Butwal Today

‘बुटवल सहर हाम्रो हो, राम्रो बनाऔँ’

१३ बैशाख २०८३, आइतबार
अ+
अ-

बुटवल उपमहानगरपालिकाले फुटपाथ व्यापारी तथा सडक पेटी अतिक्रमण गरेर पैदल यात्रीलाई सास्ती दिनेहरू माथि अङ्कुश लगाउने जो प्रयास गरिरहेको छ, त्यस कार्यलाई सबैको समर्थन प्राप्त हुनु जरुरी छ ।

जुनसुकै राष्ट्रमा पनि त्यहाँका जनतामा नैतिक मूल्य तथा मान्यताप्रति अटल आस्था हुनु जरुरी छ । यदि यो नभएमा देशले आफ्नो विकास सम्बन्धी या अन्य कुनै पनि घोषित लक्ष्यलाई प्राप्त गर्न सक्दैन ।

आज हाम्रो देशको सबै क्षेत्रमा नैतिकता तथा सामाजिक मूल्य मान्यतामाथि ठुला ठुला तगाराहरू तेर्सिएका छन् । जबसम्म असल कामका बाधा बन्धनका यी तगाराका गरालाहरूलाई भाँचेर या पन्छाएर अगाडि बढिन्न तबसम्म हाम्रो समाजमा दिनानुदिन डरलाग्दो संक्रमक रोगको रूप लिएर फैलिन थालेकोले लोभलालच, चारित्रिक उच्श्रृड्खलता, अनाचार, गुण्डागर्दी, दादागिरी, हुकुमवादी प्रवृत्ति जस्ता घातक गुणहरूले हाम्रो सभ्यतामाथि नै संकट पैदा गरिदिने छन् ।

तसर्थ यस सवालमा हामी सवैले एकमन भाव राखेर पालिकाको कार्य प्रति सहयोग, सद्भाव या समर्थन जनाउनु पर्दछ । नत्र भने खराव कामले मात्र प्रोत्साहित हुने मौका पाउँदा असल कार्यहरू सधैभरि दवेर जानेछन् ।

अहिले बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेले पालिकाभित्रका सडक पेटीहरूको अतिक्रमण रोक्न आफै फिल्डमा उत्रिएर जुन चासो प्रकट गरेका छन् र सडक पेटीका व्यापारिक प्रयोजनका लागि राखिएका सामानहरू हटाउन पालिकाले पटक पटक अनुरोध गर्दा पनि नमाने पछि ती सामानहरू जफत गरेर लैजादा भनसुन भलाहितका आधारमा छुटाउन भनी कोहीपनि नआउनुहोला भनेर हातै जोडेर जो विन्ति गरेका छन् यस प्रसंशनीय कार्यलाई प्रशंसा नगरिरहन सकिदैन् ।

आश्चर्य त के छ भने तिनै सडक पेटी अतिक्रमणकारी व्यापारीहरू मध्ये कोही नगर प्रहरीसित भिडिरहेको र धक्का गरिरहेको देखिन्छ भने कसैले आफ्ना पसलभित्रका सामान चोरेर लगेको भन्ने त कसैले आफ्ना पसलभित्रका सामान चोरेर लगेको भन्ने आरोप लगाएर पालिका र नगर प्रहरीको वदनाम गर्ने प्रयत्न गरिरहेका छन् तर त्यसमा रत्तिमात्र पनि सत्यता छैन । नगर प्रहरीले आफ्नो कर्तव्यपालना गर्दा पसलभित्रका सामान चोरेर लगे भनी निराधार आरोप लगाउनु हास्यास्पद छ ।

समाजमा राम्रो काम गर्दा अपजसहरू पनि वेहोर्नु पर्छ यो स्वाभाविकै हो । तर समाजका अगुवाहरूले कतैबाट अपजस आउँछ भनेर असल काम गर्नबाट पञ्छिनु चाहिँ हुदैन । सवैले अपजस मात्र लगाउदैनन् ।

यसो गाथा गाउनेहरू पनि हुन्छन् । जो राम्रा काममा हात हालेर अग्रसर हुन्छन् । तिनलाई खुट्टा तान्नु हुदैन वरु उनको काममा सघाउ पुग्ने भूमिकामा खडा हुनुपर्दछ । नत्र त अनुत्तरदायी विचार र असंगतिपूर्ण सोचाईहरूले मात्र अड्डा जमाउने मौका पाउँछन् ।

आज देशमा जताततै भाँडभैलो छ । सबै कुरामा जथाभावीले गर्दा नैतिकताका आधारहरू खल्बलिएका छन् । यिनलाई यथोचित मरम्मत गरी सुढृढ पारेर सुरक्षित राख्ने जिम्मेवारी लिएर अग्रसर बनेकाहरू कुनै पनि हावाहुरी, आँधीबतास र झटेलोबाट विचलित हुनुहुदैन ।

विरोधका स्वरहरू आउँछन्, दवावपनि आउलान तर किंकर्तव्यबिमूख भएर अलमल पर्नु या पछि हट्नु हुदैन । आज हाम्रो देश हाम्रो समाज जताततै अनैतिकताको रागले खाइदिएको छ, गलिसकेको छ । हरेक क्षेत्रमा पसेको यो रोगले जताततै वर्वाद पारेको छ । डाँमाडोल बनाएको छ ।

