© 2026
गुल्मी । गुल्मीको धुर्कोट वस्तुदेखि तम्घाससम्म नियमित जीप चलाउने चालक राजु श्रेष्ठको जीप आज बिहान प्रहरीको समूहले तम्घासको उदिनढुङ्गामा रोक्यो । उनी आफूले बढी यात्रु नराखेको र मापसे नगरेको कारण प्रहरीसँग ढुक्क थिए। तर प्रहरीले गाडी साइड लगाएर श्रेष्ठलाई आँखा जाँच गर्न पठायो । उनले प्रहरीबाट यात्रु सङ्ख्या, बिलबुक, लाइसेन्स जाँच गर्ने अनुमान गरेका थिए । श्रेष्ठको अनुमानको ठीक विपरीत भयो । केहीबेरमै उनको आँखा परीक्षण गरियो ।
“एकथोक सोचेरे गाडी रोकेको, आँखा परीक्षण गरियो, प्रहरीले राम्रो ग¥यो”, उनले भने, “आँखा जाँच गराउन पाउँदा खुसी लागेको छ ।” जैसिथोक–तम्घास सवारी चलाउने चालक मीनबहादुर खत्रीको पनि आज सडकमै आँखा परीक्षण भयो । एकाएक गाडी रोक्न भनेपछि दङ्ग परेका खत्रीलाई प्रहरीले गाडी र यात्रुको अवस्थाभन्दा उनकै आँखाको अवस्थाको परीक्षण गरायो । परीक्षणका क्रममा कुनै रोग नदेखिए पनि आँखा परीक्षण गराएकामा खत्री खुसी थिए ।
श्रेष्ठ र खत्री र आँखा परीक्षण गराउनेमध्येका केही प्रतिनिधिमुलक पात्र मात्रै हुन् । उनीहरुजस्तै बिहीबार १०१ चालकको सडकमै आँखा परीक्षण गरिएको छ । जिल्ला प्रहरी कार्यालयले समुदाय–प्रहरी सझेदारी कार्यक्रम अन्तरगत नेपाल नेत्र ज्योती सङ्घ आँखा उपचार केन्द्रसँगको समन्वयमा आज गाउँबाट सदरमुकाम तम्घास आएका सवारी चालकको आँखा परीक्षण गरेको थियो ।
परीक्षणको क्रममा सातजनाको आँखा उपचार गर्नुपर्ने भएकाले आँखा उपचार केन्द्रमा सम्पर्क गर्न आग्रह गरेको केन्द्रका प्रमुख सूर्य बस्नेतले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नारायण अधिकारीले दुर्घटनामा कमी ल्याउन गुल्मी प्रहरीले नयाँ अभियान सञ्चालन गरेको बताए । “पछिल्लो छ महिनामा मात्रै सडक दुर्घटनाबाट ६ जनाको ज्यान गएको छ”, उनले भने, “हामी त्यो दर घटाउन चाहन्छौँ ।”