Butwal Today

क्यालेन्डरमा सीमित विश्व औलो दिवस 

१३ बैशाख २०८३, आइतबार
अ+
अ-

‘मलेरिया शून्य बनाउन पहल गरौँ’ भन्ने नाराका साथ विश्व औलो दिवस शनिवार औपचारिकताका लागि मात्रै भए पनि नेपालमा मनाइएको छ । औलो दिवस मनाएको कुरा हरेक वर्ष क्यालेन्डरमा मात्रै सीमित भइरहेको छ ।

किनभने औलो अर्थात् मलेरियाको विषयमा जुन समुदायलाई सचेत बनाउनु पर्ने हो, त्यो समुदाय औलोको विषयमा बेखबर छ । तराईमा हरेक वर्ष गर्मी बढ्दै गएको छ । गर्मी बढी हुँदा औलो समेत बढ्ने गरेको छ ।

तसर्थ औँलोले फेरी आफ्नो भयावह रूप देखाउने संभावना बढेको छ । तर, सरकारले औलो नियन्त्रणमा काम गरेको छैन । अर्कोतर्फ यति महत्वपूर्ण दिवसलाई केवल क्यालेण्डरमै सीमित गरिएको छ । आजभन्दा ५०–६० वर्ष अगाडि औलोकै कारण तराईमा बस्ने अवस्था नभएपछि धेरै मानिस तराईबाट पहाड सरेका थिए ।

अव फेरी यस्तैगरी औलो बढ्दै जाने हो भने पहाडबाट भइरहेको बसाईसराई फेरी पहाडतिरै फर्किन अवस्था आउन सक्छ । तसर्थ औलो नियन्त्रणमा आजैदेखि प्रयास र प्रयत्न गरौँ । इतिहास हेर्दा सन् २००७ मा तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुसको नेतृत्वमा हरेक वर्ष अप्रिल २५ लाई मलेरिया दिवसको रूपमा मनाउने क्रम सुरु भएको हो ।

पछिल्लोसमय औलोबाट तराई समुदायमा बढी संक्रमण बढ्दै गएकोले यसबाट बच्न पूर्व सचेतनाका कार्यक्रममा जोड दिनु जरुरी छ । यद्यपि पहिलेको औलोको जुन भयानक अवस्था थियो त्यो अहिले भने छैन तर औलोको संक्रमण बढ्ने अवस्था देखिएको छ ।

पछिल्लोसमय औलोको जोखिम तराईमा मात्र होइन, पहाड र हिमाली क्षेत्रमा समेत देखिएपछि यसको नियन्त्रणमा नयाँ रणनीति आवश्यक रहेकोमा चिकित्सकहरूले जोड दिएका छन् । अवको रणनीति भनेको सिमान्तकृत समुदायमा सचेतनाको कार्यक्रम नै हो ।

अझैपनि समयमै उपचार पाएमा औलोका कारण हुने मलेरिया निको हुन सक्दछ । यद्यपि विकासशील देशका नागरिकहरूमा यसबारे देखिएको चेतनास्तरको कमी, स्वास्थ्योपचारको अभाव, गरिबी अनि हेलचेक्राईका कारणले मृत्युको संख्या अझै कम हुन सकेको छैन् ।

मलेरियाविरुद्धको खोप नलगाएका व्यक्तिहरूमा यसको सङ्क्रमणको दर उच्च हुन्छ । चिकित्सकहरूका अनुसार मलेरिया ओसार्ने लामखुट्टेले टोकेको ७ देखि १५ दिन भित्र यसका लक्षणहरू देखिन्छन् । यसका लक्षणहरूमा रक्त अल्पता, श्वास–प्रश्वासमा समस्या, सेरिबरल मलेरिया आदि हुन् ।

सन् २०१५ सम्ममा लगभग संसारका आधी जनसंख्या नै मलेरियाको जोखिममा थियो । यद्यपि यसको जोखिममा अझैपनि बालबालिका, गर्भवती आमाहरू, एच.आई.भी. सङ्क्रमितहरू तथा जमेको पानी वरपर बस्ने समुदाय अनि सरसफाईमा ध्यान नदिने समुदाय पर्दछन । औलो सङ्क्रमित ‘एनोफिलस’ जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो ।

सामान्यतया ज्वरो आउने, टाउको दुख्ने, वाकवाक लाग्ने, वान्ता हुने लक्षण देखिन्छ । अर्को चुनौति भनेको औलो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सरुवा रोग हो । नेपालमा औलोको जोखिम भारत लगायत तेश्रो देशबाट बढी भइरहेको छ । आयातित औलो निवारण नै नेपालका लागि मुख्य चुनौती हो ।

यस बाहेक पनि औलोको परीक्षण नहुनु, भारतसँगको खुल्ला सिमाना र भौगोलिक विकटता औलो निवारणको चुनौती हुन । यस रोगका बिरामीमा पक्षघात र मष्तिस्कघातको जोखिम हुने गर्दछ ।

तसर्थ सवैभन्दा सुरक्षित तरिका भनेको यसको जोखिमबाट बच्नु नै हो । औलो नियन्त्रणका लागि नेपाल सरकारले दिर्घकालीन रणनीति अनुसार काम गर्नु आवश्यक छ । मलेरियाबाट जोगाउन तोकिएको उमेर हदमै खोप लगाउन जरुरी छ । बेलैमा उपचार नभएमा यसको सङ्क्रमणले सजिलै ज्यान लिन्छ, तसर्थ हामी सबैजना सतर्क हुन जरुरी छ ।

अहिलेको पुरानो पुस्तामा जस्तै औलोकै कारण तराईबाट पहाडतर्फ बसाईसराई गर्ने अवस्था नआओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?