अनुशासन हिनताको बाक्लो तुवाँलोले सबै क्षेत्रलाई ढाकेको छ । अब यो तुवाँलो हट्नु पर्छ, पन्छिनुपर्छ, आफै हट्दैन, हटाउनु पर्छ, स्वतः पन्छिदैन पन्छाउनु पर्छ । नगर पालिकाका पूर्ववर्ती अधिकारीहरूको आफ्ना काम कर्तव्यप्रतिको उपेक्षा नीति र उदासीन प्रवृत्तिले गर्दा सडकपेटीको मात्र समस्या होइन बुटवल नगरपालिकाभित्रका अनमोल जग्गाहरू पनि विना मूल्य व्यक्ति व्यक्तिका निजी लालपुर्जामा गाभिएका छन् ।

अब तिनको पनि यथोचित खोज खबर र छानविन हुनु जरुरी छ । यस सम्वन्धमा पनि बुटवल उपमहानगरपालिकाका अधिकारीहरूको ध्यान जाओस् भन्ने जुन चाहना छ । सार्वजनिक सम्पत्तिमाथि व्यक्तिको गिद्देनजर पर्नु चारित्रिक अनैतिकता हो । यो कुरा सबैलाई बुझाउनु पर्छ र सबैले बुझ्न पनि पर्दछ ।

सहर बजारहरू जतिजति आर्थिक विकासका दिशामा अगाडि लम्कन्छन् र आधुनिक सहर सुविधाहरूबाट सुसज्जित हुँदै जान्छन् त्यसको फाइदा सीमित टाठावाठाले मात्र लिन पाइदैन । यदि कसैले अरूका सुुविधा खोसेर बल मिच्याई गर्दछ भने त्यसलाई मूकदर्शक बनेर टुलुटुलु हेर्ने कुरो हुँदैन ।

बुटवल उपनगरपालिकामा ज्वलन्त समस्याहरू धेरै छन् । नगरपालिकाले सबै क्षेत्रमा ध्यान दिनुपर्दछ । एउटै क्षेत्रमा लामो समय खर्च गर्दा अरू क्षेत्रका समस्याहरू झन झन जटीलतम् बन्दै जान सक्छन । पहिला सडक विस्तारमा अवरोधको समस्या थियो । त्यो समस्या समाधान हुन धेरै वर्ष लाग्यो ।

अहिले आएर फुटपाथको समस्या तेर्सिएको छ । यो किचलोले पनि लामै समय वर्वाद भएको छ । नगरको सामयिक र सामूहिक विकासमा भावुक बनेर काम छैन । कतिपय सवालमा कठोर पनि बन्नुपर्दछ । पक्षपात तथा संकुचित भावनालाई त्यागेर चालिएका जतिसुकै कठोर कदमलाई पनि स्वीकार गर्नु सबैको कर्तव्य हो ।

अहिले बुटवलमा असुरक्षाका समस्याहरू पनि निकै वढिरहेका छन् । कतै बालबालिका हराएको सुनिन्छ । कतै महिला हराएको सूचनाहरू आइरहन्छन् तर भेटाइएका समाचारहरू भने कमै मात्र सुन्न पाइन्छ । मानिसलाई आफ्नो ज्यूधनको नै सुरक्षा भएन भने अन्य जतिसुकै सुविधा भएपनि त्यसले केही माने राख्दैन ।

बुटवल नगरीका अपराधका घटनाहरू पनि धेरै बढ्न थालेका छन् । यसलाई नियन्त्रणमा लिने समस्या पनि नगरपालिकालाई ठूलो चुनौतिका रूपमा खडा छ । नगरपालिका एक्लैले सवै काम गर्न सक्दैन । त्यसमा हाम्रो पनि सहयोगको अपेक्षा रहन्छ । जनप्रतिनिधि र आमजनताबीच सबै क्षेत्रमा पारस्परिक विश्वास र सहयोगको भावना कायम रहेमा जस्तोसुकै समस्याहरू पनि सहजै पार लाग्दछन् ।

यो कुरामा सबैको हेक्का रहोस् । व्यक्तिवादी स्वार्थले समाजको ठूलो भागको स्वार्थलाई प्रभावित पार्न थाल्यो भने स्थिति त्यहीँबाट विग्रन्छ । बुटवल सहर हाम्रो हो । हाम्रो सहरलाई राम्रो बनाउनु हामी सबैको कर्तव्य हो । हाम्रो सहरका नराम्रा पक्षहरूलाई सबै मिलेर हटाउनु पर्दछ ।

बुटवलवासी जनताका आकांक्षा तथा अभिलाषालाई साकार पार्नु बुटवल नगरपालिकाको कर्तव्य हो भने आफ्नो नगरभित्रका वाधा व्यवधानहरू हटाउने क्रममा केही अप्रिय कदम चाल्नु परे पनि त्यो नगरपालिकाको आफ्नो अधिकार हो । उसको अधिकारमा हामी कसैले पनि हस्तक्षेप गर्नु उचित हुँदैन । बरु सहयोगको हात वढाउनु पर्दछ । सडक पेटी खाली गराउनुलाई नराम्रो मान्नु हुदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?