Butwal Today

रित्तिएको गाउँमा विकासको लर्को

१९ चैत्र २०८२, बिहीबार
अ+
अ-

तम्घास ।  गुल्मीको कालीगण्डकी गाउँपालिका गुल्मीबाट २० महिनाको समय अवधिमा एक हजार बढीले गाउँ छाडेका छन् ।

ग्रामीण स्तरमा सडकहरू कालोपत्रे हुँदै जानु, स्वास्थ्य, शिक्षाको गुणस्तरतामा वृद्धि हुँदै गए पनि बसाइँसराइँको दर भने बढ्दो क्रममा नै रहेको पाइएको छ । उक्त अवधिमा ३४४ घर परिवारका एक हजार २९४ जनाले गाउँ छाडेको गाउँपालिकाको पञ्जिकरण शाखाले जनाएको छ ।

गाउँपालिकाको पञ्जिकरण शाखाका चोकबहादुर श्रीसका अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्म १५६ परिवारका ५४६ जना र साउन महिनादेखि हालसम्म १८८ घरपरिवारका ७४८ जना गरी कुल ३४४ घरपरिवारका एक हजार २९४ जना बसाइँसराइँ गरी गएका हुन् ।

पालिका भित्रका सात वटा मध्ये सबैभन्दा बढी वडा नम्बर २ अर्वेनीबाट ७० घरपरिवारका २८८ जना र वडा नम्बर ६ खडगकोटबाट ७७ घरपरिवारका २८० जनाले बसाइँसराइँको प्रमाणपत्र लगेका छन् ।

वडा नम्बर १ बाट ३९ घर परिवारका १६३ जना, ३ मा २१ घर परिवारका ९२ जना, ४ मा ३० घरपरिवारका ११७ जना, ५ मा ४८ घर परिवार १५२ जना, र ७ मा ५९ घर परिवारका २०२ जनाले बसाइँसराइँको प्रमाणपत्र लगेका छन् । यस वाहेक बसाइँसराइँको प्रमाणपत्र अर्थात दर्ता नगरी गाउँबाट सहरमा कोठा भाडा गरी बस्ने र छोराछोरी पढाउन बुटवललगायतका सहरहरूमा जाने गरेको पाइएको छ ।

यस समय अवधिमा पालिका भित्र २१ घर परिवारका ७९ जना अन्यत्रबाट बसाइँ सरी आएको आफूहरूको तथ्याङ्कमा रहेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाका अनुसार कृषि र पशुपालनलाई व्यावसायिक गराइ बसाइँसराइँलाई न्यूनीकरण गर्न सकिन्छ की भन्ने उद्देश्यले उत्पादनमा आधारित अनुदान प्रदान गर्ने नीति लिएको छ ।

यस्तै सुन्तलाका बिरुवा रोपण गर्नेलाई खाडल खन्न अनुदान दिने र उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने गरी पालिकाले नीति तथा कार्यक्रम बनाएर बजेटको समेत व्यवस्था गरेको छ ।

उक्त अवधिमा गाउँपालिका भित्र एक हजार ५९२ जनाको जन्म भएको छ । जस मध्ये ८४६ जना पुरुष र ७४६ जना महिलाको जन्म भएको पालिकाको पञ्जिकरण शाखाले जनाएको छ ।

गाउँपालिकाले उपाध्यक्षसँग सुत्केरी कार्यक्रममार्फत सुत्केरी भेट्न जाँदा सम्भव भएमा लोकल कुखुराको भाले नभए घिउ लिएर भेटन जाने गरेको उपाध्यक्ष मञ्जु दर्लामीले बताइन् । यस्तै पालिकाले पालिका भित्र छोरीको जन्म भएमा छोरीको खाता खोली दश हजार रुपियाँ जम्मा गरिदिने नीति लिएको छ ।

छोरीको नागरिकता बनेपछि मात्र उक्त रकम निकाल्न मिल्ने गरी रकम जम्मा गरिदिने गरेको स्वास्थ्य शाखाले जनाएको छ । यस अवधिमा पालिका भित्र ५२६ जनाको मृत्यु भएको छ ।

जसमध्ये ३११ जना पुरुष र २१५ जना महिला रहेको गाउँपालिकाले जनाएको छ । यस अवधिमा ५२ जनाको सम्बन्ध विच्छेद भएको र ५९५ जनाको विवाह भएको पञ्जिकरण शाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?