© 2026
गुल्मी ।
रुरु क्षेत्र गाउँपालिकाले ७५ वर्ष उमेर कटेका पालिका भित्रका ज्येष्ठ नागरिकहरूलाई धार्मिक क्षेत्रको अवलोकन गराउने भएको छ ।
प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवालीका अनुसार पालिका भित्रका ७५ वर्ष उमेर कटेका ज्येष्ठ नागरिकहरूलाई दुई दिने धार्मिक क्षेत्रको अवलोकन गराउन लागिएको हो । चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार चितवन, नवलपरासी र तनहुँको सङ्गम स्थलमा रहेको धार्मिक तथा पर्यटकीय स्थल देवघाटको अवलोकन गराउन लागिएको हो ।
उमेर अवस्थाले पनि यस उमेरमा धर्म कर्ममा बढी ध्यान जाने र उनीहरुको मनमा आनन्दको अनुभूति प्रदान गर्नका लागि धार्मिक क्षेत्रको अवलोकन गराउन लागिएको हो । अहिले उक्त कार्यक्रममा सहभागी हुन इच्छुक ज्येष्ठ नागरिकहरूको विवरण सङ्कलन गर्ने कार्य भइरहेको ज्ञवालीको भनाइ छ ।
रुरु क्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले ज्येष्ठ नागरिकहरूको साथमा गाउँपालिका रहेको बताउँदै उनीहरुको साथमा स्थानीय सरकार रहेको अनुभूति दिलाउने गरी नै लागेको बताएका छन् ।