Butwal Today

चुरेको चुनौती र डढेलो: पूर्व तयारीले कति जोगिएला वन ?

७ बैशाख २०८३, सोमबार
अ+
अ-

सिद्धार्थनगर  । रुपन्देही लगायतका स्थानमा वनमा अहिले पनि दनदन आगो बलिरहेको छ । कतिपय स्थानमा डढेलोको कारण वनै सखाप भएको छ । वन सकिँदै गर्दा रुपन्देहीको वन कार्यालय भने बल्ल अभियान सुरुवात गर्ने भएको छ ।

गर्मी मौसमको सुरुवातसँगै देशभर वन डढेलोको जोखिम बढिरहेका बेला डिभिजन वन कार्यालय रुपन्देहीले ‘प्रिभेन्सन इज बेटर देन क्योर’ (रोकथाम नै उपचार भन्दा उत्तम) को रणनीतिसहित पूर्व तयारी तीव्र पारेको छ ।

जिल्लाको भौगोलिक संवेदनशीलता र विगतका क्षतिको तथ्याङ्कलाई मध्यनजर गर्दै कार्यालयले यस वर्ष एकीकृत नियन्त्रण योजना अघि सारेको हो ।

डिभिजन वन कार्यालय रुपन्देहीका प्रमुख प्रविण विडारीका अनुसार वन डढेलो केवल वन क्षेत्रको समस्या नभई समग्र राष्ट्रकै चुनौतीका रूपमा रहेको बताए ।

गर्मी बढ्दै जाँदा वनमा सुक्खा पातपतिङ्गर, झाडी तथा अन्य ज्वलनशील पदार्थ जम्मा हुने र ती सामग्री समयमै व्यवस्थापन गर्न नसक्दा डढेलोले ठुलो रूप लिने खतरा रहने उनले बताए ।

उनका अनुसार यस्ता डढेलोले जनधन, भौतिक सम्पत्ति, अन्नबाली मात्र नभई मानवीय क्षतिसमेत निम्त्याउने गरेको तथ्याङ्कले देखाएको छ । त्यसैले डढेलोलाई नियन्त्रण गर्नेभन्दा पनि सुरुमै रोक्ने रणनीति प्रभावकारी हुने उनको भनाइ छ ।

उनले ‘प्रिभेन्सन इज बेटर देन क्योर’ भन्ने सिद्धान्तलाई आत्मसात् गर्दै डिभिजन वन कार्यालयले हरेक वर्ष वन डढेलो नियन्त्रण तथा व्यवस्थापन कार्य योजना तयार गरी कार्यान्वयन गर्दै आएको जानकारी दिए ।

नेपालको भूगोल, सीमित स्रोतसाधन, पर्याप्त उपकरण तथा दक्ष जनशक्तिको अभावका कारण डढेलो लागिसकेपछि नियन्त्रण गर्न कठिन हुने भएकाले पूर्व तयारीलाई प्राथमिकता दिनुपरेको उनले स्पष्ट पारे ।

“हामीसँग अत्याधुनिक प्रविधि, पर्याप्त औजार र दक्ष जनशक्ति नभएकाले डढेलो नलाग्ने वातावरण सिर्जना गर्नु नै सबैभन्दा प्रभावकारी उपाय हो,” उनले भने ।

विडारीका अनुसार राजमार्ग उत्तरतर्फ पाल्पासँग सिमाना जोडिएको चुरे क्षेत्र डढेलोको दृष्टिकोणले ’प्रोन एरिया’ अर्थात् उच्च जोखिमयुक्त छ । “हाम्रो भूगोल जटिल छ, हामीसँग पर्याप्त प्रविधि र आधुनिक औजारको अभाव छ,” प्रमुख विडारीले भने, “त्यसैले डढेलो लाग्नै नदिने परिस्थिति सिर्जना गर्नु नै हाम्रो मुख्य प्राथमिकता हो ।”

जिल्लाको कुल १,३०५.३९ वर्ग किलोमिटर क्षेत्रफलमध्ये करिब १९.२३ प्रतिशत मात्रै वन क्षेत्र रहेको छ । उच्च जनघनत्व र न्यून वन क्षेत्रका कारण पनि यहाँ वन स्रोतमा दबाब बढी छ । अझ रोचक कुरा के छ भने जिल्लाका १६ स्थानीय तहमध्ये पाँच वटा स्थानीय तहमा वन क्षेत्र नै छैन ।

