© 2026
मुलुकको पहिलो पत्रिका ‘गोरखापत्र’ प्रकाशन भएको ऐतिहासिक दिन वैशाख २४ को स्मरण गर्दै आज राष्ट्रिय पत्रकारिता दिवस मनाईदैछ ।
यो दिवस मनाउँदै गर्दा नेपालको प्रेस सङ्कटमा छ । दुई तिहाइ नजिकको सरकार प्रेसप्रति अनुदार बनेको छ । प्रधानमन्त्री बालेनले सञ्चारकर्मीलाई सिंहदरबार प्रवेश र पहुँचमा नियन्त्रण गर्ने काम गरेका छन् ।
नीजि संचार माध्यममाथि सुरुबाटै बक्रे दृष्टि राखेका प्रधानमन्त्रीले सञ्चार माध्यममाथि अझै नियन्त्रण गर्ने सरकारका क्रियाकलापबाट पुष्टि हुन्छ । राजा ज्ञानेन्द्रको कठिन तानासाही तोडेर अघि बढेको नेपाली प्रेस सानोतिनो आँधी हुरीबाट आत्तिने अवस्थामा छैन ।
अर्कोतर्फ आजको राष्ट्रिय पत्रकारिता दिवसको दिनले नेपाली प्रेसलाई अझै जिम्मेवार, सङ्गठित र प्रतिबद्ध भएर अघि बढ्न प्रेरणा दिएको छ । नेपाल सरकारले गोरखापत्र प्रकाशनको पहिलो दिन बैशाख २४ को स्मरण गर्दै २०७३ सालदेखि ‘राष्ट्रिय पत्रकारिता दिवस’ घोषणा गरेर यो दिवस मनाउँदै आएको छ ।
राष्ट्रिय पत्रकारिता दिवस मनाउँदै गर्दा नेपाली प्रेसले अहिलेमात्रै होइन इतिहासका हरेक कालखण्डमा अनेकौं चुनौतिको सामना गर्दै आएको छ । पत्रकारितालाई शुद्धिकरण गर्नुपर्ने खाँचो पनि छ ।
प्रेसका नाममा विकृति र विसंगति पनि बढेको छ । यसमा शुद्धिकरण नहुने हो भने नेपाली प्रेस जगत अनिश्चयको भूमरीमा पर्ने निश्चित छ । जेहोस आज राष्ट्रिय पत्रकारिता दिवस घोषणा गरेर तत्कालीन सरकारले पत्रकारिताको सुरुवात अर्थात बिजारोपण भएको दिनको सम्मान गरेको विर्सन सकिदैन् ।
निश्चितरूपमा नेपालको पत्रकारिता श्रीबृद्धिमा गोरखापत्रको योगदान महत्वपूर्ण छ । विश्व पत्रकारिताको इतिहासमा बहुभाषिक पत्रकारिताको अभ्यास सुरु गरेर गोरखापत्रले समावेशी पत्रकारिताको नयाँ इतिहास स्थापित गरेको छ । विक्रम सम्बत १९५८ साल बैशाख २४ गते गोरखापत्रको पहिलो अंक प्रकाशित भएको थियो ।
नेपालमा यो नै पत्रकारिताको सुरुवात भएको दिनको रूपमा लिईन्छ । इतिहासको साक्षी बनेर विभिन्न आरोह–अवरोह खेप्दै १२६ वर्षदेखि निरन्तर प्रकाशन हुँदै आएको गोरखापत्रले आमसञ्चारका क्षेत्रमा पु¥याएको योगदानको जति नै प्रशंसा गरेपनि त्यो कम हुन्छ । तर, गोरखापत्रले सरकारको भजनमात्रै गाउने हुँदा यसको सीमितता पनि हामी सवैले बुझ्नुपर्ने हुन्छ । गोरखापत्रले सरकारको मुखपत्रको काम गरेको छ ।
योसंगै पत्रकारिताको जगलाई यहाँसम्म ल्याईपु¥याउन ठूलो भूमिका खेलेको छ भन्दा अत्युक्ति हुँदैन । किनभने नेपालका वरिष्ठ पत्रकारहरू गोरखापत्रै उत्पादन हुन् । परिवर्तनका अनेक आयाममा आफूलाई खरो उतार्न सफल गोरखापत्र पत्रकारिताको मर्म र धर्म निर्वाह गर्न सदैव तत्पर रहेको छ ।
यसलाई नेतृत्व गर्नेहरूले यसको साख जोगाउने काम कति गरे, त्यो कुनै दिन इतिहासले मूल्याँकन गर्ला तर गोरखापत्रले सही, सत्य र तथ्य सूचना प्रवाहमा कहिल्यै कञ्जुस्याई गरेन् । सही समाचार र सूचनाका लागि अहिलेपनि गोरखापत्र पढ्ने पाठकको कमी छैन ।
यो दिवसले आम जनसरोकारका विषयमा सबैसँग हातेमालो गरेर अगाडि बढ्नुपर्ने सन्देश दिएको छ । सरकारको मुखपत्रको आरोप खेप्दै गर्दा गोरखापत्रले सयौं पत्रकार जन्माएको छ । गोरखापत्रबाटै पत्रकारिता सुरुवात गरेर अरू मिडियाको विकासमा लागेका सयौं पत्रकारले पत्रकारिता पेशाको गरिमा बढाएका छन् ।
तसर्थ मुलुकको छापा पत्रकारिताको इतिहासको जगका रूपमा रहेको गोरखापत्रलाई सिंगो पत्रकारिताको विश्वविद्यालय भन्दा गर्ब लाग्छ ।
लोकतन्त्रप्रति जनताको भरोसा अभिवृद्धि गर्ने काममा पत्रकारिता क्षेत्रले अतुलनीय भूमिका निर्वाह गरेको छ । लोकतन्त्र सुदृढीकरणको यात्रामा स्वतन्त्र, निष्पक्ष र जिम्मेवार पत्रकारिता पहिलो सर्त हो ।
जिम्मेवार पत्रकारिता, सुसूचित नागरिक र जवाफदेही सरकार नै लोकतन्त्रका आधारस्तम्भ हुन । लोकतन्त्रको जग बलियो वनाउने हो भने नेपाली प्रेसलाई बचाउनु आवश्यक छ । प्रेसमाथि सरकारबाट भैरहेको दमन र विभेद तत्काल अन्त्य होस् ।
अनि, आजको दिनले प्रेसमाथि भैरहेको चौतर्फी हस्तक्षेप निष्तेज पार्ने प्रेरणा प्रदान गरोस् । राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना ।