Butwal Today

कालापानी – लिपुलेक सम्बन्धी त्यो गोप्य दस्ताबेज !

२२ बैशाख २०८३, मंगलवार
अ+
अ-

भारतले लिपुलेक हुँदै मानसरोवर यात्रा मार्ग सञ्चालनमा ल्याउन लागेको गरेको खबर आएसँगै कालापानी क्षेत्रको भौगोलिक इतिहासको खोजी गर्ने र प्रस्तुत गर्ने क्रम बढेको छ ।

सुगौली सन्धिको व्यवस्था, त्यो क्षेत्रमा भएको जनगणना, तिरो, व्यापार , यात्रा विवरणहरू धेरै चर्चा भइरहेको छ । धेरै विद्वान र मिडियाहरूले अङ्ग्रेज कालमा नै कालापानी क्षेत्र नेपालको रहेको गोप्य दस्ताबेज भन्दै गजेटियर अफ अल्मोरालाइ उल्लेख गरिरहेका छन् ।

आखिर यो गजेटमा के छ ? नेपालको सिमानाको बारेमा त्यसमा के उल्लेख छ ? भन्ने कुरा अहिले सीमा सरोकार राख्ने सबैमा कौतुहलता रहेको देखिन्छ ।

के हो गजेटियर?
तत्कालीन ब्रिटिस भारत सरकारले विभिन्न समयमा आफू शासित जिल्लाहरुको प्रोफाइल निकाल्ने गरेको थियो, जुन डिस्ट्रिक्ट गजेटियरको नामबाट प्रकाशित गरिन्थ्यो ।

अल्मोरा गजेटियर पनि युनाइटेड प्रोविंस अफ आगरा एन्ड अवधको ३५ औ डिस्ट्रिक्ट गजेट हो । एच.जी. वाल्टनले तयार गरेको यो भारत सरकारले सन् १९११ मा प्रकाशन गरेको थियो. कुमायुबाट छुट्टिएर अल्मोडा छुट्टै जिल्ला बनेपछि सन् १८८६ मा प्रकाशित हिमालयन गजेटियरखर सन् १९०५ को गजेटियर अफ कुमायँु डिभिजनको आधारमा अल्मोरा डिस्ट्रिक्ट गजेटियर तयार गरिएको थियो ।

गजेटमा उल्लेखित सिमाना र नदी
यस गजेटले काली नदीलाई अल्मोरा र नेपाल बिचको सिमाना मानेको छ, जुन सुगौली सन्धिमा पनि उल्लेख छ (पृष्ठ २ ) । यसमा काली नदीको उत्पत्ति र यसका सहायक नदीहरुको विवरण समेत उल्लेख गरिएको छ ।

पृष्ठ २ र २१० मा काली नदी लिपुलेकबाट उत्पन्न भएको लेखिएको छ । भारतले काली नदीको बारेमा विवाद खडा गरेर कालापानी अतिक्रमण गरिरहेको छ । सिमाविद र नदी विदहरुले कुनै नदीमा समाविष्ट नदीहरुमध्ये लामो र ठुलो नदीलाई खास नदी मान्ने गर्छन् ।

यही आधारमा लिम्पियाधुराबाट उत्पन्न भएको नदीलाई काली नदी मान्नुपर्ने नेपालीहरूको माग छ । गजेटको पृष्ठ ४ मा काली नदीको मुख्य श्रोत कुटी याङ्दी नै भएको र कालापानी खोलामा मिसिएपछि यसलाई काली नदी भनिने र केही दक्षिण गएपछि कालिमा धौली खोला मिसिएको छ भन्ने उल्लेख छ । यो विवरण सन् १८८६मा प्रकाशित द हिमालयन गजेटियर खण्ड ३ भाग २ (पृष्ठ ३३१–३३२ ) मा उल्लेखित विवरणकै निरन्तरताको रूपमा आएको छ ।

इतिहासका कुरा
गजेटको पृष्ठ १८७ देखि  १९२ सम्म गढ़वालमा गोर्खाली सेनाले कसरी कब्जा गरेको थियो र शासन व्यवस्था कस्तो रह्यो भन्ने कुरा उल्लेख गरिएको छ । यसमा इतिहास मात्र उल्लेख भएकोले सिमानाको कुरा छैन तर युद्ध पछि गोर्खाली सेनालाई सहज रूपमा काली पूर्व पु¥याईएको कुरा भने उल्लेख गरिएको छ ।

विवादित भूमि सम्बन्धमा
नेपालीले दाबी गर्दै आएको कालापानी क्षेत्रलाई गजेटले दरमा प्रगन्ना अन्तर्गत राखेर त्यो ठाउँको भौगोलिक, प्रशासनिक अवस्था वर्णन गरेको छ ( पृष्ठ २२६ –२३१ ) । दर्मालाई तीन वटा पट्टि (भौगोलिक एकाइमा ) राखेको छ– धौली उपत्यका, चौडान र ब्यास उपत्यका । कुटी याङदी नदीले बनाएको उपत्यकालाई ब्यास भनिएको छ ।

धौली र काली नदीको सङ्गममा खेला गाउँ, कुटी याङदी र काली नदीको दोभानमा ब्यास उपत्यका भनिएको छ । व्यासलाई तल्लो ब्यास र उपल्लो ब्यासमा विभाजन गरिएको छ र काली नदीको किनारमा समुन्द्री सतहदेखि करिब १०३२० फुट उचाइमा उपल्लो ब्यासको पहिलो बस्ती गब्र्याङ्ग भएको उल्लेख छ ।