यसले पनि वन क्षेत्रको संरक्षण र व्यवस्थापन थप चुनौतीपूर्ण बनेको देखिन्छ । यस्तो अवस्थालाई मध्यनजर गर्दै डिभिजन वन कार्यालय रुपन्देहीले जोखिमयुक्त क्षेत्रहरूको पहिचान गरी ‘जोनिङ’ प्रणाली लागू गरेको छ ।

यस अन्तर्गत उच्च जोखिम भएका क्षेत्रमा विशेष निगरानी व्यवस्था गरिएको छ । ती क्षेत्रमा मौसमी हेरालुहरू खटाइएका छन् भने सामुदायिक वन उपभोक्ता समूहहरूले पनि आफ्नै स्तरमा सक्रियता देखाएका छन् । कार्यालयले गर्मी मौसमका लागि करिब तीन महिनासम्म हेरालु परिचालन गर्ने व्यवस्था मिलाएको जनाएको छ ।

डढेलो लाग्नेबित्तिकै तत्काल नियन्त्रण गर्न सकियोस् भन्ने उद्देश्यले द्रुत प्रतिक्रिया प्रणाली पनि तयार गरिएको छ । डिभिजन वन कार्यालय अन्तर्गत रहेका ६ वटा सब–डिभिजन कार्यालयमार्फत क्षेत्रगत निगरानी गरिँदै आएको छ ।

कुनै स्थानमा डढेलो लागेको सूचना प्राप्त हुनासाथ भैरहवामा रहेको ¥यापिड रेस्पोन्स टिम तुरुन्त घटनास्थलमा पुग्ने व्यवस्था मिलाइएको कार्यलयको भनाइ छ । यसले डढेलो फैलन नदिन महत्वपूर्ण भूमिका खेल्ने विश्वास कार्यालयको छ ।

वन डढेलो नियन्त्रणमा समुदायको भूमिका अत्यन्त महत्वपूर्ण हुने भएकाले रुपन्देहीमा सामुदायिक वन व्यवस्थापनलाई विशेष महत्व दिइएको छ । जिल्लामा रहेका १११ भन्दा बढी सामुदायिक वन र दुई वटा साझेदारी वनमार्फत स्थानीय उपभोक्ताहरू प्रत्यक्ष रूपमा वन संरक्षणमा संलग्न छन् ।

डढेलो नियन्त्रणमा पनि यही संरचना सबैभन्दा प्रभावकारी देखिएको छ । स्थानीय तह, प्रहरी, प्रशासन, नेपाली सेना, सञ्चारमाध्यम र नागरिक समाजसँगको सहकार्यले डढेलो नियन्त्रण अभियानलाई थप मजबुत बनाएको कार्यलयको तर्क छ ।

पूर्वतयारी अन्तर्गत कार्यालयले भौतिक व्यवस्थापनका कामहरू पनि तीव्र पारेको छ । नियमित रूपमा अग्नि रेखा निर्माण तथा सरसफाइ, सुक्खा पातपतिङ्गर हटाउने, तथा उच्च जोखिम क्षेत्रलाई प्राथमिकतामा राखेर सफाइ अभियान सञ्चालन गरिँदै आएको छ ।

कतिपय स्थानमा नियन्त्रित आगो लगाएर ज्वलनशील पदार्थ हटाउने ‘कन्ट्रोल बर्निङ’ अभ्याससमेत गरिएको छ । यसले ठुलो डढेलोको जोखिम घटाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

वन डढेलो नियन्त्रणमा जनचेतना अभिवृद्धि पनि उत्तिकै महत्त्वपूर्ण पक्ष हो । यसका लागि विद्यालय स्तरदेखि समुदायसम्म विभिन्न कार्यक्रम सञ्चालन गरिँदै आएका छन् । पर्चा–पम्पलेट वितरण, सञ्चारमाध्यममार्फत सन्देश प्रवाह, तथा विभिन्न सचेतनामूलक कार्यक्रममार्फत जनतालाई डढेलोको जोखिमबारे जानकारी गराउने काम भइरहेको छ ।

हरेक वर्ष चैत १ देखि ७ गतेसम्म मनाइने ‘वन डढेलो सप्ताह’ पनि यसै अभियानको हिस्सा हो । यस अवधिमा सञ्चालन गरिएका कार्यक्रमले समुदायमा सकारात्मक प्रभाव पारेको कार्यालयले जनाएको छ ।

