दोहा–कतार । कतारमा सामाजिक क्षेत्रमा सक्रिय तथा स्थापित संस्था स्याङ्जा सहयोग समाज कतारले आफ्नो २२औँ स्थापना दिवस तथा २१औँ वार्षिकोत्सव भव्य रूपमा मनाएको छ। शुक्रवार आयोजित विशेष समारोहबिच समाजले नयाँ वर्षको शुभकामना आदानप्रदान गर्दै केक काटेर उत्सव मनाएको हो।
स्थापना दिवसको अवसरमा गण्डकी प्रदेश अन्तर्गत रहेका विभिन्न जिल्ला संस्थाका पदाधिकारीहरू तथा संस्थाका अग्रज व्यक्तित्वहरूले शुभकामना मन्तव्य व्यक्त गर्दै स्याङ्जा सहयोग समाज कतारले विगत लामो समयदेखि कतारको नेपाली समुदायसँगै गृह जिल्ला स्याङ्जामा पनि निरन्तर सामाजिक, मानवीय तथा परोपकारी कार्यहरूमा सक्रिय भूमिका निर्वाह गर्दै आएको उल्लेख गरेका थिए ।
गण्डकी प्रदेश समन्वय परिषद् कतारका अध्यक्ष नन्दलाल बिक (अजय) आफ्नो मन्तव्य बोल्दै स्याङ्जा समाजले सामाजिक क्षेत्रमा उदाहरणीय कार्य गरिरहेको बताए। उनले भने, “गण्डकी प्रदेश मातहतका जिल्ला संस्थाहरूमध्ये स्याङ्जा समाज अत्यन्त अग्रसर र क्रियाशील संस्था हो, आगामी दिनमा पनि प्रदेशसँग समन्वय र सहकार्य गर्दै अझ प्रभावकारी सामाजिक कार्यहरू गर्न आग्रह गरे।
शुभकामना आदान प्रदान समेत रहेको कार्यक्रममा समाजको मातहतमा रहेका विभिन्न इकाईका पदाधिकारीहरू तथा कतारमा रहेका स्याङ्जावासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । प्रदेशका अध्यक्ष नन्दलाल बिकलाई समाजले दोसल्ला ओढाएर मायाको चिनो प्रदान गर्दै सम्मान गरिएको थियो।
(“भाग्यशाली चिट्ठाको नतिजा सार्वजनिक”)
स्थापना दिवसकै अवसर पारेर समाजले सञ्चालन गरेको “भाग्यशाली चिट्ठा” कार्यक्रमको नतिजा पनि सोही कार्यक्रममा सार्वजनिक गरिएको छ। सार्वजनिक नतिजाअनुसार प्रथम पुरस्कार (५ ग्राम सुन) चिट्ठा नं. ३८४ का विक्रम राउतले जितेका छन्। द्वितीय पुरस्कार (एक थान ल्यापटप) चिट्ठा नं. १८५९ की सप्रियाले प्राप्त गरेकी छन् भने तृतीय पुरस्कार (३२ इन्च टिभी) चिट्ठा नं. १७० का दीपक सुनारले जितेका छन्।
त्यस्तै सान्त्वना पुरस्कारअन्तर्गत १० थान कप क्रमशः राम सन्तोष (१८१७), सन्ध्या चौलागाईं (१२५८), रोशन अर्याल (६५३), बमबहादुर विक (१३०१), बलराम परियार (१७५३), विष्णु ढकाल (१४१४), देवनारायण शाह (९२९), भूपेन्द्र (१२०४), पदम कोइराला (१५७१) र लीलबहादुर गुरुङ (१०८४) ले जितेका छन्।
स्याङ्जा सहयोग समाज कतारका अध्यक्ष घनश्याम जैसीले कार्यक्रमलाई समापन गर्दै समाजलाई स्थापना काल देखि यहाँसम्म पुर्याउन सहयोग गर्ने सम्पूर्ण व्यक्तिहरूप्रति धन्यवाद ज्ञापन गर्दै प्रवासमा रहेका नेपालीहरूको हितमा समाज सधैँ प्रतिबद्ध रहने बताए।
उनले चिट्ठा कार्यक्रमबाट सङ्कलित मुनाफा रकमको उद्देश्यबारे प्रस्ट पार्दै उक्त मुनाफा रकम मार्फत स्याङ्जा जिल्लाका अति आवश्यक विपन्न, गरिब, असहाय, वृद्ध, अपाङ्गता भएका व्यक्तिहरू र अति आवश्यक पर्ने क्षेत्रहरूमा स्याङ्जा अन्तर्राष्ट्रिय समाजसँग समन्वय गरेर सहयोग उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सन २००५ मा कतारमा स्थापना भएको स्याङ्जा सहयोग समाज कतारले जिल्लाको विकासमा सहयोग पुर्याउनुका साथै विभिन्न सामाजिक अभियानमा आर्थिक तथा नैतिक सहयोगका साथै निरन्तर परोपकारी तथा मानवीय कार्यहरूलाई निरन्तरता दिँदै आएको छ ।
विश्वका २४ वटा देशमा सञ्जाल फैलिएको स्याङ्जा सहयोग समाजको अन्तर्राष्ट्रिय सञ्जालअन्तर्गत कतार शाखा पहिलो पटक स्थापना भएको ऐतिहासिक शाखा समेत हो।