© 2026
भैरहवा ।
भैरहवास्थित सि.वि. पब्लिक हाई स्कुलले कक्षा १० का विद्यार्थीहरूलाई बिदाइ तथा शुभकामना कार्यक्रम गरेको छ । कक्षा ९ का विद्यार्थीहरूको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्राचार्य उदय कुमार मल्लिकले बिदाइ र शुभकामनाले फरक अनुभूति दिने बताउँदै बिदाइले पीडा र शुभकामनाले उत्साह दिने उल्लेख गरे । उनले विद्यार्थीहरूको बिदाइलाई छोरीको कन्यादानसँग तुलना गर्दै बिछोडसँगै उज्ज्वल भविष्यप्रतिको आशा जोडिएको बताए ।
मल्लिकले विद्यार्थीहरूले आगामी दिनमा परिवार, समाज र राष्ट्रको विकासमा योगदान दिने विश्वास व्यक्त गर्दै विद्यालयलाई शिक्षक, विद्यार्थी, कर्मचारी र अभिभावकबीचको भावनात्मक सम्बन्धले बनेको परिवारका रूपमा चित्रण गरे ।
साहुहिक विद्यालय परिवार रुपन्देहीका अध्यक्ष विष्णु प्रसाद पन्थीले शिक्षा समाज र राष्ट्रको समग्र विकासको आधार भएको बताए । उनले शिक्षित नागरिकले देशको भविष्य निर्माण गर्ने उल्लेख गर्दै आत्मप्रेरणासहित अध्ययनमा लाग्न विद्यार्थीहरूलाई आग्रह गरे ।
कार्यक्रममा शिक्षा निरन्तर प्रक्रिया भएको र व्यवहारिक ज्ञानको महत्त्वबारे जोड दिइएको थियो । विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै सफल शैक्षिक यात्राका लागि समेत शुभकामना व्यक्त गरिएको थियो ।