© 2026
जनकपुरधाम । यहाँस्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको प्रथम नौ महिनामा रु तीन अर्ब ९७ करोड ६७ लाख चार हजार राजस्व सङ्कलन गरेको छ ।
चालु आवको नौ महिनामा रु चार अर्ब ३३ करोड ८२ लाख ७७ हजार सङ्कलन गर्ने लक्ष्य रहेकामा रु तीन अर्ब ९७ करोड ६७ लाख चार हजार सङ्कलन भएको उक्त कार्यालयका प्रमुख आनन्दकुमार गुप्ताले राससलाई जानकारी दिए ।
हालसम्म आय कर बापत रु एक अर्ब १४ करोड ९४ लाख ५२ हजार, बहाल कर वापत रु तीन करोड १८ लाख ९९ हजार , व्याज कर वापत रु छ करोड १७ लाख ८५ हजार, मुल्य अभिवृद्धि कर वापत रु ८१ करोड ९४ लाख २० हजार, अन्तःशुल्कबापत एक अर्ब ८८ करोड ८५ लाख ७१ हजार, स्वास्थ्य सेवा कर वापत रु तीन लाख १० हजार, शिक्षा कर वापत रु एक हजार तथा अन्य बापत दुई करोड ५२ लाख ६६ हजार गरी कुल रु तीन अर्ब ९७ करोड ६७ लाख चार हजार राजस्व सङ्कलन भएको कार्यालय प्रमुख आनन्दकुमार गुप्ताले जानकारी दिए ।
यसैबिच, समयमा राजस्व दाखिला नगर्ने १२५ व्यावसायिक ‘फर्म’लाई कारबाही प्रक्रिया बढाइएको जानकारी दिँदै कार्यालय प्रमुख गुप्ताले कारबाहीको सूचना सार्वजनिक भएपछि १० वटा व्यावसायिक फर्मले रु चार करोड ३० लाख दाखिला गरेका बताए । आन्तरिक राजस्व कार्यालयमा एक लाख ६६ हजार ६५२ करदाता दर्ता छन् ।