© 2026
काठमाडौँ । सार्क विकास प्रतिवेदनमा सदस्य राष्ट्रहरूले सहमति जनाएका छन् ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को गरिबी निवारणसम्बन्धी अन्तर सरकारी विज्ञ समूहको बिहीबार मालद्विभ्सको राजधानी मालेमा सम्पन्न दोस्रो बैठकमा त्यस्तो सहमति भएको हो ।
माल्दिभ्सका वित्त तथा सार्वजनिक उद्यम राज्यमन्त्री हुसेन इमरान अब्दुल मुआइमिनले बैठकको उद्घाटन गर्दै क्षेत्रीय सहकार्य विस्तार र आर्थिक वृद्धिमा जोड दिएको सार्क सचिवालयले जनाएको छ ।
सार्क सचिवालयकी निर्देशक (सूचना तथा गरिबी निवारण) प्रथमा उप्रेतीले बैठक आयोजना गरेकामा माल्दिभ्स सरकारलाई धन्यवाद दिँदै क्षेत्रीय सहकार्य प्रवर्द्धनमा निरन्तर सहयोगका लागि एसियाली विकास बैङ्कप्रति आभार व्यक्त गरिन् ।
सार्क सचिवालयका अनुसार माल्दिभ्सका वित्त तथा सार्वजनिक उद्यम मन्त्रालयका उपमन्त्री अली रशीदले अध्यक्षता गरेको बैठकमा सदस्य राष्ट्रका विकाससम्बन्धी मन्त्रालय तथा निकायका वरिष्ठ अधिकारीका साथै परराष्ट्र मन्त्रालयका अधिकारीहरूको उपस्थिति थियो ।