Butwal Today

प्रथम खजुरा गोल्डकपको फाइनल आज: उपाधिका लागि नाइजेरिया र जेबिएम भिड्दै

६ बैशाख २०८३, आइतबार
अ+
अ-

नेपालगञ्ज । प्रथम खजुरा गोल्डकपको उपाधिका लागि आज दुई विदेशी टोली आमने–सामने हुँदै छन् । नाइजेरियन क्लब ‘एम्टी एरिना’ र भारत उत्तर प्रदेशको जेबिएम फुटबल एकेडेमीबीच फाइनल प्रतिस्पर्धा हुन लागेको हो ।

खजुरा गाउँपालिका–४ डिगाउँस्थित मिनी रंगशालामा अपरान्ह ४ बजे फाइनल खेल सुरु हुने प्रतियोगिताका प्रचार संयोजक खगेन्द्र दाहालले जानकारी दिएका छन् । फाइनल खेल अवलोकन गर्न ठूलो सङ्ख्यामा खेलप्रेमी तथा दर्शकहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ ।

शनिबार सम्पन्न अन्तिम सेमिफाइनलमा नाइजेरियन क्लब ‘एम्टी एरिना’ ले नवलपरासीको फोर ब्रदर्स एफसीलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । यसअघि भारत लखनउको जेबिएम फुटबल एकेडेमीले गोर्खा ब्वाइजलाई हराउँदै उपाधि नजिक पुगेको थियो ।

प्रतियोगिताको विजेता टोलीले नगद ७ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद ४ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ । विजेता पुरस्कार खजुराका स्थानीय तथा हाल अमेरिका निवासी लिलबहादुर थापाको सौजन्यमा प्रदान गरिनेछ ।

वैदेशिक रोजगारीका क्रममा अमेरिकामा रहेका थापाले व्यक्तिगत रूपमा पुरस्कार रकम उपलब्ध गराएका हुन् । प्रतियोगिता सञ्चालनका लागि खजुरा गाउँपालिका, लुम्बिनी प्रदेश खेलकुद परिषद् र ‘एम्टी एरिना’ लगायत विभिन्न संस्थाहरूले आर्थिक सहयोग गरेका क्लबका अध्यक्ष बालाराम खत्रीले जानकारी दिएका छन् ।

न्यु डाँफे स्पोट्र्स क्लबको आयोजना तथा खजुरा गाउँपालिकाको संरक्षकत्वमा सञ्चालन भएको यस प्रतियोगितामा कुल ८ वटा टिमको सहभागिता रहेको थियो । चैत ३० गतेदेखि सुरु भएको प्रतियोगिता आजको फाइनलसँगै सम्पन्न हुने भएको छ । स्थानीय स्तरमा अन्तर्राष्ट्रिय टोलीहरूको सहभागितासहित आयोजना गरिएको यो प्रतियोगिताले खजुरालाई खेलकुदको केन्द्रका रूपमा चिनाउने विश्वास आयोजकले व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?