेका प्रतिभाशाली खेलाडीलाई अवसर प्रदान गर्दै खेलकुदमार्फत अनुशासन, प्रतिस्पर्धात्मक भावना र नेतृत्व क्षमता विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए । राष्ट्रपति रनिङ शिल्डले ग्रामीण क्षेत्रमा रहेका खेल प्रतिभालाई बाहिर ल्याउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको उनले जनाए ।
प्रतियोगिता बनगाड कुपिण्डे नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन हुन लागेको हो । प्रतियोगिता अवधिभर ठुलो सङ्ख्यामा खेल प्रेमी, शिक्षक, अभिभावक तथा स्थानीयवासीको उपस्थित रहने अपेक्षा गरिएको छ ।
जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख शिवराज अधिकारीका अनुसार प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रदेश तथा राष्ट्रिय स्तरका प्रतियोगिताका लागि छनोट गरिनेछ । उनले राष्ट्रपति रनिङ शिल्ड विद्यालयस्तरका खेलाडीका लागि ठुलो अवसर भएको बताउँदै यसले खेल क्षेत्रप्रति विद्यार्थीको आकर्षण बढाउने विश्वास व्यक्त गरे ।
सल्यानमा हरेक वर्ष सञ्चालन हुँदै आएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता विद्यालय तहको सबैभन्दा ठुलो खेल प्रतियोगिता हो । यसअघि १५ औँ संस्करण कुमाख गाउँपालिकामा तथा १४ औँ संस्करण कपुरकोट गाउँपालिकामा सञ्चालन गरिएको थियो ।