यसका साथै, समुदायस्तरका उपभोक्ता, वन कर्मचारी तथा अन्य सरोकारवालाहरूलाई तालिम प्रदान गरेर डढेलो व्यवस्थापनमा आवश्यक सीप विकास गरिँदै आएको छ । यसले डढेलो लागेमा तुरुन्तै स्थानीय स्तरमै नियन्त्रण गर्न सक्ने क्षमता वृद्धि भएको कार्यलयको भनाई छ । नेपालमा हुने अधिकांश वन डढेलो मानवीय कारणले हुने गरेको तथ्याङ्क छ ।

रुपन्देहीमा पनि वन अतिक्रमण, घाँस उत्पादन, मह तथा जडीबुटी सङ्कलन, वन्यजन्तु सिकार, दाउरा सङ्कलन, खेतबारीमा झार जलाउने जस्ता गतिविधिका कारण डढेलो लाग्ने गरेको पाइन्छ । यसैले यस्ता गतिविधि नियन्त्रण गर्न जनचेतना र कानुनी कारबाही दुवै आवश्यक देखिएको छ ।

वनमा जानाजानी आगो लगाउने कार्यलाई नेपालको कानुनले गम्भीर अपराध मानेको छ । वन ऐन तथा सम्बन्धित कार्यविधिअनुसार यस्तो कार्यमा संलग्नलाई ६० हजार रुपैयाँसम्म जरिवाना वा तीन वर्षसम्म कैद सजायको व्यवस्था रहेको छ । डिभिजन वन कार्यालयले सुराकी प्रणालीमार्फत यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई कारबाही गर्ने काम पनि गर्दै आएको जनाएको छ ।

तथ्याङ्कले रुपन्देहीमा डढेलोको जोखिम कति गम्भीर छ भन्ने स्पष्ट देखाउँछ । गत वर्ष मात्रै करिब ५०० वटा डढेलोका घटना भएका थिए, जसबाट करिब १ हजार हेक्टर वन क्षेत्र प्रभावित भएको थियो ।

सन् २०१३ देखि २०२५ सम्मको अवधिमा २,२५३ वटा डढेलोका घटना हुँदा १०,८०९ हेक्टरभन्दा बढी वन क्षेत्र प्रभावित भएको देखिन्छ । औसतमा प्रत्येक वर्ष २२२ वटा डढेलोका घटना हुने र १,०८० हेक्टरभन्दा बढी वन क्षेत्र प्रभावित हुने गरेको तथ्याङ्कले देखाउँछ ।

यसरी हेर्दा उच्च जनघनत्व, न्यून वन क्षेत्र, जटिल भूगोल र मानवीय गतिविधिका कारण रुपन्देहीमा वन संरक्षण चुनौतीपूर्ण रहेको स्पष्ट हुन्छ । तर, समुदायमा आधारित वन व्यवस्थापन प्रणाली, सरोकारवालाहरूबीचको समन्वय र पूर्व तयारीमा आधारित रणनीतिले यी चुनौतीलाई सामना गर्न सकिने आधार तयार गरेको देखिन्छ ।

डिभिजन वन कार्यालयका प्रमुख विडारीले सबै पक्षको सक्रिय सहभागिताबाट मात्रै डढेलो नियन्त्रण सम्भव हुनेमा जोड दिएका छन् । “यो वन कार्यालयको मात्र जिम्मेवारी होइन, सबै क्षेत्रको सामूहिक प्रयास आवश्यक छ,” उनले भने । समुदायको सक्रियता र सहकार्यले रुपन्देहीमा वन डढेलो नियन्त्रण सम्भव रहेको विश्वास उनले व्यक्त गरे ।

गर्मी मौसम अझै बाँकी रहेको अवस्थामा डढेलोको जोखिम पूर्ण रूपमा टरेको भने छैन । तर, हालसम्म गरिएका तयारी, जनचेतना अभिवृद्धि र समन्वयात्मक प्रयासले रुपन्देहीमा डढेलो व्यवस्थापनप्रति गम्भीरता र सक्रियता देखिएको स्पष्ट हुन्छ । आगामी दिनमा यी प्रयासहरू कत्तिको प्रभावकारी हुन्छन् भन्ने कुराले जिल्लाको वन संरक्षणको अवस्था निर्धारण गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?