अल्मोडाको राजस्व सङ्कलन र न्याय प्रशासनको लागि तहशिलदार नियुक्त गरिएको र ति तहशिलदार अन्तर्गत २ जना पेशोक ( सहायक) रहने व्यवस्था गजेटमा उल्लेख छ । सन् १९१० सम्म ति पेशोक मध्ये एक जना गर्मीको समयमा गब्र्याङ्गमा र हिउदमा धार्चुलामा रहने गरेको  पृष्ठ १२४ मा लेखिएको छ ।

त्यसै गरी पृष्ठ २४४ मा दर्मा प्रगन्ना, ब्यास पट्टि अन्तर्गतको गाउ गब्र्याङ्ग रहेको र यो ठाउँ तिब्बत व्यापारको केन्द्र भएको उल्लेख छ ।. यस ठाउँमा व्यवस्थित विद्यालय र हुलाक समेत भएको कुरा गजेटमा लेखिएको छ ।  भैरव रिसालले सान १९६१ मा जनगणना गराएको भनिएको गब्र्याङ्गमा भारतीय कार्यालय रहको कुराले अन्यौलता सिर्जना गरेको छ ।

कुटी उपत्यका प्रवेश गर्ने स्थानमा गुन्जी गाउँ रहेको र त्यहाँबाट कालापानी हुँदै लिपू लेक जाने गरिएको उल्लेख छ  ( पृष्ठ २२९ ) ।  गुन्जी गाउँमा धेरै जनसङ्ख्या रहेको र त्यहाँबाट लिम्पियाधुरा हुँदै तिब्बत प्रवेश गर्ने बाटो रहेको यसमा बताइएको छ ।

उपल्लो दर्मा, ब्यास र चौदानमा तिब्बती मुलका मानिसहरू बसोबास गर्ने र तल्लो दर्मामा बोहोरा र धामी जातका मानिसहरू बसोबास गर्ने  र चौदानमा मिसनरी अस्पताल अनि गुन्जिमा डिस्पेन्सरी रहेको उल्लेख छ ।

कालापानी र लीपुलेक सम्बन्धमा
काली नदीको मुख्य सहायक नदी धौली नदीको उत्पत्ति र त्यहाँबाट तिब्बत जाने बाटोको बारेमा पृष्ठ २३३ देखि २३४ मा उल्लेख छ । गजेटको पृष्ठ २५२ मा कालापानी खोलाको बारेमा वर्णन गरिएको छ ।

कालापानी खोलाको सम्पूर्ण जलाधार क्षेत्र ब्रिटिस भारतमा रहेको र त्यसमा मिसिन आउने सानो खोला नेपालको सिमाना भएको त्यहाँ उल्लेख गरिएको छ । मानसरोवर तीर्थयात्रामा जाने तिर्थयात्रीहरुले कालापानी खोलामा स्नान गरेर जाने उल्लेख गरेको पाइन्छ । पृष्ठ २५३मा काली  नदीको श्रोतको बारेमा उल्लेख गरिएको छ ।

यसमा लिपू लेकबाट आउने कालापानीमा नेपालतर्फबाट आउने सानो काली खोला मिसिएर संयुक्त नदीको रूपमा केही दक्षिण पश्चिम तर्फ पुगेर कुटी नदीसँग मिसिएर काली नदीको रूपमा बगेको विवरण दिइएको छ ।

पृष्ठ २६१ –२६२ मा कुटी याङदी नदीको उत्पत्ति र जलाधारको अवस्थिति उल्लेख गरिएको छ । गजेटले सानो काली खोलालाई नेपालको सिमाना हो भन्ने पुष्टि गर्न प्रयास गरेको भए पनि काली नदीको मुख्य श्रोतको बारेमा बुझ्न यी विवरणहरू महत्त्वपूर्ण देखिन्छन् ।

लिपुलेकलाई यो गजेटले भारतकै भागको रूपमा उल्लेख गरेको छ । पृष्ठ २६२ मा  लिपू लेकको अवस्थिति र कालापानीबाट लिपूसम्म जाने बाटोको बारेमा बताइएको छ । यो गजेट हेर्दा ब्रिटिस भारत सरकारले गजेटमा प्रकाशन गरेर आधिकारिक रूपमा नै हालको कालापानी क्षेत्र आफ्नो कब्जामा राख्न खोजेको देखिन्छ ।

अल्मोरा गजेटियर जिल्ला प्रोफाइल भएकोले त्यहाँको जनसङ्ख्या र अन्य विवरणहरू पनि उल्लेख गरिएको छ । आजभन्दा ११० वर्ष पहिलेको काली नदी छेउछाउको आर्थिक, भौगोलिक, सांस्कृतिक अवस्था बुझ्नको लागि यो गजेट सहायक हुन्छ ।

खास गरी कालीको मुहानको निक्र्याैल गर्नको लागि यसलाई सन्दर्भ सामग्रीको रूपमा लिन सकिन्छ । तर यो गजेट ब्रिटिस भारत सरकारले अल्मोरा जिल्लाका प्रत्येक भूभागमा आफ्नो उपस्थिति देखाई सकेपछि आफूलाई बलियो बनाउनको लागि तयार गरिएकोले लिम्पियाधुरासम्म नेपाल थियो भन्ने प्रमाण पेस गर्न अल्मोरा गजेटियरलाई मात्र अघि सारियो भने त्यो आत्मघाती हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?